आइसिसी यु–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले आज दिउँसो अफगानिस्तानसँग खेल्दै छ। साउथ अफ्रिकाको ‘बफेलो पार्क’मा सुरु हुने खेलमा अङ्कविहीन नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ।
यस्तोमा फेरी धेरैको दृष्टि अर्जुन कुमाल माथि परेको छ। न्यूजिल्याण्डविरुद्ध ९० रनको पारी खेलेर चर्चामा आएका कुमालले पाकिस्तानविरुद्ध आफ्नो जादु नदोहराउँदा धेरै निराश बने। यस्तोमा नेपाली टोलीका फ्यानको लागि अर्जुन नै आशाको किरण बनेका छन्। उनीहरूले अफगानिस्तान विरुद्ध अर्जुनको ब्याट चल्न सक्ने सङ्केत गरेका छन्।
‘यस अगाडिको खेलमा पनि अफगानिस्तानविरुद्ध अर्जुनको ‘गाण्डीव’ चलेको थियो,’ सामाजिक सञ्जालमा नरेश कार्की लेख्छन्, ‘आज पनि उनको ‘ब्याट’ चल्ने आशा पालेका छौ।’
नेपाल र अफगानिस्तान पछिल्लो पटक गत डिसेम्बरमा युएईको आइसिसी ओभल एकेडेमीमा भिडेका थिए। नेपाल ७३ रनले पराजित भएको त्यो खेलमा अर्जुन कुमालले ९१ रन बनाएका थिए। उनले त्यही जादु दोहोराए खेल जित्न सकिने धेरैले आशा गरेका छन्।
त्यो बाहेक विगतका अन्य खेलमा पनि अर्जुनले उत्कृष्ट ब्याटिङ गरेका कारण धेरैले उनीबाट अपेक्षा राखेका छन्। गत वर्ष फेब्रुअरीमा युएईमा आयोजना भएको आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटबाट यु१९ राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले पाँच इनिङ्समा १८५ रन बनाए। जसमा कुवेतविरुद्ध ११२ बलमा १२ चौकासहित १०८ रनको शतकीय इनिङ्स पनि थियो।
त्यस्तै गत अक्टोबरमा मलेसियामा आयोजना भएको यु१९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्त्वपूर्ण इनिङ्स खेले। साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार धेरैले भुलेका छैनन्। किनकि यो कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान हो।
त्यस्तै एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स उनले खेलेका थिए।
आजको खेल जसले जित्यो त्यो टोली सुपर सिक्समा पुग्नेछ। यस अघि नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। विगतका खेलमा अफगानिस्तानसँग नेपाली टोलीको पराजित श्रृखला भएपनि अर्जुनको ९१ रनको पारीले धेरैलाई आशा जगाएको हो।
अनि अर्को कुरा अहिलेको खेलमा अफगानिस्तानको प्रदर्शन पनि त्यति उत्साहजनक छैन। नेपालले जस्तै उसले पनि यस अघि पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो।
समूह ‘डी’ मा अङ्कविहीन रहेका यी दुवै टोली आज खेल जितेर सुपर सिक्समा पुग्न चाहन्छन्। अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै सुपरसिक्समा प्रवेश गर्ने छ ।
प्राकृतिक प्रकोप, हवाई र सडक दुर्घटना, हिडडुलमा असहजता, हवाईभाडा वृद्धिका बाबजुत पनि नेपालमा सन् २०२४ मा झन्डै ११ लाख ५० हजार विदेशी पाहुना भित्रिएका छन्। हवाई माध्यमबाट नेपाल भित्रिएका ती पर्यटकको संख्या कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा बढी हो।
पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। बोर्डका निर्देशक मणिराज लामिछानेले २०२४ को अन्त्यसम्म (डिसेम्बर ३० सम्म) नेपालमा सबैगरि ११ लाख ४५ हजार २ सय ९८ जना विदेशी पाहुना भित्रिएको जानकारी दिए। वर्षको अन्तिम दिनपनि ३ हजार हाराहारीमा विदेशी पर्यटक भित्रिएको अनुमान छ।
‘हवाई माध्यमबाट भित्रिएका पाहुनाको संख्या मात्र झन्डै ११ लाख ५० हजार हो, स्थलमार्गबाट भित्रिनेको संख्या पनि पर्याप्त नै हुन्छ,’ उनले भने। नेपाल–भारत सीमा नाकाबाट स्थलमार्ग हुँदै पर्याप्त भारतीय पर्यटक नेपाल आउँछन्। तर, उनीहरुको तथ्यांक कतै हुँदैन। भारतीय बाहेक स्थलमार्ग हुँदै भित्रिने तेश्रो मुलुकका विदेशी पर्यटकको तथ्यांक भने यसैमा समेटिएको छ।
‘स्थलमार्ग हुँदै भित्रिने भारतीय पर्यटकको संख्या पनि पर्याप्त नै हुन्छ। वर्षमा करिब १५ लाख भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिने अनुमान छ। तर, त्यसको आधिकारिक तथ्यांक कतै रहन्न। तरपनि ती पर्यटकका कारण नेपालको पर्यटनले आर्थिक लाभ भने पाएको छ,’ उनले भने। लामिछानेका अनुसार यो डिसेम्बर (३० तारिखसम्म मात्र) मा सबैगरि ८९ हजार ७ सय ६५ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ‘औषतमा दिनमा करिब ३ हजार जना विदेशी पर्यटक नेपाल भित्रिएका छन,’ उनले भने।
कोरोना भाइरस संक्रमणपछि नेपालमा यो वर्षको आगमन नै सर्वाधिक भएको पनि लामिछानेले जानकारी दिए। उनका अनुसार यसअघि सन् २०१९ मा विदेशी पाहुना आगमनको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो। सन् २०१९ को यो संख्या नै अहिलेसम्मको सर्वाधिक आगमन हो। त्यसपछिको दुइवर्ष (२०२० र २०२१) मा कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पाहुनाको आगमन घटेको थियो। नेपालमा सन् २०२० मा जम्मा २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना भित्रिएका थिए।
सन् २०२२ मा भने आगमनमा सुधार हुँदा संख्या ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। ‘कोरोना संंक्रमणपछि दोश्रोपटक १० लाख पर्यटक आगमन कटेको छ। पोहोर र अहिलेको वर्षमा आगमनमा निकै नै सुधार भएको हो, किनकी कोरोनाले आगमन निकै नै प्रभावित भएको थियो,’ उनले भने।
पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष (२०१९) को आगमन संख्याको कम्तिमा १० प्रतिशत पाहुना २०२४ मा बढ्न सक्ने सुरुवाती आँकलन बोर्डको थियो। त्यही आँकलन अनुसार बोर्डले १३ लाख २० हजारको लक्ष्य अनुमान गरेको थियो। ‘बोर्डको २०२४ मा भित्रिने विदेशी पर्यटकको अनुमानित संख्याको लक्ष्य पुरा नभएपनि आगमनमा सुधार भने भएकै हो। समस्याका बाबजुत पर्यटक आगमन राम्रो मान्नुपर्छ,’ उनले भने।
अन्तर्राष्ट्रिय पर्यटकको विश्वव्यापी आगमनलाई नियालिरहेको राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएन टुरिजम)ले पनि अहिलेसम्मको आगमनमा २०१९ को तथ्यांकलाई सर्वाधिक मानेर विश्लेषण गर्ने गरेको छ। यूएन टुरिजमका अनुसार २०१९ को आगमनपछि कोरोना संक्रमणले पर्यटन क्षेत्रलाई असर परेको र त्यसपछिका वर्ष पर्यटन क्षेत्र रिकभर हुने क्रममा २०२४ को सेप्टेम्बरसम्म आउँदा ९८ प्रतिशत रिकभर भएको उल्लेख गरेको छ।
यूएन टुरिजमका अनुसार २०१९ को आगमन संख्याको तुलनामा २०२० मा २८ प्रतिशत मात्र विश्वव्यापी पर्यटक आउजाउ भएको थियो। त्यो आकार २०२१ मा ३१ प्रतिशत पुगेको थियो । २०२२ मा भने थप सुधारिएर ६७ प्रतिशत भएको थियो। पर्यटक आगमनमा सुधार हुँदै जाँदा २०२३ मा ८९ प्रतिशत र २०२४ को सेप्टेम्बरसम्मको अवधिमा ९८ प्रतिशत रिकभर भएको यूएन टुरिजमले बताएको छ।
विश्वव्यापी रुपमा पर्यटक क्षेत्रमा कोभिडको प्रभाव कम हुँदै जाँदा नेपालमा पनि आगमन बढ्दै जाँदा नेपालमा सन् २०२४ सम्मको आगमनमा ९६ प्रतिशत रिकभर भएको बोर्डका निर्देशक लामिछानेले बताए।
‘२०१९ लाई सतप्रतिशत मानेर विश्लेषण गरेको र त्यसपछिका वर्ष आगमन खस्किँदै जाँदा पर्यटन क्षेत्र प्रभावित भएको थियो। त्यो आगमन अहिले ९६ प्रतिशत रिकभर भएको छ,’ लामिछानेले भने, ‘विश्वव्यापी रुपमा पर्यटन क्षेत्रको गतिविधि बढ्दा नेपालमा पनि त्यसको प्रभाव परेको छ।’
कोरोना संक्रमण सुरु हुँदाकै ताका पर्यटन क्षेत्र पहिलेकै अवस्थामा (२०१९ अघि) फर्किन केही वर्ष लाग्ने र त्यो समय २०२४ अन्तिम हुने अपेक्षा गरेको थियो। आगमन सुधार हुने क्रममा २०२२ सम्म ५१ प्रतिशत रिकभर भएको थियो। सन् २०२३ सम्ममा ८५ प्रतिशत रिकभर भईसकेको थियो । ‘सन् २०२४ मा आगमनको नयाँ रेकर्ड कायम गर्ने लक्ष्य थियो। तर, केही घटनाक्रमले आगमन प्रभावित हुँदा लक्ष्य नभेटिएपनि नजिक पुगेका छौं,’ उनले भने।
उनका अनुसार पर्यटक आगमनमा सुधार हुनुमा पर्यटन बोर्ड आफैले प्रर्वद्धनात्मक अभियान थालेको छ। त्यस्तै नेपालमा भएका ठुला गतिवधिले पनि आगमनलाई बढावा दिएका छन्। अघिल्लो महिना भएको क्रिकेटको नेपाल प्रिमियर लिग (एनपिएल), बुद्धिष्ट सम्मेलन, पोखरामा हाल भईरहेको अन्तर्राष्ट्रिय बेलुन महोत्सव र चिनियाँ सरकारको आयोजनामा भएको ड्रागन बोट रेस मुख्य कारण रहेको उनले बताए।
त्यस्तै केही कारणले आगमन प्रभावित भएको पनि लामिछानेले बताए। उनका अनुसार अघिल्लो वर्ष पर्याप्त मात्रामा प्रर्वद्धन नहुनु, भारतीय बस, हेलिकप्टर र हवाई जहाज दुर्घटना, बाढीपहिराको त्रास र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती हुनुले पर्यटक आगमनमा असर पारेको उनले बताए। ‘२०२४ मा नेपालको पर्यटन पहिलेकै आकार नाघेर थप सुधार हुने अपेक्षा गरेका थियौ। तर, यही वर्ष भएका केही घटनाक्रमका कारण आगमन प्रभावित हुँदा लक्ष्य भेट्न सक्ने अवस्था रहेछ,’ लामिछानेले भने, ‘२०१९ आगमन कटाउन २०२५ पर्खिनुको विकल्प रहेन। अर्काे वर्ष मात्र नेपालको पर्यटक आगमनले बल्ल २०१९ को रेकर्ड ब्रेक गर्नेछ।’
नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।
जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो। जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशी नेपाल भित्रिए। अक्टोवरमा भने १ लाख २४ हजार ३ सय ९३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५ सय १ जना विदेशी पाहुना भित्रिएकोमा डिसेम्बरमा ८९ हजार ७ सय ६५ जना भित्रिएको बोर्डले बताएको छ। सबैगरि ११ लाख ४५ हजार २ सय ९८ जना विदेशी सन् २०२४ (डिसेम्बर ३० सम्म) नेपाल भित्रिएको बोर्डले बताएको छ।
पर्यटन व्यवासायी भने पर्यटकको आगमनमा सुधार हुँदै गएपनि यो नै पर्याप्त नभएको बताउँछन्। ‘कोरोना संक्रमणले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो। पछिल्लो समय आगमन त बढिरहेको छ। पर्यटन क्षेत्रका लागि यो आगमन पर्याप्त भने छैन,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने, ‘पोखरासम्मको पहुँचमा सकस हुँदा पर्यटन क्षेत्रले बढी लाभ लिन सकेको छैन। तरपनि आगमनमा भने सुधार भईरहेको छ।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...