नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई व्यावसायिक नबनाएसम्म स्तरोन्नति नहुने जिकिर गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्र पूर्णरुपमा व्यावसायिक हुँदैन तबसम्म खेल क्षेत्र माथि उठ्न नसक्ने स्पष्ट पारे।
‘खेलकुदलाई माथि उठाउन व्यावसायिक बनाउनुपर्छ। व्यावसायिक बने मात्रै खेल क्षेत्र माथि उठ्छ’ बिहीबारदेखि पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै ओलीले भने, ‘व्यावसायिक रुपमा माथि उठ्न सके मात्रै खेलाडीको जीवनसँगै परिवारमा उत्साह थपिन्छ।’
खेलाडीको जीवनमा उत्साह थप्ने काम कर्तव्य भने सरकारको रहेको जिकिर ओलीले गरे। सरकारले खेलकुद क्षेत्रमा गर्नुपर्ने काम र कर्तव्यमा कमी हुन नहुने उनको भनाई थियो। उनले खेलकुदलाई राष्ट्रको पहिचानको माध्यम हुने भन्दै सरकारले त्यसको लागि आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए।
एमाले अध्यक्ष ओलीले सरकारले खेलकुदको लागि अनुकुल वातावरण बनाउनुपर्नेमा जोड दिए। खेल शारीरिक रुपमा मात्रै नभई मानसिक क्षमतामा समेत हुनुपर्ने उनले बताए। उनले खेलकुदले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणमा समेत सरकार ध्यानाकर्षण हुनुपर्ने बताए।
बिहीबारदेखि पोखरा क्रिकेट मैदानमा केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोले बागमती प्रदेश बिच प्रतिस्पर्धा सुरु भएको छ। बागमती प्रदेशको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेको सन्दीप लामिछानेले गरेका छन्।
खेल तालिका अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूर पश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए। म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन्।
केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबले शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।
आर्मीले बाग्मतीले दिएको १२८ रनको चुनौती ६ विकेट गुमाउँदै १५ ओभरमै पूरा गर्यो। आर्मीका भीम सार्कीले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए।
जितका लागि दुई रन आवश्यक हुँदा सार्की रित गौतमको बलमा सागर ढकालबाट क्याच भए। सोमपाल कामीले सोही ओभरको अन्तिम बलमा एक रन लिँदै जित सुनिश्चित गरे। कामी १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे।
छैटौं नम्बरमा आएका कुशल मल्लको विस्फोटक ब्याटिङ देख्ने अवसर दर्शकले पाए। उनले ८ बलमा २७ रन बनाए। चार छक्का हिर्काए। उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा शुभ कन्साकारको हातबाट क्याच भए।
आर्मीका ओपनर सन्तोष कार्की सस्तैमा आउट भए। अर्का ओपनर विनोद भण्डारीले भने १२ बलमा ३ चौका र दुई छक्कासहित २५ रन बनाए। लामिछानेले २ विकेट लिए।
प्रतीक श्रेष्ठको अर्धशतकको योगदानमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १२८ रनको लक्ष्य दिएको थियो। बिहीबार टस जितेर ब्याटिङ गरेको बाग्मतीले श्रेष्ठको अविजित ५० रनमा सम्मानजनक स्कोर खडा गर्यो।
४४-६ को दयनीय अवस्थामा पुगेको बाग्मतीको इनिङ समाल्दै श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए। उनले सातौं विकेटको लागि सन्दीप लामिछानेसँग ५२ रनको साझेदारी गरेका थिए।
शुभ कन्साकारलाई केवल ३ रनमा गुमाएको बाग्मतीले दोस्रो विकेटका रूपमा ईशान पाण्डेलाई गुमायो। रित गौतमको ब्याट पनि सेमिफाइनलमा चलेन। उनले केवल १४ रन बनाए।
सन्दीप लामिछाने १९ रनमा खेलिरहँदा सोमपाल कामीको हातबाट क्याच हुँदै पवेलियन फर्किए। सोनु देवकोटा ९ रनमा अविजित रहे। आर्मीका सहाब आलमले ४ विकेट लिए। सोमपाल कामीको हातमा दुई विकेट रह्यो। आर्मीका आलम प्लेयर अफ दी म्याच घोषित भए।
दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले एपिएफलाई ११ रनले पराजित गरयो। टस जितेर ब्याटिङ गरेको मधेसका ओपनर अनिल साह र इमरान खानले दोस्रो विकेटको लागि ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे। दुवैले अर्धशतक बनाए। मधेसले ६ विकेटको क्षतिमा १९७ रनको स्कोर तयार पार्यो।
साहले ३६ बल खेल्दै ५७ रन बनाए। उनले २ चौका र ६ छक्का हिर्काए। उनी अमर राउटेलाको बलमा आशिफ शेखबाट क्याच भए। इमराख शेखले तीन चौका र चार छक्काको मद्दतमा ३२ बलमा ५० रन पूरा गरे।
उनी मौसम ढकालको बलमा बोल्ड भए। उनीपछि क्रिज छिरेका पवन सर्राफ र रूपेश सिंहको जोडीले पनि स्कोर उकास्ने प्रयास गर्यो। सर्राफले ३३ रन बनाए। उनी मौसम ढकालको बलमा सन्दीप जोराबाट क्याच भए। सिंहले पनि २१ रन बनाए। मौसम ढकालले ३ विकेट लिए।
१९८ रनको बलियो लक्ष्य पछ्याएको एपिएफ १८६ रनमा रोकियो। ओपनर प्रदीप ऐरी र सन्दीप जोराले महत्त्वपूर्ण साझेदारी गरे। उनीहरूले तेस्रो विकेटको लागि १०६ रनको साझेदारी गरे। प्रदीपले ४२ बलको सामना गर्दै ५५ रन बनाए। तीन चौका र चार छक्का हिर्काए।
सन्दीप जोराले ३१ बलमा ५४ रन हिर्काए। लोकेश बमले पनि १४ बलमा ३२ रन बनाउँदै लक्ष्यलाई साँघुरो बनाएका थिए। यद्यपि अन्तिम ओभरमा जितका लागि १६ रनको खाँचो थियो। १९औं ओभरको अन्तिम बलमा बम आउट भएपछि एपिएफ थप दबाबमा पर्यो। बम विशाल पटेलको बलमा आउट भए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...