४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

‘स्टोक सिटीसँगको खेलका लागि तयारी राम्रो’

बिदाइ समारोहमा खेलाडीका साथ एन्फाका पदाधिकारी एवम् इङ्ल्यान्डका राजदूत रोब फेन (पछिल्लो हारमा बायाँबाट चौथो)। तस्बिर: एन्फा

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्राे भएको बताए।

नेपालले वैशाख २४ गते इङ्ल्यान्डको अल्डरसटमा तेस्रो डिभिजन क्लब स्टोक सिटीसँग खेल्दै छ। सोही खेलका लागि सोमबार भएको बिदाइ कार्यक्रममा कप्तान लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

इङ्लिस टोलीसँगको खेलका लागि आफ्नो टोली उत्साहित रहेको उनले बताए। टोलीमा नयाँ खेलाडीको आगमनमा केही सकारात्मक पक्ष रहेको उल्लेख गर्दै ती खेलाडीले इङ्लिस फुटबलमा खेल्नु पाउनु सुखद पक्ष रहेको कप्तान लिम्बूको बुझाइ छ।

नेपाली फुटबल टोलीलाई सोमबार नेपालका लागि इङ्ल्यान्डका राजदूत रोब फेन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलगायतले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा कप्तान किरणले नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ रहेकाले इङ्ल्यान्डको मैत्रीपूर्ण खेल ती खेलाडीका लागि राम्रो तयारी हुने आशा व्यक्त गरे।

विश्वकप छनोट चरणको खेलका लागि नयाँ खेलाडीलाई एक्सपोजर आवश्यक रहेको कप्तान किरणले बताए। उनले यो युवा टोली अनुभवी बन्न समय लाग्ने उल्लेख गरे। त्यसैले इङ्लिस टोलीसँग पिच सेयर गर्न पाउँदा पनि आत्मविश्वास बढ्ने उनको विश्वास छ।

प्रशिक्षक र खेलाडीले पनि इङ्लिस टोलीका बारे बुझिरहेको र उनीहरू शारीरिक रूपमा निकै बलियो रहे पनि आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने कप्तान किरणले बताए। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीको तयारी छोटो भए पनि राम्रो तयारी रहेको उल्लेख गर्दै इङ्लिस फुटबलको तल्लो डिभिजनको टोली पनि बलियो हुने बताए।

अधिकांश खेलाडी प्रिमियर लिग खेल्ने लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ छ। पछिल्ला समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनले बताए।

बिदाइ कार्यक्रममा इङ्ल्यान्डका राजदूत फेनले बाल्यकालका आफ्नो खेलबारे स्मरण गर्दै नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको धारणा राखे। साथै उनले स्टोक सिटीबाट नेपालले राम्रो नतिजा पनि पाउने उनले आशा व्यक्त गरे।

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्बाङले यो मैत्रीपूर्ण फुटबलको व्यवस्थापन गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिए। इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण फुटबलबाट खेलाडीले धेरै अनुभव प्राप्त गर्ने आशा व्यक्त गरे। सो अवसरमा उनले इङ्ल्यान्डका राजदूतलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए।

एन्फाले सोमबार नै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको थियो। फत्तेमान घलेलाई पहिलो पटक समेट्दै टोली घोषणा भएको छ। एनेसले सोमबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र  रोहित चन्द छन्।

मिडफिल्डरमा फत्तेमानसहित मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन्। एन्फाका सदस्य मनीष जोशीको नेतृत्वमा नेपाली टोली इङ्ल्यान्ड जाँदै छ। टोलीको प्रशिक्षण टोलीमा प्रवेश कटवाल र विनोद महर्जन छन्।

प्रकाशित: १८ वैशाख २०८१ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App