२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप

पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुने भएको छ। नेपाल ट्रायथलन एसोसियसन (एनटिए) को आयोजनामा भोलिदेखि पोखरामा पुरुष तथा महिला ट्रायथलन एसिया कपको चौथो संस्करण तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुन लागेको हो।

कोरोनाका कारण दुई वर्ष रोकिएपछि यस वर्ष हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल ट्रायथलन एसोसिएसन (एनटिए) ले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कुल ६२ जनाले भाग लिने प्रतियोगिता संयोजक डिल्लीराज सुवेदीले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, उज्वेकिस्तान, कजाकस्तान, मरिसस, अस्ट्रेलिया, यूएई, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्बर्ग र टोगोका खेलाडीले सहभागिता जनाउने उनले बताए।

महिला र पुरुष गरेर दुई फरक स्पर्धामा हुने प्रतियोगिताका लागि खेलाडी र अतिथिहरु पोखरा आइसकेको उनको दाबी छ।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडलाई केन्द्रित गरेर आयोजित च्याम्पियनसिपको स्प्रिन्ट विधाअन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुने छ। स्विमिङ फेवातालमा हुने छ भने दौड गौरीघाट, सहिदचोक, मुस्ताङचोक, विरौटा, ड्यामसाइड हुँदै गौरीघाटमै पुगेर समापन हुने संयोजक सुवेदीले बताए।

प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ। परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘खेलाडी र अतिथि आएपछि पर्यटनमा सघाउ त पुग्छ नै, त्योभन्दा पनि बढी प्रतियोगिताले खेल पर्यटनका माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ।’

प्रतियोगिताको च्याम्पियनले ८४ हजार, द्वितीय हुनेले ७० हजार, तृतीय हुनेले ५६ हजार, चौथो हुनेले ४२ हजार र पाचौं हुनेले २८ हजार रुपैयाँ पुरस्कार पाउने नेपाल ट्रायथलन एसोसिएसन (एनटिए) का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख खर्च हुने अनुमान गरिएको नेपाल ट्रायथलन एसोसिएसन (एनटिए) का महासचिव युवराज सुनुवारले जानकारी दिए। प्रतियोगिताको कुल पुरस्कार राशि मात्रै पाँच लाख ५८ हजार रुपैयाँ खर्च हुने उनले बताए।

प्रकाशित: १४ वैशाख २०८१ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App