चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन्।
आज (बुधबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै गण्डकी र बागमती फाइनल प्रवेश गरेका हुन्। पहिलो सेमिफाइनलमा लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पार्दै गण्डकीले फाइनलमा स्थान सुरक्षित गरेको हो। १५ ओभरमा घटाइएको खेलमा लुम्बिनीले दिएको ८३ रनको लक्ष्य गण्डकीले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो।
गण्डकीको जितमा ज्योत्सना मरासिनेले नट आउट ३६ रन बनाइन्। ३६ बल खेलेकी ज्योत्सनाले ४ चौका र एक छक्का प्रहार गरिन्। सीमाना केसीले १९ रन बनाइन्। लुम्बिनीकी सुस्मिता भुसाल, सरु तिवारी र दीपा कुँवरले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले नट आउट ४२ रन बनाए पनि हार टार्न सकिनन्। ४५ बल खेलेकी आश्माले ४ चौका प्रहार गरिन्। गणडकीकी कुसुम गोदारले २ तथा सीमाना केसीले एक विकेट लिए।
आजै सम्पन्न दोस्रो रोमाञ्चक सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै बागमतीले गण्डकीसँगको भेट पक्का गरेको छ। निकै रोमाञ्चक खेलमा बागमतीले सुदूरपश्चिमलाई १ रनले पाखा लगायो।
बागमतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ८२ मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि सारित्री धामीले ३४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए पनि हार टार्न सकिनन्। कप्तान स्नेहा महराले १५ रन जोडिन्। बागमतीकी कृश्मा गुरुङले ३ विकेट लिइन्।
त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बागमती १९ ओभर ३ बलमा ८३ रनमा समेटिएको थियो। बागमतीकी कप्तान सोनी पाख्रिनले १५ तथा कृश्माले १३ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंंकको रन जोड्न सकेनन्।
सुदुरपश्चिमकी करिश्मा थापाले ३ तथा अनु कडायत, जानकी थापा र गंंगा खड्काले २–२ विकेट लिए। नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ।
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।
पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...