पर्वत– राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र न्यु डायमन्ड एकेडेमी फाइनल पुगेका छन्। बिहीबार एपिएफले पश्चिमाञ्चल भलिबल संघलाई २५–११, २५–१७, २५–१३ को सोझो सेटमा पराजित गरेको हो।
एपिएफका अग्ला र अनुभवी खेलाडीसामु पश्चिमाञ्चल टोली निरीह बन्यो। पश्चिमाञ्चलकी मञ्जु गुरुङ वुमन अफ द म्याच भइन्।
काठमाडौंको न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई २५–२२, २५–२२, २५–२१ को सोझो सेटमा पराजित गर्यो । डायमन्डकी रमिला तण्डुकार र प्रतिमा मालीको कडा प्रहारसामु पुलिसले एक सेट पनि जित्न सकेन। प्रतिमा उत्कृष्ट खेलाडी भइन्।
तेस्रो स्थान र फाइनल शुक्रबार हुने प्रतियोगिता संयोजक अरुणकुमार श्रेष्ठले बताए। चौथो पर्वत महोत्सवका अवसरमा आयोजित प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १ लाख, ६० हजार, ३० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ। ठूलो पुरस्कार राशिको महिला भलिबल धौलागिरिमै पहिलोपल्ट आयोजना भएको आयोजक पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए।