७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकपअगाडि नेपालको खराब लय

आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

यो विश्वकप तयारीका लागि नेपालले क्यारेबियन टोली वेस्ट इन्डिज ‘ए’ सँग ट्वान्टी–२० फरम्याटको अभ्यास खेलिरहेको छ। तर, शृंखलाका चार खेल सकिँदा नेपालको ब्याटिङसँगै बलिङले लय समात्न सकेको छैन। नेपालले बिहीबार पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँगको चौथो ट्वान्टी–२० क्रिकेटमा पनि २८ रनको हार बेहोर्‍यो। वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै २०९ रन बनायो। जबाफमा २१० रनको लक्ष्य पछ्याएको नेपाल १८१ रनमै सीमित भयो। यससँगै पाँच खेलको शृंखला नेपालले गुमाउन पुग्यो। पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको हो। यससँगै शृंखलामा नेपाल ३–१ ले पछि परेको छ।

हरेक खेलमा प्रशिक्षक मोन्टी देसाईले ओपनिङ साझेदारीसँगै बलिङमा धेरै प्रयोग गरे पनि सफल भएनन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विश्वकपका लागि हितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो। तेस्रो खेलमा यही टोलीबाट प्लेइङ ११ छनोट गरिएको थियो। यसअघि नै कप्तान रोहितले अबको बाँकी खेलमा विश्वकप खेल्ने टोलीबाट नै प्लेइङ ११ छनोट गर्ने स्पष्ट पारेका थिए। चौथो खेलमा सोहीअनुरूप नै भयो, तर यो टोलीले पनि प्रभावकारी प्रदर्शन गर्न सकेन। ब्याटिङ र बलिङमा नेपालले लय समाउन सकेन।

पहिलो खेलमा कप्तान रोहितले शतक बनाउँदै नेपाललाई जित दिलाए। त्यो खेलमा चार विकेट पतन हुँदा पनि ओपनिङ जोडीको साझेदारी राम्रो रहेन। पछिल्ला समय ओपनर कुशल भुर्तेलले सन्दीप लामिछानेको विकल्पको रूपमा लेग स्पिनको जिम्मेवारी पाएका छन्। यसमा उनले केही मात्रामा आफूलाई प्रभावकारी साबित पनि गरे। ब्याटिङमा भने उनी लगातार खराब लयबाट गुज्रिरहेका छन्। पछिल्ला पाँच खेलबाट कुशलले मात्र २० रन जोड्न सफल रहे। यसमा सर्वाधिक १६ रन छ।

अर्का ओपनर आसिफ सेख पनि लयमा नहुनु विश्वकप संघारमा नेपालका लागि चिन्ताको विषय बनेको छ । वेस्ट इन्डिज ‘ए’ सँग आसिफले बिहीबार मात्र अवसर पाए । तर, उनी खाता नै खोल्न असफल रहे। उनको पनि पछिल्लो आँकडा सुखद छैन। पछिल्ला चार खेलमा उनले १५ रन मात्र जोड्न सकेका छन्। चारै खेलमा उनी दोहोरो अंकमा रन बटुल्न असफ रहे। नेपालको ओपनिङ साझेदारी खराब लयबाट गुजँ्रदा नेपालको ब्याटिङ नै धराशयी बन्ने गरेको छ।

पछिल्ला समय आशा गरिएका ब्याट्सम्यान हुन्, अनिल साह। प्रशिक्षक देसाईले उनलाई विश्वकपमा पनि समावेश गरेका छन्। यद्यपि, उनको प्रदर्शन पनि निराशाजनक रहँदै आएको छ। बिहीबार उनले अवसर पाएनन्। तथापि, पछिल्ला चार खेलमा उनको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर नै १४ रन हो। युवा अलराउन्डर कुशल मल्ल र अनुभवी दीपेन्द्रसिंह ऐरीको ब्याट पनि चल्नै सकेको छैन। यी दुवै पछिल्ला खेलमा सहजै विकेट दिइरहेका छन्।

यद्यपि, यो शृंखलामा कप्तान रोहित भने उत्कृष्ट लयमा देखिएका छन्। वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा रोहितलाई तेस्रो खेलमा आराम दिइएको थियो। तीबाहेक तीन खेलमा उनले एक शतक र दुई अर्धशतक प्रहार गरे। यो शृंखलामा उनको ब्याटबाट कुल २६५ रन निस्किएको छ। जुन विश्वकप नजिकिँदै गर्दा नेपालका लागि केही सुखद पक्ष हो। त्यसबाहेक ब्याटरको नतिजा भने सुखद बन्न सकेको छैन। बलिङमा पनि नेपालका लागि सुखद संकेत देखिएको छैन। ‘स्ट्राइक’ बलरको अभाव टोलीमा देखिएको छ भने अधिकांश बलर महंगा बनिरहेका छन्।

आगामी विश्वकपका लागि सोमपाल कामी टोलीमा समावेश भए। उनी दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छन्। नेपाली टोलीमा हाल सबैभन्दा अनुभवी खेलाडी हुन्, सोमपाल। तर, उनीबाट टोलीले त्यो गति पाउन सकेको छैन। अर्का अनुभवी बलर करण केसीको प्रदर्शन पनि खराब रहँदै आएको छ। स्पिनर ललितनारायण राजवंशीले प्रभावकारी प्रदर्शन गर्न नसक्दा पनि टोलीमा सन्दीपको अभाव देखिएको हो।

क्यानले विश्वकपलाई नै मध्यनजर गर्दै वेस्ट इन्डिजका रोडी इस्टविकलाई बलिङ प्रशिक्षकका रूपमा भिœयााएको थियो। उनी एसिसी प्रिमियर कपअगाडि नै नेपाली टोलीमा आबद्ध भएका थिए। रोडीले बलिङ युनिटलाई सुधार गर्न सकिरहेको छैनन्। ब्याटिङ र बलिङ दुवैतर्पm प्रभावकारी प्रभावकारी प्रदर्शन हुन नसक्दा एक महिनाभन्दा कम समय बाँकी रहेको विश्वकपमा नेपालको तयारी आशालाग्दो बन्न सकेको छैन।

प्रकाशित: २१ वैशाख २०८१ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App