काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। जिल्ला तथा क्षेत्रका प्रतिनिधिहरूले आङबुहाङको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्तावमा २७ जिल्ला र ९ क्षेत्रका १८ मध्ये १५ प्रतिनिधिको हस्ताक्षर रहेको छ। सोमबार दिउँसो मध्यबानेश्वरस्थित क्यान कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको क्यान उपाध्यक्ष चतुरबहादुर चन्दले बताए। उनका अनुसार यसको बोधार्थ मंगलबार राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा दिइने छ।
साधारणसभामा क्यानमातहातका ३६ जिल्ला, ९ क्षेत्रका १८ प्रतिनिधि, केन्द्रीय समितिका ३१ तथा प्रशिक्षक र अम्पायरबाट १–१ गरी ८७ प्रतिनिधिले भाग लिने प्रावधान रहेको र त्यसअनुसार साधारणसभा बोलाउन २२ प्रतिनिधिको हस्ताक्षर भए पुग्ने चन्दले जनाए। दर्ता गरिएको अविश्वासको प्रस्ताव १७ पृष्ठको छ।
अध्यक्षलाई अविश्वासको प्रस्ताव लागेमा क्यानका वरिष्ठ उपाध्यक्षले विशेष साधारणसभा डाकेर त्यसलाई टुंगो लगाउनुपर्ने प्रावधान छ। वरिष्ठ उपाध्यक्ष तारिणीविक्रम शाह अविश्वासको प्रस्ताव दर्ता समूहतर्फका निकट मानिन्छन्। अविश्वासको प्रस्तावमा समर्थन जनाउने केन्द्रीय समितिका प्रतिनिधिको नाम आउन बाँकी छ। वरिष्ठ उपाध्यक्ष शाह सोही समूहको अगुवामध्ये एक हुन्।
चन्दले अविश्वासको प्रस्तावमा केन्द्रका २० प्रतिनिधि थपिने सम्भावना बलियो रहेको बताए। ‘हामीलाई केन्द्रको १८ प्रतिनिधिको समर्थन छ र त्यसमा हस्ताक्षर पनि भइसकेको छ, थप दुई थपिने सम्भावना छ,' चन्दले भने, ‘थप ८ जिल्ला र २ क्षेत्रीय प्रतिनिधिले हामीलाई समर्थन गर्ने संकेत दिएका छन्।'
उनले अध्यक्षको अविश्वास प्रस्तावमा आफ्नो समूहले ८० प्रतिशत समर्थन पाउने आशा राखेको बताए। साधारणसभामा उपस्थितमध्ये दुईतिहाइको समर्थन पाए चन्द समूहले आङबुहाङलाई हटाउन सक्ने वैधानिक प्रावधान छ। साधारणसभा बोलाउनुअघि नै अध्यक्ष आङबुहाङले राजीनामा दिएर क्रिकेटलाई निकास दिनुपर्ने अडानलाई चन्दले दोहोर्याए। उनले भने, ‘उहाँले राजीनामा दिएर क्रिकेटलाई निकास दिनुपर्छ। त्यसले नै अध्यक्षज्यूको भलाई हुनेछ।'
उपाध्यक्ष चन्दले अध्यक्ष पदबाट राजीनामा दिएर आङबुहाङलाई राजनीतिक जीवन बचाउन पनि सुझाए। एनेकपा माओवादीका केन्द्रीय सदस्य आङबुहाङ आइतबारमात्र पोलिट ब्युरो सदस्य भएका थिए।
अध्यक्ष आङबुहाङले अविश्वास प्रस्ताव दर्ताबारे आफूलाई जानकारी नभएको बताए। ‘म अहिले पार्टी पदाधिकारी चयनमा व्यस्त छु। मलाई अविश्वास प्रस्तावबारे आधिकारिक केही थाहा छैन। त्यसैले औपचारिक रूपमा केही नआई मैले बोल्न मिल्दैन,' आङबुहाङले नागरिकसँग भने। आङबुहाङ निकट मानिने क्यान उपाध्यक्ष केशव घिमिरेले बिनासल्लाह दर्ता गरिएको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको बताए।
पोखरामा साउन ३१ मा सम्पन्न क्यानको पछिल्ला साधारण सभापछि आङबुहाङ र क्यानमा रहेको माओवादी समूहको अन्य पदाधिकारीसँग विवाद देखिँदै आएको थियो। त्यसमा यसै साता धनगढीमा सम्पन्न एनसेल एनपिएलका सम्बन्धमा अध्यक्षले एकलौटी निर्णय गरेको भनेपछि आङबुहाङ र चन्द समूहबीचको विवाद बाहिर आएको थियो।
क्यानका बहुमत सदस्यको प्रस्ताव अस्वीकार गर्दै आङबुहाङ एनसेल एनपिएल क्रिकेटको उद्घाटन गर्न धनगढी पुगेका थिए। प्रतियोगिता सुरु हुने अघिल्लो दिन एनपिएलका लागि क्यानले बनाएको गभर्निङ काउन्सिलका संयोजक दीपक कोइरालाबाहेक अन्य ६ सदस्यले राजीनामा दिएका थिए।