काठमाडौं, माघ ११ (नागरिक)- एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। थाइल्यान्डमा भएको खेलमा भुटानले राखेको ६६ रनको लक्ष्यलाई नेपालले २ विकेटको क्षतिमा १२ ओभरको खेल बाँकी रहँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको भुटानलाई नेपालले ६५ रनमा समेटेको थियो। निर्धारित २५ ओभरको खेलमा भुटानले ८ विकेट गुमाउँदै ६५ रन बनायो। रुबिना क्षेत्री र रुबिना राजोपाध्यायले २-२ विकेट झारिन् भने नेरी थापा, सरिता मगर र करुणा भण्डारीले १-१ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीबाट प्रारम्भिक ब्याट्सवुमेन मधु थापा एक रनमै आउट भइन्। १९ रनमा आउट भएकी रोशनी बोहराबाहेक सीता मगर र सरिता मगरले क्रमशः १८ र ११ रनमा अविजित भई नेपाली टोलीलाई विजयी बनाइन्।
नेपालको सम्भावना
युवा प्रतिस्पर्धामा भएका पछिल्ला केही खेलले नेपाल र भुटानको महिला क्रिकेटमा राम्रो सम्भावना देखाएको छ।
सन् २०१० मा नेपालले सिंगापुरमा भुटानलाई ६ विकेटले पराजित गरी एसिसी यु-१९ महिला च्याम्पियनसिप लगातार दोस्रोपटक जितेको थियो। दुई वर्षपछि कुवेतमा नेपालले प्रतियोगितामा ह्याटि्रक गर्दा भुटानलाई सेमिफाइनलमा ३ विकेटले हरायो। तेस्रोपटक जित्दाका कप्तान रुबिना क्षेत्री, सोनु खड्का, सिलु रिजाल, इन्दु बर्मासहितका खेलाडी वर्तमान नेपाली टोलीमा छन्।
थाइल्यान्डमा बुधबार सुरु प्रतियोगितामा भुटानले पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गर्योो। चियाङ माइमा पहिला ब्याटिङ गरेको भुटानले ४ विकेट गुमाई १ सय ३३ रन बनायो। मलेसियाले ६ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो। अफगानिस्तानले अन्तिम समयमा आएर नखेलेपछि नेपालले बुधबार खेल्नुपरेन।
राष्ट्रिय टोलीमा नेपाल र भुटान दोस्रोपटक भिड्न लागेका हुन्। २००९ को एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई समूह चरणमा हराएको थियो। भुटानलाई १५.५ ओभरमा ३१ रनमा सीमित गरेपछि नेपालले ८.४ ओभरमै सफलता भेट्टाएको थियो।
यसपटकको प्रतियोगिता विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। विजेताले जुलाई-अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सो प्रतियोगितामा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानाडा, जापान, नेदरल्यान्डस तथा एसिसी र अफ्रिकाको विजेता गरी ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
आयरल्यान्ड विजेताले अर्को वर्ष बंगलादेशमा हुने आइसिसी ट्वान्टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। छनोट चरणबाट आउने एक टोलीबाहेक विश्वकपमा साविक विजेता अस्ट्रेलिया, भारत, बंगलादेश, न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिजको सहभागिता रहनेछ।
थाइल्यान्डमा बुधबारको खेलमा हङकङले युएईलाई ४ विकेट, थाइल्यान्डले कतारलाई १० विकेट, चीनले इरानलाई १ सय ६७ रन र कुवेतले सिंगापुरलाई ९ विकेटले पराजित गरे।
११ माघ २०६९
•
४ मिनेट पाठ