बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोर टोली माल्दिभ्समाथि सहज जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अब क्वार्टरफाइनलको ‘ड्र’ सोमबार हुनेछ भने यसका खेल मंगलबार र बुधबार सुरु हुनेछन् । नेपाल क्वार्टरफाइनल खेल जित्दै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ । मंगोलियाविरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपालले माल्दिभ्सविरुद्ध पनि सोही किसिमको नतिजा दोहोर्यायो ।
दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा नै अलआउट भयो । नेपालका अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धराशयी बनाए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए । उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे । उनी १६औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए ।
त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिउसले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङको दुई बलअगाडि नै समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए ।
सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्यक्रमका ब्याटर गुल्सनले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए । तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाए पनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिए पनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् ।
नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । अब नेपालले क्वार्टरफाइनलमा पाँच टेस्ट टोलीमध्ये भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका कप्तान रोहित पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र क्वार्टरफाइनलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले अविनाश ट्वान्टी–२० क्रिकेटमा राम्रो बलर रहेको र उनको लय फर्कनु सुखद पक्ष रहेको धारणा राखे । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले यो पिचमा ब्याटिङ गर्न त्यति सहज नरहेको उल्लेख गर्दै यहाँबाट पदक लिएर फर्किने विश्वास रहेको बताए ।
एथलेटिक्स : फूलमती १५औं स्थानमा
नेपालकी फूलमती राना हानझाउमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा खुम्चिएकी छन् ।
हानझाउ ओलम्पिक स्टेडियममा आइतबार भएको १५ सय मिटरको दौड उनले १५औं स्थानमै रहेर पूरा गरिन् । उनले उक्त दूरी पूरा गर्न चार मिनेट ३७.६४ सेकेन्डको समय लगाइन् । यो समय फूलमतीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समय निकालेकी थिइन् । आइतबार पूmलमतीले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।
यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जिते । स्वर्ण विजेता मुतिलले चार मिनेट ११.६५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । पूmलमतीले अब आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।
स्क्वास :विपनाको जित
नेपालकी विपना ब्लोनले जारी १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासमा महिला सिंगल्सतर्फ अन्तिम ३२ को खेलमा जित निकालेकी छन् ।
हानझाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भएको खेलमा थाइल्यान्डकी चुजित वारितसरालाई हराएकी हुन् । थाइल्यान्डका प्रतिद्वन्द्वीले चुनौती दिने प्रयास गरे पनि विपना सफल भइन् । उनले चुजितलाई ११–७, ११–७ र ११–८ ले पराजित गरिन् । विपनाले १५ मिनेटमा खेल आफ्नो बनाइन् । महिला सिंगल्सकै अन्तिम ३२ मा नेपालकी कृष्णा थापाले भने खराब प्रदर्शन गरिन् । कृष्णाले दक्षिण कोरियाकी ली जिहुनसँग निरीह प्रदर्शन गरेकी हुन् । पहिलो सेटमा ११–३ को फराकिलो अन्तरले पछि रहेकी कृष्णाले दोस्रो सेटमा खाता नै खोल्न सकिनन् ।
तेस्रो सेट पनि कृष्णाले ११–३ ले नै गुमाइन् । उनले ११ मिनेटभित्र नै विपक्षीलाई खेलको नतिजा सुम्पिइन् । पुरुष सिंगल्समा पनि अरहन्तकेशर सिंहाले मलेसियाका माई बिन बहतियारसँग ११–५, ११–३ र ११–३ को निराशापूर्ण प्रदर्शन गरे । नेपालले मिक्स डबल्समा पनि खराब प्रदर्शन गर्यो । स्वस्थानी श्रेष्ठ र अमिर भ्लोनको जोडीले हङकङका ली का ई र वङ ची हिमको जोडीसँग ११–१ र ११–३ को सहज रूपमा हार बेहोर्यो। पाँच राष्ट्र रहेको समूह ‘सी’ मा नेपालले दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ ।
आर्चरी : चारै खेलाडी छनोट चरण पार गर्न सफल
आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले पहिलो चरण पार गरेका छन् । फुयाङ यिन्हु स्पोर्टस सेन्टर फिल्डमा आइतबार नेपालका चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईंले छनोट चरण पार गरेका हुन् । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मञ्जुले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णाङ्कमा पुरुषतर्फ ५२ वर्षीय योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।
दुई हप्तासम्म सञ्चालन हुने एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीको पहिलो हप्ताको प्रतिस्पर्धा पूरा भएको छ ।
पहिलो हप्ताको खेल प्रतिस्पर्धा पूरा हुँदा चीनले पदकतालिकमा फराकिलो अन्तरले अग्रता बनाइरहेको छ भने उसलाई दक्षिण कोरिया र जापानले पछ्याइरहेका छन् । यो रिपोर्ट तयार पार्दासम्म चीनले १३० स्वर्ण पदक जितेको छ । आयोजक राष्ट्रले दक्षिण कोरियाविरुद्ध सय स्वर्णभन्दा बढीले अग्रता बनाएको छ । दक्षिण कोरियाले ३० र जापानले २९ स्वर्ण जितेका छन् । ८० हजार क्षमता रहेको ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा खचाखच दर्शकका बीच चीनले भव्य समारोहको उद्घाटन गरेको एक हप्ता बितिसकेको छ ।
थ्री डी एनिमेसन र भर्चुअल टर्चवाहक यस एसियाली खेलकुदको उद्घाटन समारोहको विशेषता हो । यस पटक चार सय ८१ विधामा प्रतिस्पर्धा हुँदा ओलम्पिकमा भन्दा यहाँ धेरै राष्ट्रले पदक जित्ने सम्भावना पनि छ । यद्यपि, नेपालले भने अहिलेसम्म पदक जित्न सकेको छैन । यस पटक चीनले ‘माइन्ड गेम’ (दिमाखको खेल) भन्दै ब्रिज, चेस र चाइनिज चेसका साथै ई–स्पोटर््स ‘लिग अफ लिजेन्ड’ लगायत खेल प्रदर्शन भइरहेको छ । चीनले करिब ९ सय खेलाडी संख्यामा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।
तीमध्ये चीनलाई स्वर्ण दिलाउने सबैभन्दा कान्छी खेलाडी १३ वर्षीया स्केटबोर्डर हुन् । सुई चेन्छीले महिला स्ट्रिट स्केटबोर्डमा स्वर्ण पदक जितिन् । उनी आगामी वर्ष पेरिस ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै छिन् । एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिरहेका ९ खेलले ओलम्पिकको छनोट चरणका लागि पनि खेल्नेछन् । आर्चरी, आर्टिस्टिक पौडी, बक्सिङ, ब्रेकिङ, हकी, मोडर्न पेन्टाथलन, सेइलिङ, टेनिस र वाटर पोलोले आगामी ओलम्पिकका लागि यहाँबाट नै छनोट चरण पार गर्नेछन् ।
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।
यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।
टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।
सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।