काठमाडौं– पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय प्रतियोगिताको नयाँ संस्करण बुधबार सुरु हुँदैछ। प्रतियोगिताका खेलहरु काठमाडौं र पोखरामा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
समूह 'ए' मा साविक विजेता नेपाल एपिएफ क्लब, वीरगन्ज, त्रिभुवन आर्मी क्लब, बैतडी र पोखरा छन्। त्यस्तै समूह 'बी' मा भैरहवा, जनकपुर, विराटनगर, नेपालगन्ज, धनगढी, काठमाडौं छन्। समूह 'ए' का खेलहरु पोखरामा आयोजना हुनेछ। समूह 'बी' तथा सेमिफाइनल र फाइनल खेल काठमाडौँमा हुनेछ।
पोखरामा बुधबार वीरगन्ज र बैतडीका बीच खेल हुनेछ। त्यस्तै बुधबार नै पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदान ललितपुरमा काठमाडौं र भैरहवाका बीच खेल हुनेछ। विक्रम सम्बत २०४० को राष्ट्रिय खेलकुदपछि पोखरामा पहिलोपटक पुरुषको राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।
'पोखरामा आयोजनाको तयारी लगभग सकिसकेको छ,' क्यान महासचिव अशोकनाथ प्याकुर्यालले भने। पोखरा रंगशालामा खेलहरु हुनेछन्। प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता नगद १ लाख पाउने छन्। त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान १५ हजार पाउने छन्। प्रतियोगिताको अनुमानित बजेट २८ लाख छ।