नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाइ थुनामुक्त भएका छन्। शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्।
सन्दीपलाई जिल्ला अदालत काठमाडौंबाट पुन केन्द्रीय कारागार लगिँदैछ। उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो। उच्च अदालतले २० लाख धौरटी र १० शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको थियाे।
नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा रहेकाे थियाे। पीडित भनिएकी किशोरीका दाजुले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा लामिछानेले भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँबाट राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
प्रहरीले भदौ २२ गते जाहेरी दर्ता गरी अनुसन्धान थालेको थियो। अनुसन्धानबाट पीडित भनिएकी नाबालिका र लामिछाने उक्त दिन राति सिनामंगलस्थित होटलमा बसेको पुष्टि भएको थियो। तर जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका थिए। मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका उनी नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल आएका थिए। प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।
कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो। त्यसयता लामिछाने केन्द्रीय कारागार सुन्धारामा छन्। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको खण्डमा पनि बलात्कार मानिन्छ। ऐनको परिच्छेद १८ मा ‘करणीसम्बन्धी कसुर’ को व्यवस्था छ। दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिईकन करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भन्ने लेखिएको छ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो परिवारसँग केही समय बिताउने बताएका छन्। शुक्रबार थुनामुक्त भएपछि सन्दिपले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताएका हुन्।
सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’
उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। उनका परिवारले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्। यो मुद्दाको किनारा भने लागिसकेको छैन।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले २० लाख धरैटी र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनः थुनामा पठाइनेछ।
उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।
आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।