१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

रोहितको अर्धशतकका बावजुद नेपाल पराजित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध सट प्रहार गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल। तस्बिर: क्यान

कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।

नेपालका शीर्ष क्रमका ब्याटर चल्न सकेनन् र पाहुना टोलीसँग १० रनले पराजित हुन पुग्यो। यससँगै पाँच खेलको शृंखला १–१ को बराबरी भएको छ। त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो।

कप्तान रोहितले दोस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै लय जारी राखे। अघिल्लो खेलमा उनले शतक बनाएका थिए। इनिङको अन्त्यसम्म रोहितले ब्याटिङ गरे पनि अन्य ब्याटरको राम्रो साथ पाउन सकेनन्।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप नेपालले यो शृंखला खेलेको हो। विश्वकप नजिकिँदै गर्दा नेपालको यो अन्तिम तयारी पनि हो। तर, दुई अभ्यास खेल खेल्दा रोहितबाहेक अन्य ब्याटर लयमा देखिएका छैनन्।

रोहित ७० रनमा अविजित रहे। उनले ४८ बलमा ६ चौका र दुई छक्का हिर्काए। दुवै खेलमा नेपालका ओपनर चल्नै सकेनन्। आइतबार पनि ओपनर कुशल भुर्तेल २ रनमै आउट भए। दोस्रो खेलमा अवसर पाएका ओपनर लोकेश बमले १६ रन बनाए। मध्यक्रमका ब्याटर गुल्सन झाले २६ रन जोडे।

त्यसअघि नेपालको सुरुआत राम्रो हुन सकेन र पावरप्लेमा चार विकेट गुमाउँदा २८ रन मात्र जोड्यो। ओपनरद्वय लोकेश र ओपनर कुशलसँगै अनिल साह १ रन र कुशल मल्ल खाता नखोल्दै आउट भए।

मल्ल लगातार दोस्रो खेलमा रनआउट हुन पुगे। त्यसपछि कप्तान रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ३३ रन र छैटौं विकेटका लागि आरिफ सेखसँग ४३ रनको साझेदारी गरे। १५औं ओभरमा आरिफ १२ रनमा आउट भए। त्यसपछिका ब्याटरले पनि साथ दिएनन्।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी समान ३ रनमा आउट हुँदा आकाश चन्दले ७ रन जोडे। अन्तिम दुई ओभरमा २६ रन आवश्यक थियो। तर, नेपालले १५ रन जोड्न सक्यो। वेस्ट इन्डिज ‘ए’ को बलिङमा ओबेद म्याक कोए र गुडाकेस मोतीले समान दुई विकेट लिए। ओसाने थोमस र रोस्टन चेजको नाममा समान एक विकेट रह्यो।

नेपालले तीन विकेट रन आउटका रूपमा गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १६० रन जोड्यो। पाहुना टोलीको पनि छिट्टै दुई विकेट पतन भयो। त्यसपछि नेपालले आक्रामक शैलीमा अंकुश लगाउने प्रयास गर्‍यो। तर, अन्तिम दुई ओभरमा भने नेपालले ४१ रन खर्चियो।

स्पिनर सागर ढकालले ओपरद्वय जोन्सन चाल्र्सलाई ११ रन र एलिक अथानजेलाई ६ रनमा आउट गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। २.५ ओभरमा वेस्ट इन्डिज ‘ए’ १८/२ को अवस्था पुग्यो। लगातार स्पिनर लगाउँदै नेपालले खुलेर ब्याटिङ गर्न दिएन। तर, विकेटकिपर आन्द्रे फ्लेचरले ४३ रन र कप्तान रोस्टन चेजले २३ रन जोड्दै इनिङ अगाडि बढाए।

यी दुईबीच तेस्रो विकेटका लागि ४६ रनको साझेदारी भयो। कप्तान चेज पनि १०औं ओभरमा आउट भए। भुर्तेलले उनलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए। फ्लेचरले एक छेउबाट इनिङ अगाडि बढाए। तर, अर्को छेउबाट विकेट पतन भयो।

केसी कार्टी १० रन, किमो पउल ८ रन र हेडन वाल्स ९ रनमा आउट भए। फ्लेचर पनि १८औं ओभरमा आउट भए। दीपेन्द्रसिंहले उनलाई लोकेश बमबाट क्याच गराए।

१७.५ ओभरमा पाहुना टोली ११५/७ मा रहँदा सामान्य योगफलतर्फ अग्रसर भयो। तर, अन्तिम दुई ओभर नेपालका लागि महँगो बन्यो। यस क्रममा गुडाकेस मोतीले ८ बलमै ३३ रन जोडे। उनले दुई चौका र चार छक्का प्रहार गरे।

नेपालको बलिङमा सागर र कुशल भुर्तेलले समान दुई विकेट लिए। समान चार ओभरमा सागरले १९ रन र कुशलले २२ रन खर्चिए। सोमपाल र दीपेन्द्रसिंहले समान एक विकेट लिए पनि महँगा बने। नेपालले अब तेस्रो खेल  बुधबार खेल्नेछ।  

प्रकाशित: १७ वैशाख २०८१ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App