अन्तरराष्ट्रिय महिला फुटबल- नेपाली टोलीप्रति अपेक्षा
०५ फागुन २०८१
•
८ मिनेट पाठ
अन्तरराष्ट्रिय महिला फुटबल- नेपाली टोलीप्रति अपेक्षा
काठमाडौंको तापक्रम बिस्तारै बढदै गएसँगै खेलको माहौल पनि तातिने भएको छ। आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय  महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।




गत तिहारअघि चिसोयाम भर्खरै सुरु भएको अवस्थामा नेपाली दर्शकहरु राति रङ्गशालामा उपस्थित भएर नेपाली महिला टोलीको पक्षमा जुटेका थिए। उक्त सातौँ साफ महिला च्याम्पियनशिप प्रतियोगितामा नेपालले राम्रो खेल प्रदर्शन गरेको अवस्थामा पनि फाइनलमा पराजित भएपछि निराश भएका दर्शकहरुको खुसी फर्काउने अवसर फेरि नेपाली टोलीमाथि आएको छ।

यसका लागि गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदेखि विभिन्न मुलुकमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरु समेत टोलीमा फर्केका छन्।  

यसपालि अन्तरराष्ट्रिय महिला च्याम्पियनशिपमा नेपाल, म्यान्मा, लेबनान र किर्गिस्तानका चार टोलीको सहभागिता रहेको छ।

फोर नेसन्स फुटबल प्रतियोगिता आगामी एएफसी एसियन कप तथा फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा नेपालको सहभागिताको तयारीका सिलसिलामा आयोजना गरिएको हो।

सो फुटबल प्रतियोगिताका सबै खेल अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अन्तरराष्ट्रिय ‘विन्डोज’मा हुने भएकाले अन्तरराष्ट्रिय मान्यता पाउने निश्चित छ। निर्धारित खेल तालिकाअनुसार सहभागी सबै टोलीले आपसमा खेल्नेछन्।

लिग चरणमा दिनको दुईवटा खेल हुने भएको छ। यसअनुसार नेपालले सबै खेल साँझ ६ बजे ‘फ्लड लाइट’ मा खेल्नेछ। नेपालले लिग चरणअन्तर्गत प्रतियोगिताको पहिलो दिन फागुन ५ गते किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल फागुन ८ गते लेबनानसँग तथा फागुन ११ गते म्यान्मासँग खेल्ने कार्यक्रम रहेको छ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विगत केही वर्षयता सन्तोषजनक प्रदर्शन गर्दै आइरहेको छ। नेपाली महिला टोली फिफा वरियताक्रममा १०३औँ स्थानमा रहेको छ। सन् २०१७ मा नेपाल फिफा वरियताक्रममा सुधार हुँदै ९१औँ स्थानमा पुगिसकेको थियो।

अखिल नेपाल फुटबल सङ्घले पुरुष टोलीको तुलनामा महिला टोलीलाई कम प्राथमिकता दिएको देखिएको भए तापनि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्दै महिला टोलीलाई प्राथमिकता तथा सुविधा बढाउन बाध्य बनाउँदै आएको मान्न सकिन्छ।

गत सातौँ साफ महिला च्याम्पियनशिपको लिगको बेला नेपाली खेलाडीहरुले प्रशंसनीय खेल प्रस्तुत गरेका थिए। खेलाडीहरुले उत्कृष्ट गोलहरु गरेका थिए। अझ उल्लेखनीय पक्ष त धेरैपटक उपाधि जितिसकेको भारतलाई सेमिफाइनलमा पराजित गरेर नेपाली खेलाडीहरुले आफ्नो आत्मविश्वास बढाएका थिए।

यसअघि भारतीय टोलीसँग पटकपटक पराजित हुँदै आएको नेपालले भारतलाई हराउन सफल हुनु महत्वपूर्ण उपलब्धि थियो। तर फाइनलमा नेपाली टोली बङ्गलादेशसँग एक गोलका विरुद्ध दुई गोलले पराजित भएर विगतमा जस्तैः उपविजेतामै सीमित रहनु परे तापनि नेपाली खेलाडीहरुले दर्शकहरुको मन भने जितेका थिए।

नेपाली खेलाडीहरुले अथक प्रयत्न गर्दा पनि तथा घरेलु दर्शकहरुको अपार समर्थन पाउँदा पनि भोग्नु परेको पराजय खेलाडी तथा समर्थकहरुले अझै भुलेका छैनन्।

दोहरिएका प्रशिक्षक

सातौँ साफ महिला च्याम्पियनशिपका बेला नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ थिए। प्रतियोगितामा नेपाल पराजित भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए।

यसपालि पनि उनलाई नै टोली प्रशिक्षणको जिम्मेवारी दिइएको छ। तर उनलाई टोलीको जिम्मेवारी दिइएको समय भने केही दिनअघि मात्र हो। उनले ३० जना खेलाडी छनोट गरेर बन्द प्रशिक्षण सुरु गरेका थिए, जसबाट उनले २३ जनालाई अन्तिम छनोट गरेका छन्।

केही दिनको प्रशिक्षणले खासै फरक त पर्दैन। तर मुख्य प्रशिक्षक तामाङ खेलाडीहरुको व्यक्तिगत कौशलबारे जानकार रहेकाले उनको रणनीतिले टोलीको आगामी प्रदर्शनमा पक्कै प्रभाव पर्नेछ। मुख्य प्रशिक्षक तामाङले नेपालले जित्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिएका छन्।

साम्बाप्रति अपेक्षा 

नेपाली महिला राष्ट्रिय टोलीमा अत्यन्त भरपर्दो खेलाडीका रुपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो परिचय दक्षिण एसियाकै उत्कृष्ट खेलाडीका रुपमा बनाएकी छिन्।

नेपाली राष्ट्रिय टोलीकी अग्रपङ्क्तिकी खेलाडी साम्बाले विभिन्न ५२ म्याचमा ५३ गोल गरिसकेकी छिन्। उनलाई दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट ‘स्ट्राइकर’ मानिन्छ।

भारत, इजरायललगायतका मुलुकमा व्यावसायिक खेलाडीका रुपमा आफ्नो पहिचान बनाउन सफल उनी हाल फ्रान्समा इए एभान्ट गुईगाम्प क्लबका तर्फबाट दोस्रो ‘सिजन’मा युरोपेली लिग खेलिरहेकी छिन्। उनी युरोपेली लिगमा खेल्न जाने पहिलो नेपाली खेलाडी हुन्। साम्बा फ्रान्सेली टोलीबाट सोझै राष्ट्रिय टोलीमा सहभागिता जनाउँदैछिन्।

रेखा पनि टोलीमा

सातौँ साफ च्याम्पियनशिपका बेला भूटानी रेफ्री ओम चोकीले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट निकालेकी नेपालकी रेखा पौडेल संयुक्त अरब इमिरेटसबाट स्वदेश आएर महिला च्याम्पियनशिप खेल्दैछिन्। उनी अबुधाबी कन्ट्री क्लबका तर्फबाट युएई महिला लिगमा सहभागिता जनाएकी छिन्। उनलाई नेपालकी पहिलो रोजाइकी स्ट्राइकरका रुपमा लिइन्छ। साफ च्याम्पियनशिपका बेला उनले कुल सात गोल गरेकी थिइन्।

नायिका बनेकी कप्तान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापोको वास्तविक जीवनमा आधारित कथानक चलचित्र ‘अन्जिला’ को सार्वजिनक प्रदर्शन अन्तरराष्ट्रिय महिला च्याम्पियनशिप समाप्त भएलगत्तै फागुन २९ गतेदेखि हुँदैछ।

फुटबल खेल्नका लागि उनले सानैदेखि सङ्घर्ष गर्दै सफलता प्राप्त गरेको कथा चलचित्रमा देखाएको छ। चलचित्र निर्देशक मिलन चाम्सको निर्देशन रहेको उक्त चलचित्रमा प्रख्यात अभिनेता दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्।

उक्त चलचित्रको हङकङमा प्रिमियर सो हुँदा पनि अन्जिला सहभागी भएकी थिइन्। नेपालमा अन्तरराष्ट्रिय महिला च्याम्पियनशिप खेल्नका लागि एन्जिला ग्रिसबाट आइसकेकी छिन्। उनी युरोपियन लिग फुटबल खेल्न ग्रिसको ‘ए डिभिजन’ को क्लब निस अट्रोमिटउ क्लबसँग आबद्ध रहेकी छिन्।

नेपालमा सुरुआत 

नेपालले सन् १९८६ मा पहिलोपटक एएफसी वुमन्स च्याम्पियनशिपमा नेपाली महिला राष्ट्रिय टोलीलाई सहभागिताका लागि पठाएको थियो। त्यतिखेर पहिलो दिनको खेलमा नेपाल हङकङसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको थियो।

त्यसपछि नेपाल सन् १९८९ तथा १९९९ मा एएफसी वुमन्स च्याम्पियनशिपमा सहभागी भएको भए तापनि समूह चरणभन्दा माथि पुग्न सकेन। नेपाली महिला फुटबल टोलीसँग नेपाली फुटबलप्रेमीहरुको अपेक्षा प्रतियोगिता विजेता बनेको देख्न पाउनु हो।

नेपाल साफ महिला च्याम्पियनशिपमा छपटक तथा दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा तीनपटक उपविजेता बनिसकेको छ। साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनशिप फुटबलमा पनि नेपाल उपविजेता बनेको थियो।

सहभागी टोलीहरुको स्थिति

लेबनान: लेबनानको महिला राष्ट्रिय फुटबल टोलीले सन् २००५ देखि सक्रिय रुपमा विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आइरहेको छ। सो टोलीले हालसम्म खेलेका ५९ वटा अफिसियल म्याचमध्ये २४ वटामा विजय हासिल गरेको, तीनवटा बराबरीमा टुङ्गिएको तथा ३२ वटा म्याचमा पराजय भोगेको थियो।

सन् २०२२ मा सम्पन्न वाफ (वुमन्स च्याम्पियनशिप) मा लेबनान दोस्रो भएको थियो। सन् २०२३ मा भएको महिलाहरुको अन्तरराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा लेबनानले अतिरिक्त समयमा भूटानलाई शून्यका विरुद्ध एक गोलले हराएर उपाधि जोगाएको थियो।

सन् २०२४ का वाफ फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लेबनानलाई एक गोलविरुद्ध दुई गोलले हराएको थियो। लेबनान हाल फिफा वरियताक्रममा १३४औँ स्थानमा रहेको छ।

म्यान्माः फिफा महिला विश्व वरियताक्रममा म्यान्माको स्थान ५५औँ रहेको छ। म्यान्माको महिला राष्ट्रिय फुटबल टोलीले सन् १९९५ देखि विभिन्न क्षेत्रीय प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ।

म्यान्माले एएफएफ महिला च्याम्पियनशिपमा सन् २००४ र २००७ मा उपाधि जितेको थियो। उक्त प्रतियोगितामा म्यान्माको टोली सन् २०११, २०१२ तथा २०१५ मा दोस्रो तथा सन् २०१६, २०१९ र २०२२ मा तेस्रो हुन सफल भएको थियो। दक्षिण पूर्वी एसियाली खेलकुदमा म्यान्माको महिला फुटबल टोलीले चारपटक दोस्रो तथा सातपटक तेस्रो स्थान प्राप्त गरेको थियो। 

किर्गिस्तान

किर्गिस्तानको महिला राष्ट्रिय फुटबल टोलीले सन् २००९ मा पहिलोपटक एएफसी महिला एसियाकपमा सहभागिता जनाएको थियो। सन् २०२२ मा सम्पन्न सिएएफए महिला च्याम्पियनशिपमा किर्गिस्तान टोली तेस्रो भएको थियो। किर्गिस्तानले विभिन्न उमेर समूहका महिला फुटबल टोली बनाएर प्रतियोगितामा सहभागिता गराएको छ। फिफा विश्व वरियताक्रममा १२८औं स्थानमा रहेको छ।

नेपालमा महिला फुटबलको विकासका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जस्ता विभागीय टोलीहरुको उल्लेखनीय भूमिका रहँदै आएको छ। यसपालिको प्रतियोगितामा पनि नेपाली टोलीमा अधिकांश खेलाडीहरु विभागीय टोलीहरुबाटै छनोट भएका छन्।

व्यावसायिक खेलाडीका रुपमा युरोप र अन्य मुलुकमा अनुभव हासिल गरेर आएका नेपाली खेलाडीहरुकै खेलमा नेपाली टोलीको भविष्य निर्भर रहेको छ। घरेलु दर्शकहरुको अपार समर्थन र साथले सकारात्मक नतिजा जुटाउन पक्कै सहयोग गर्ने आशा गर्न सकिन्छ। गत कात्तिकमा यही रङ्गशालामा फाइनलमा भएको पराजयलाई यसपटक शक्तिमा बदल्न पनि नेपाली टोलीका तर्फबाट यथोचित प्रयत्न हुने अपेक्षा गरिएको छ।

आगामी दिनमा अन्य फुटबल क्लबहरुले पनि पुरुष खेलाडीहरुलाई जस्तैः व्यावसायिक रुपमा महिला खेलाडीहरुलाई पनि आबद्ध गर्न सुरु गरेमा नेपालले अन्तरराष्ट्रिय सफलता हासिल गर्दै जाने निश्चित छ।

अखिल नेपाल फुटबल सङ्घले पनि महिला फुटबलका प्रतियोगिता तथा गतिविधिलाई क्रमिक रुपमा बढाउँदै खेलाडीहरुले खेलेरै जीवनयापन गर्न सक्ने सन्देश प्रवाह गर्न नेतृत्वदायी भूमिका लिनु अपेक्षा गरिएको छ।

-लेखक राजु सिलवाल खेल पत्रकार हुन्
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
३ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस