काठमाडौं – सोची ओलम्पिकमा नेपालबाट एकमात्र सहभागी दा छिरी शेर्पाले ८६औं स्थान हात पारेका छन्। शुक्रबार १५ किलोमिटरको क्रस कन्ट्री स्की रेस दा छिरीले ५५ मिनेट ३९.३ सेकेन्डमा पूरा गरे।
२ किलोमिटर ४५.३० सेकेन्डमा पूरा गरेर रेस सुरुआत गरेका उनले ५३ मिनेट ५५.१ सेकेन्डमा सिध्याएका थिए। दाछिरीभन्दा पछाडि पेरुका रोबर्टो कार्सेलेन मात्र थिए। उनले १ घन्टा ६ मिनेट २८ सेकेन्डमा रेस पूरा गरेका थिए। रोबर्टोलाई दाछिरीले सुरुआतदेखि नै पछाडि पारेका थिए। सहभागी ९२ खेलाडीमा ४ देशका खेलाडीले रेस पूरा गरेनन् भने दुईले सुरुआत नै गर्न सकेनन्। स्विट्जरल्यान्डका डारियो कोलोग्ना ३८ मिनेट २९.७ सेकेन्डसाथ पहिलो भए।
सोची ओलम्पिक सुरु हुनु ठिकअघि ४४ वर्षे दा छिरीले आफू रेसमा अन्तिम हुने भविष्यवाणी गरेका थिए। सन् २००६ को टुरिन गेम्समा दा छिरी ९२औं स्थान र सन् २०१० को भ्यानकोभर ओलम्पिकमा ९४ औं स्थानमा थिए। दा छिरीले सोची ओलम्पिकमा पनि त्यति धेरै सुधार गर्ने आशा गरेका थिएनन्।
स्कीमा आफू अझै परिपक्व भइनसकेको बताउने दा छिरीले अनुभव नै आफ्नो उपलब्धि भएको बताए। ‘डिसेम्बरमा बिदा लिएर चार महिनादेखि अभ्यास गरिरहेको छु,' दा छिरीले ओलम्पिक न्युज सर्भिससँग भनेका थिए, ‘म अन्तिममा रहने धेरै सम्भावना छ। तर मेरो लागि स्थान महत्त्वपूर्ण होइन। ओलम्पिक स्पिरिट मेरो मुटुमा छ। यदि मैले नेपालको युवा खेलाडीलाई ओलम्पिकको स्पिरिटबारे सिकाउने अवसर पाएँ भने त्यो नै मेरा लागि ठूलो कुरा हो।'
दा छिरी सोलुखुम्बुको चुलेमोमा जन्मिएका हुन्। १७ वर्षदेखि उनी हिमाली क्षेत्रमा टे्रकिङ सहायकका रूपमा काम गर्थे। नेदरल्यान्ड्सका पर्यटकको सहयोगमा पहिलोपल्ट दा छिरीले माउन्टेन गाइडको कोर्षको गर्ने अवसर पाएका थिए। कोर्षपछि दौडन सुरु गरेका उनी काम गर्न स्विटजरल्यान्ड गए। एक्कासि नेपाल ओलम्पिक कमिटीको प्रस्तावले दाछिरीको जीवनमा नयाँ उचाइ थपियो। नेपाल ओलम्पिक कमिटीले दा छिरीलाई सन् २००३ को जापानमा भएको एसियन विन्टर गेम्समा सहभागी हुने प्रस्ताव गरेको थियो।
हाल फ्रान्समा बसोबास गर्दै आएका स्कीका दा छिरीले त्यसको तयारी पनि त्यही गरेका थिए। पछिल्लो वर्ष विश्व स्की महासंघका आधिकारिक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आर्जन गरेको अंकका आधारमा छनोट भएको नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका थिए।