मिरपुर (बंगलादेश)– आइसिसी टिट्वान्टी विश्वकप क्रिकेटका लागि बंगलादेश आइपुगेको नेपाली टोलीले सोमबार अभ्यासमा सहभागिता जनाएन।
नेपाली टोली बिहान मात्र होटल आइपुगेकाले खेलाडीको आरामका लागि अभ्यासमा नगएको नेपाली टोलीका व्यवस्थापक उत्तम कर्माचार्यले बताए।
आइसिसीको निर्धारित तालिका अनुसार नेपालले सोमबार दिउँसो फतुल्लाहमा गएर अभ्यास गर्ने कार्यक्रम थियो। नेपाली टोली सोमबार बिहान साढे ३ बजे अबुधावीबाट ढाका आइपुगेको थियो। एयरपोर्टबाट बंगलादेशको व्यस्त सवारी चापलाई छल्दै साढे ७ बजे नेपाली टोली प्यासिफिक सोनारगाउँ होटल पुगेको थियो।
कप्तान पारस खड्का बिहान सवा १० बजे नै नेपाली टोलीको पत्रकार सम्मेलनमा जानुपर्ने, राहुल विश्वकर्माले विभिन्न मिडियासँग ‘टेबुल टक' गर्नुपर्ने भएपछि आराम गर्न सोमबारको अभ्यास सत्र रद्ध गरिएको कर्माचार्यले बताए। नेपालले मंगलबार फतुल्लाह मैदानमा अभ्यास गरी त्यसको भोलिपल्ट आयरल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पहिलो अभ्यास खेल खेल्नेछ। शुक्रबार युएईसँग यही मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछ।
युएईमा एक हप्ता आइसिसीको विशेष प्रशिक्षण लिएर नेपाली टोली ढाका आइपुगेको हो। नेपालले युएईमा आइसिसीको संरक्षणमा एक साता प्रशिक्षण गरेको थियो। सो क्रममा नेपालले नेदरल्यान्ड्स र युएईसँग अभ्यास खेल खेलेको थियो। नेदरल्यान्ड्ससँग पराजित भए पनि नेपालले युएईलाई हराएको थियो।