२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

प्रतिस्पर्धाका क्रममा अभिलाषा विष्ट र ऋतिक राणाको जोडी। तस्बिर : नागरिक

ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ऋतिक र अभिलाषाको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६-१ र ७-५ को सोझो सेटमा पराजित ग¥यो। राष्ट्रिय पूर्वच्याम्पियन जितेन्द्र परियारले भेट्रानमा दोहोरो स्वर्ण जिते।

जितेन्द्रले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन्। सिंगल्सको फाइनलमा जितेन्द्रले सन्तोष खत्रीलाई ३-६, ६-३ र १०-३ को सेटमा हराए। जितेन्द्रले इलम दीक्षितसंग मिलेर अनिल साई र सीमान्त गुरुङको जोडीलाई ३-६, ७-५ र १०-७ को सेटमा डबल्सको फाइनलमा पाखा लगाए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो बने। उनले फाइनलमा कर्मा घलेको चुनौती ६-० र ६-१ ले समाप्त पारे। भेट्रानमै विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण चुमे।

५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले बाजी मारे। उनले फाइनलमा प्रदीपबहादुर शाहमाथि ६-२ र ६-१ को जित दर्ता गरे। उक्त स्पर्धाको डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा धुन्डुपको जोडीलाई फाइनलमा ६–१ र ७-५ को सेटमा पराजित गर्‍यो।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई सीधा सेटमा ६-२ र ६-२ ले पाखा लगाए। सो स्पर्धाको डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी च्याम्पियन भयो। उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६-१ र ६-४ को सोझो सेटमा पन्छायो।

प्रतियोगिताको अन्तिम दिन पुरुष-महिलाको सिंगल्स फाइनल हुने छ। पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्ने छन्। अभिलाषा विष्ट र सुनिरा थापाबीच महिला सिंगल्स उपाधि भिडन्त हुने छ।

प्रकाशित: १५ वैशाख २०८१ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App