काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सम्झौता तोडेर प्रशिक्षक पुबुदु दासानायकेलाई केवल ३ महिनाको नवीकरण गरी मलेसिया पठाएको छ। प्रशिक्षकको नवीकरण विवादले नेपाली टोली मलिन अनुहार लगाउदै एसिसी प्रिमियर लिग खेल्न मंगलबार मलेसिया लागेको छ।
क्यानले चैत ९ गते दासानायकेको सम्झौता १ वर्षलाई नवीकरण भएको जनाएको थियो। क्यानको कार्य सम्पादन बैठकले दासानायकेको सम्झौतालाई १ वर्ष थप्ने निर्णय गरेको थियो। सम्झौता नवीकरण गर्ने बारे कार्यसम्पादनको बैठकमा सबैले सहमति जनाएका थिए।
कार्यसम्पादनमा अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्यानल, उपाध्यक्षद्धय श्रीनिवास राणा र केशव घिमिरे, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सहसचिव ठाकुरप्रसाद पहाडी र सदस्य दीपक साउद थिए। कार्यसम्पादनको सर्वसम्मतपछि दोस्रो चरणको बैठकमा दासानायकेलाई राखेर वार्ता गरिएको थियो ।
दासानायकेले प्रति महिना ५ हजार डलर तलब तथा खाना,बस्न अन्य सुविधा पाउँदै आएका थिए। नयाँ सम्झौतामा कति सुविधा थपिएको आङबुहाङले नखुलाए पनि यस्तो भनेका थिए, 'थपिएको सवै सुविधाहरुमा दासानायकेले पनि सहमति जनाएका छन, अहिलेलाई एक वर्षका लागि नवीकरण गरेका हौं, यसलाई अझ थप्नु खासै ठूलो विषय होइन।'
पाँच हप्तापछि नै क्यानले आफैले गरेको सम्झौता तोडेर मंगलबार बिहान मलेसिया उडनु अघि दासानायकेलाई ३ महिनाको अनुबन्धन हातमा थमाएको हो। 'म क्यानाडा जानु अघि मसँग भएको सम्झौता अनुसार १ वर्ष लागि नवीकरण गरिने तथा तलब र अन्य सुविधाहरु थपिएको सम्झौता भएको थियो । म फर्केर आएपछि मसँग जुन सम्झौता भएको थियो, त्यो अनुसार मलाई दिइएको चिठी धेरै फरक पर्यो,' निकै निराश मुद्रामा दासानायकेले भने, 'मेरा सम्भौता नेपाल क्रिकेटसँग अब जुन २० सम्ममात्र रहेको छ ।'
कप्तान पारस खड्काले प्रशिक्षकलाई नेपालबाट हटाउने जालो क्यानले बुनिरहेको आरोप लगाए। 'अख्तियार धाउनु परेकाले सबै काम गर्न नसकेको भनेर क्यानका पदाधिकारी हाँस्यास्पद तर्क दिन्छन्,' पारसले आक्रोस पोखे, 'उनीहरु प्रशिक्षकलाई अपमान गरेर निकाल्ने प्रयास गरिरहेका छन्। नेपाली क्रिकेटमा यत्रो योगदान दिएका प्रशिक्षकलाई यतिसम्म गर्नु भनेकै उहाँको अपमान नै हो। घुमाउरो पाराले क्यानले प्रशिक्षकलाई निकाल्न खोजिरहेको छ।'
दासानायकेको प्रशिक्षणमा नेपालले डेढ महिना अघि बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेको थियो, जुन नेपाली खेलकुदकै अहिलेसम्मको ठुलो उपलब्धि थियो। त्यहाँबाट फर्किएको १५ दिन नबित्दै खेलाडीहरुले (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए । उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शीताको पनि आवाज उठाएका थिए । त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ ।
त्यसयता क्यानले खेलाडी तथा प्रशिक्षकलाई बेवास्ता गरेको आरोप पारसले लगाए। मलेसिया उड्नु अघि उनले भने, 'खेलाडीले सिस्टमको आवाज उठाए यता क्यानले हामीलाई कुनै मतलब गरेको छैन्। तयारी पनि आफैँ गरिरहेका छौं। उनीहरुले एयरपोर्टमा खेलाडीलाई व्यवस्थापन गर्न पनि छाडेका छन् ।'
दासानायकेले ३ महिनाको मात्र अनुबन्धन दिनुको बारेमा आफूलाई कारण थाहा नभएको बताए। 'अहिले नेपाली क्रिकेटमा विभिन्न विषयहरु उठिरहेका छन्। उनीहरुले अख्तियारको अनुसन्धान भइरहेकाले कोही पनि सम्झौतामा हस्ताक्षर गर्न तयार नभएको बताएका छन्,' दासानायकेले भने, 'राष्ट्रिय टोलीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गर्नु र क्यानविरुद्धमा बोल्नुमा मेरो कुनै हात छैन, मलाई क्यानका कुनै पदाधिकारीले आएर मलाई खेलाडीलाई उचालिस भनेका पनि छैनन् र मलाई यस विषयमा केही पनि थाहा छैनन् ।'
खेलाडीहरु अहिले 'लिडर' भइसकेकाले उनीहरुलाई केही भन्नु जरुरी नभएको दासानायकेले बताए । 'पारसमात्र होइन नेपाली टोलीमा अहिले ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकरहरु धेरै बुझने भइसकेका छन्, मेरो कुनै शैली मन नपरेमा उनीहरु स्पष्ट आएर भन्छन, हालका दिनमा नेपाली क्रिकेटमा सफलता पाउनु यो पनि एक कारण हो ।'
खेलाडीको विद्राहपछि क्रिकेट विकासका लागि 'योजना तथा अनुगमन समिति बनाएर' कार्यान्वयन गर्ने सहमतिसँगै क्यान विघटनसहितको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीको आन्दोलन सकिएको थियो। समितिमा परिषद सदस्य सचिव युवराज लामा, दासानायके, कप्तान पारस पनि रहेका थिए। दासानायके समितिमा बसेको भनेर क्यानले भित्री रुपमा उनीसँग त्यसको बदला लिइरहेको मान्नेहरु धेरै छन्।