६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

पेरिस ओलम्पिक २०२४

पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ।

आगामी जुलाईदेखि फ्रान्सेली सहरमा ३३औं गृष्मकालीन ओलम्पिक हुँदै छ। त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ। टेबल टेनिसका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ सम्म हुने भएको हो।

छनोट प्रतियोगितामा भारत र भुटानबाहेक नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो।

प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ। छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन्।

दक्षिण एसियाली छनोटबाट समान १/१ पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउने संघले जनाएको छ। नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुन लागेको हो। छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ।

प्रतियोगिताका लागि करिब १० लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ। टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार भारत नहुनु ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो।

प्रशिक्षक कपालीले नेपालका चारै खेलाडी दाबेदार रहेको पनि दाबी गरेका छन्। तर, उनले श्रीलंकासँग भने कडा प्रतिस्पर्धा हुने पनि बताए । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्ने कपालीले उल्लेख गरेका छन्।

नेपालबाट अहिलेसम्मका दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले यो सफलता पाएका थिए। हालै मात्र पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि छनोट चरण पार गर्दै ओलम्पिक खेल्दै छिन्। छनोट प्रतियोगिता सञ्चालनका लागि भने भारतबाट प्राविधिक आउनेछन्।

प्रकाशित: २४ वैशाख २०८१ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App