६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एनआइसीको क्वार्टरफाइनल सम्भावना बलियो

एनआइसी एसियाले कर्पोरेट सुपर सिक्सेस सिजन-७ मा आइतबार दुई जित निकाल्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ।

मूलपानी क्रिकेट मैदानमा आइतबारदेखि कर्पोरेट सुपर सिक्सेस सिजन–७ को प्रतियोगिता सुरु हुँदा आठ खेल भए। पाँच ओभरमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ को एनआइसीले क्लाउड फ्याक्ट्री र प्राइम कमर्सियल बैंकमाथि साँघुरो जित निकाल्दै नकआउट सम्भावना बलियो बनाएको हो।

एनआइसीले पहिलो खेलमा क्लाउड फ्याक्ट्रीमाथि १ रनको रोमाञ्चक जित निकाल्यो। दोस्रो खेलमा पनि प्राइममाथि ३ रनको रोमाञ्चक जितसहित एनआइसी भाग्यशाली साबित भयो।

पहिलो दिन आइसिएफसी फाइनान्स, सूर्य नेपाल, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिप्रदी ट्रेडिङ, एनसेल लेजेन्ड्स र सुबिसुले पनि सफलता प्राप्त गरे। एनआइसी एसियाले दिएको ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको क्लाउडले निर्धारित ओभरमा दुई विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो।

एनआइसीका अमर रावलले सर्वाधिक ४८ रन बनाए। दोस्रो खेलमा पनि एनआइसीले दिएको ८३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको प्राइमले ७९ रन मात्र बनाउन सक्यो। यो खेलमा पनि अमर सर्वाधिक रनकर्ता भए। उनले २८ रन र सञ्जय गिरीले २२ रन जोडे।

यसै समूहको माछापुच्छ्रेले पनि प्राइम बैंकलाई चार विकेटले हरायो। प्राइमले दिएको ९४ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले अन्तिम बलमा निशेष केसीको छक्काद्वारा विजय प्राप्त गर्‍यो। माछापुच्छ्रेका सृजन सवबेदीले ३६ रन, निशेष केसीले २४ रन बनाए।

दिनको दोस्रो खेलमा आइसिएफसी फाइनान्सले जगदम्बा ग्रुपलाई पाँच रनले हरायो। ८० रनको लक्ष्य पछ्याएको जगदम्बा निर्धारित ओभरमै ७४ रनमा अलआउट हुन पुग्यो। आइसिएफसीका अरविन्द रानाले ३१ रन, सुवास भण्डारीले २६ रन बनाए।

सूर्य नेपालले आइएमई ग्रुपमाथि ११ रनको जित निकाल्यो। सूर्य नेपालले दिएको ९२ रनको लक्ष्य पछ्याएको आइएमईले निर्धारित ओभरमा ८० रन मात्र बनायो। सूर्य नेपालका अमित पाठकले २६ रनको योगदान दिए। राष्ट्रिय वाणिज्य बैंकले भने एनसेल इलाइट्सलाई १३ रनले हरायो।

राष्ट्रिय वाणिज्य बैंकले दिएको ९० रनको लक्ष्य पछ्याएको एनसेलले निर्धारित ओभरमा ७६ रन जोड्यो। वाणिज्यका विवेक श्रेष्ठले ३४ रन र महेश ताम्राकारले २५ रन जोडे। दिनको छैटौं खेलमा सिप्रदी ट्रेडिङले कुमारी बैंकलाई १४ रनले पराजित गर्‍यो। सिप्रदीले दिएको ९७ रनको लक्ष्य पछ्याएको कुमारीले ८२ रन मात्र जोड्यो। सिप्रदीका दीपेश श्रेष्ठले ३२ रन बनाए।

सातौं खेलमा एनसेल लेजेन्ड्सले नेपाल बैंकलाई २३ रनले हरायो। एनसेलले दिएको १०८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल बैंकले ८४ रन बनायो। एनसेल लेजेन्ड्सका अनिल भण्डारीले ३२ रन बनाए।

दिनको अन्तिम खेलमा सुबिसुले एनसेल इलाइट्सलाई पाँच विकेटले हरायो। एनसेल इलाइट्सले दिएको ८८ रनको लक्ष्य सुबिसुले ४.३ ओभरमा बिनाविकेट पूरा गर्‍यो। सुबिसुका दमन चन्द र प्रदीप मल्लले समान २३ रन बनाए। प्रदीपले बलिङतर्फ पनि दुई विकेट लिए।

सोमबार पनि लिग चरणका १२ खेल सञ्चालन हुनेछन् र दोस्रो दिन नै क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुङ्गो लाग्नेछ। तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले गरेका थिए। सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह, नेपाल खेलकुद महासंघका महासचिव धर्मबहादुर लामाले शुभकामना दिए।  

प्रकाशित: २४ वैशाख २०८१ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App