८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालमा कुस्ती : चुनौतीबीच संस्कृतिको संरक्षण

 ‘कुस्ती’ को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ।’

सम्मरीमाई– ४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छाडेको बताउँछन्। उनी भन्छन्, ‘आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन।’ पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गरे। उनले भने, ‘कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ।’ मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फूर्तिलाई बढावा दिन्छ, आत्मनियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु¥याउँछ।

कुस्ती एक अनुशासनको खेल हो। यो मानिस–मानिसबीचमा लडाइँको कला हो। कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखडा’ भनिन्छ। ‘अखडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन, यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ’, पहलवान राम किसुन यादवले भने, ‘यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ।’

कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ। उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन्। यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ। अखडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिता पालनालाई समेट्छ।

‘कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ। असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ। शारीरिक बलको खेती गर्छ। यसको सहभागीको समग्र फिटनेसमा योगदान पुर्‍याउँछ’, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्छन्, ‘आफ्नै समृद्ध इतिहास र विविध रूप भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो।’

दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ। यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ। कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ, जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ। प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ। यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उनको भनाइ छ। उनले भने, ‘युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो।’

नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानका लागि कुस्तीको वकालत गर्नुहुन्छ। यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उनको आग्रह छ। उनले कालाजंग, धोबी पछाड, मच्छीगोता, साडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउँछन्।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गरेका छन्। कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ। रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न बलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ।

कोटहीमाई ३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’ का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनःरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिए। ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहेका छन्।

पहलवान तथा प्रशिक्षक यादव भन्छन्, ‘मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन। त्यस समयमा, यस प्रकारको युद्धमा क्रूर बल हावी थियो।’ उनका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिए। यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताए।

उनले भने, ‘नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरैपटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ। यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ।’ यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्सेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’ को आयोजना गर्ने गर्दथ्यो।

तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ का अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो। पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दंगलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो। पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याई ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गरेका थियो।

राजेन्द्रले पुरस्कार पाउनु पहिले उनका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी भएका थिए।

प्रकाशित: २८ वैशाख २०८१ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App