काठमाडौं– कप्तान सन्तोष साहुखलले पहिलो हाफमा गरेको गोलमा लक्ष्मी बैंक थ्री स्टार क्लबले लगातारको निराशाजनक नतिजायात्रामा पूर्णविराम लगाउँदै लिगमा तेस्रो जित हासिल गरेको छ। साविक विजेता थ्री स्टारले जारी लिगका ६ खेलमा हासिल गरेको यो तेस्रो जित हो। यो जितसँगै टोली ६ खेलमा १० अंकका साथ पाँचौं स्थानमा उक्लेको छ।
समान १० अंक भए पनि एनआइबिएल फ्रेन्ड्स र नेपाल पुलिस क्लब गोलअन्तरमा क्रमश तेस्रो र चौथो स्थानमा छन्। पराजित सरस्वती ७ अंकका साथ १० औं स्थानमा कायम छ। शुक्रबार दशरथ रंगशालामा थ्री स्टारलाई महत्वपूर्ण तीन अंक दिलाउन सन्तोषले ४२ औं मिनेटमा अफ्रिकी खेलाडी डुडोजको क्रसमा हेड गोल गरेका थिए।
थ्री स्टारका प्रशिक्षक अन्जन केसीले आफ्नो नेतृत्वमा टोलीले शुक्रबार सबभन्दा खराव प्रदर्शन गरेको बताउँदै जित हासिल गरेकोमा खुसी व्यक्त गरे। 'लगातारका खराव नतिजाका कारण हामी अत्यन्तै दबावमा थियौं। आजको प्रदर्शन नराम्रो भए पनि जितले आगामी खेललाई हाम्रो टोलीको मनोबल उच्च भएको छ,' केसीलाई उद्यृत गर्दै नागरिकन्युजकर्मी प्रकाश तिमल्सिनाले दशरथ रंगशालाबाट जनाएका छन्।
त्यस्तै पराजित सरस्वतीका प्रशिक्षक अशोक केसीले रणनीति परिवर्तन गर्दा खेलाडीले नबुझेको प्रतिक्रिया दिए। रेफ्रिको फिटनेस कमजोर भएको तर्क राख्दै उनले आफ्नो टोलीविरुद्ध केही निर्णय भएको गुनासो गरे।