काठमाडौं– नेपाली क्रिकेटको विवाद मौलाउँदै गर्दा नेसनल क्रिकेट एकेडेमी (एनसिए) का युथ खेलाडीहरू पनि प्रभावित भएका छन्। क्रिकेटको आन्तरिक समस्या उत्कर्षमा पुग्दा शनिबार एनसिएका युथले ढिलो गरी प्रशिक्षण गर्न पाए।
नेपाल क्रिकेट संघमातहतका एनसिएका खेलाडी अभ्यास गर्न कीर्तिपुरस्थित त्रिवि मैदान पुग्दा मुलगेटमा मात्र नभई भित्र मैदान घेरिएको भागमा पनि ताला लगाइएको थियो। तीन महिनादेखि तलब नपाएको भनेर मैदान कर्मचारी हडतालमा छन्। उनीहरूले दुई सातादेखि मैदानको मुल गेटमै ताला लगाएका छन्।
हरेक शनिबार र बिदाका दिन एनसिएले नयाँलाई कीर्तिपुर मैदानमा प्रशिक्षण दिने गरेको छ। अघिल्लो साता मुल गेटमै ताला लगाएपछि एनसिएका खेलाडी भत्केको पर्खालबाट छिरेर अभ्यास गरेका थिए। शनिबार मैदानभित्र पनि ताला लगाएइपछि झन्डै ३ सय खेलाडीले समयमै अभ्यास गर्न नपाएको एनसिएका प्रशिक्षक विनोद दासले बताए।
‘मैदानका कर्मचारीले विकास प्रमुख एवं क्रिकेट संघका उपाध्यक्ष केशव घिमिरेले ताला लगाउन निर्देशन दिएकाले सोही निर्देशन मानेका हुन्,' क्यान सदस्य सञ्जिव पाण्डेले भने, ‘क्रिकेटका उच्च पदाधिकारीले क्रिकेट विकासका निम्ति मुल गेटमै ताल्चा लगाउनुभएको रहेछ।'
क्यान उपाध्यक्ष घिमिरे आफूलाई बदनाम गर्न लागिपरेकाले त्यहीअनुसार चलखेल भएको बताउँछन्। उनले भने, ‘एनसिए र राष्ट्रिय खेलाडी अभ्यास गर्न आएमा जुनसुकै बेला पनि छाडिदिन भनेको थिएँ, मैदानका कर्मचारीले उल्टो बुझेको हुनुपर्छ र त्यसमा मलाई बदनाम गर्न उल्टो अर्थ लगाएका रहेछन्।'
जोहरा स्पोर्टस म्यानेजमेन्टले गर्न लागेको एनसेल एनपिएलको ट्वान्टी–२० प्रतियोगिता कुनै प्रक्रिया नपुर्याएकाले आयोजना गर्न नदिने अडान लिएका कारण त्यसका पक्षधरहरू आफ्नो पछाडि लागेको घिमिर किटान गर्छन्।
झन्डै १ घन्टापछि मात्र प्रशिक्षण लिन आएका खेलाडी मैदानभित्र जान पाएको दासले बताए। ३ सय हाराहारीमा खेलाडीले प्रशिक्षण लिइरहेका छन्। ‘आजलाई छाडिदेऊ' भनेर मैदानका कर्मचारीलाई आदेश दिएपछि एनसिएका खेलाडीले प्रशिक्षण गर्न पाएको उनले बताए।
‘क्यानको आफ्नै कार्यक्रममा यस्तो विजोग छ,' राष्ट्रिय टोलीका पूर्वकप्तान दासले भने, ‘अर्को सातादेखि हामी एनसिएले मैदानको सुविधा पाउने हो कि होइन भनेर सुरुमै सोध्छौं। त्यसपछि मात्र के गर्ने भनेर निर्णय गर्छौं। मैदान नदिने हो भने यो कार्यक्रम नै बन्द गरिदिए हुन्छ। आज अभिभावकहरू आफ्नो बच्चाको बेहाल देखेर निकै निराश भए।'
सिक्न आएका बच्चालाई गरिएको व्यवहार देखेर अभिभावकहरू आश्चर्यमा परेका थिए। भोटे ताल्चाले बाँधिएको कीर्तिपुर मैदानलाई देखाउँदै एक अभिभावकले भने, ‘नेपाली क्रिकेट बन्धक बनाइएको रहेछ।'
नेपालका प्रशिक्षक पुबुदु दासानायकेको योजनामा डेढ वर्षअघि एनसिए सञ्चालनमा आएको थियो। दसैंदेखि एनसिएले विद्यार्थीलक्षित गरेर प्रशिक्षण दिँदै आएको छ। दाससहित पूर्वराष्ट्रिय खेलाडीहरू दीपेन्द्र चौधरी, कलाम अली, राजु बस्न्यातलगायत प्रशिक्षक छन्। शुक्रबार मात्र एनसिएले एसएलसी दिएर बसेकालाई दिएको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो, त्यसमा ८४ विद्यार्थी सहभागी थिए।