काठमाडौं- विमल घर्तीमगर मैदानमा ओर्लन जुत्ताको तुना कस्दै थिए।
सातदोबाटोको फुटबल मैदानमा 'एएफसी यु–१७ च्याम्पियनसिप'का लागि नेपाली टोलीको तयारी हुँदै थियो। बन्द प्रशिक्षण शिविरमा रहेका विमल त्यसैका निम्ति व्यस्त थिए, केही दिनदेखि।
सातदोबाटोको फुटबल मैदानमा 'एएफसी यु–१७ च्याम्पियनसिप'का लागि नेपाली टोलीको तयारी हुँदै थियो। बन्द प्रशिक्षण शिविरमा रहेका विमल त्यसैका निम्ति व्यस्त थिए, केही दिनदेखि।
अचानक मोबाइलको घन्टी बज्यो।
त्यो क्षण अरूको फोन भइदिएको भए उनी सहजै लाइन काटिदिन्थे। तर, फोन गरेका थिए विमलका एजेन्ट रेने कोस्टरले।
उनले हत्तपत्त फोन उठाए। र, त्यहीँबाट यो सुखद खबर पाए– बेल्जियन क्लब एन्डरलेकको एकेडेमीमा एक वर्षका लागि उनलाई व्यावसायिक अनुबन्धन गरियो।
नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल कुनै पनि युरोपेली टोलीमा अनुबन्धन पाउने नेपालकै पहिलो फुटबलर हुन्। यतिमात्र होइन, च्याम्पियन्स लिग खेल्ने क्लबमा मौका पाउने सम्भवतः दक्षिण एसियाकै पहिलो फुटबलर।
आँखामा छचल्किएका खुसीका आँसु सम्हाल्दै उनले सबभन्दा पहिला नवलपरासीमा रहेकी आमा धनमायालाई खबर गरे। आमाको पनि खुसीको बाँध फुट्यो। छोराको सफलता निम्ति उनले टेलिफोनबाटै बधाइ दिइन्। त्यसपछि त के, मोबाइलको घन्टी थामिँदै थामिएन। एकपछि अर्को बधाइ दिनेको लर्को।
एन्डरलेकमा अनुबन्धन पाएको त्यो घडी विमललाई बधाई दिनेहरू हजार थिए, तर विमलको सम्झनामा आफ्नो बाबु मात्र थियो। उनै बाबु, जसको प्रेरणाले विमल फुटबल मैदानमा हाम्फाले। पाँच वर्षअघि नै निधन भएका विमलका बुवा होमबहादुरले सधैं भन्थे रे, 'तँलाई फुटबल खेलाडी बनाउने मन छ, तँ खेल, मलाई अरू केही चाहिँदैन, तँ राष्ट्रिय टोलीबाट खेलेको म हेर्न चाहन्छु।'
नवलपरासी भुताहाका होमबहादुरले परिवारको अवरोधका बाबजुद सानै छोरालाई बुट लगाइदिएर फुटबल बोकाउँथे। छोरा नेपालको राष्ट्रिय खेलाडी भएको हेर्ने उनको सपना थियो, जुन विमलले गत वर्ष नै पूरा गरे। यसपालि त्योभन्दा ठूलो च्याम्पियन्स लिगको क्लबमा अनुबन्ध हुने सफलता हासिल गरेका छन्, जुन सायद उनका बाबुले पनि कल्पना गरेका थिएनन्।
'आज मैले बुबालाई सबभन्दा बढी मिस गरेँ। अहिले बुबा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला! आफ्नो सपना पूरा भएको देखेर पूरा गाउँमा लड्डु बाँड्हुन्थ्यो होला,' खुसीमा भावविभोर विमलले नागरिकसँग भने, 'बुबा गाउँको राम्रो खेलाडी हुनुहुन्थ्यो। उहाँलाई फुटबल अत्यन्तै मन पर्थ्यो। त्यसैले मबाट उहाँले ठूलो सपना पाल्नुभएको थियो।'
दुई महिना एन्डरलेकमा विशेष प्रशिक्षण तथा थुप्रै अभ्यास खेल खेलेर गत साता नेपाल फर्किएका विमललाई आइतबार क्लबले एकेडेमीमा अनुबन्ध गर्ने निर्णय गरेको हो। अनुबन्धबारे एजेन्ट कोस्टरले जानकारी गराए पनि पारिश्रमिक र अन्य सुविधाबारे भने विस्तृतमा कुराकानी भइनसकेको विमलले बताए।
'अहिले पारिश्रमिकभन्दा युरोपमा खेल्ने मौका ठूलो हो। त्यसैले म अनुबन्धन पाएकोमै खुसी छु,' उनले भने, 'युरोपको क्लबले पारिश्रमिक र सुविधा पक्कै राम्रै देला।'
विमललाई गत भदौमा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिप दौरान बंगलादेशका तत्कालीन सहायक प्रशिक्षक डच नागरिक कोस्टरले पहिचान गरी एन्डरलेकमा प्रशिक्षण तथा ट्रायलको अवसर मिलाइदिएका थिए। एन्डरलेकअघि विमल कोस्टरकै पहलमा नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रायल दिएर फर्केका थिए।
'मैले त्यहाँ दुईमहिने अभ्यासमा राम्रो गरेको थिएँ,' उनले भने, 'मेरो प्रदर्शनबाट क्लबका प्रशिक्षक र पदाधिकारी सबै खुसी थिए। मलाई नेपाल फर्कने बेला पनि उनीहरूले स्थायी सम्झौता गर्ने संकेत गरेका थिए।'
एन्डरलेकको युवा एकेडेमीअन्तर्गत यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रायल क्रममा युरोपकै प्रतिष्ठित फ्युचर कपमा टर्किस टोली फेनेरबाचविरुद्ध एक गोल गरेका थिए। अर्को गोललाई अवसर मिलाएर एन्डरलेकको सेमिफाइनल यात्रामा आधार बनाएका थिए। युरोपका ठूला क्लबले भविष्यको टोली तयार गर्ने र युवा खेलाडीलाई 'एक्सपोजर' दिने उद्देश्यले गर्ने प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, लिभरपुल, एसी मिलान, रियाल मड्रिड, बायर्न म्युनिख, बार्सिलोना लगायत सबै महारथीको सहभागिता रहन्छ।
विमलले आफ्नो बायाँ खुट्टाको कला र सुटिङबाट क्लब प्रभावित भएको बताए। 'मेरो शारीरिक बनावट पनि क्लबका पदाधिकारी र प्रशिक्षकले मन पराए,' ५ फिट ११ इन्च उचाइका १७ वर्षीय विमलले भने।
जुलाई २० मा बेल्जियम जाने योजनामा रहेका विमलले एन्डरलेकसँगको सम्बन्धले नेपाली फुटबललाई अवसरको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। 'च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्न पाए धेरै अनुभव हुन्छ र धेरै सिक्न पाइन्छ,' उनले भने, 'यसले नेपाली खेलाडीमा पनि क्षमता छ भन्ने प्रमाणित गर्छ। अरू धेरै खेलाडीका लागि अवसरको ढोका खोल्छ।'
कोस्टरप्रति अनुग्रहित नेपाली यु–१६ राष्ट्रिय टोलीका कप्तानले अगाडि भने, 'उहाँले मेरो करिअरलाई नयाँ उचाइ दिन ठूलो योगदान गर्नुभएको छ। म उहाँप्रति आभार प्रकट गर्छु। यो अवसरमा म मेरो परिवार, एन्फा एकेडेमी, यहाँका प्रशिक्षक, मेरो राष्ट्रिय टिमका दाइ, यु–१६ टोलीका साथी, एन्फा र सम्पूर्ण समर्थकलाई धन्यवाद दिन्छु। एन्डरलेकमा गएर म अझै राम्रो गर्ने प्रयास गर्नेछु। ममाथि क्लब, प्रशिक्षक र समर्थकले गरेको विश्वास खेर जान दिन्नँ।'
उमेर समूहको फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका विमलले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका हुन्। गत वर्ष काठमाडौंमा भएको आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर इन्जुरी समयमा उनले बराबरी गोल गरेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो। गत वर्ष नै घरेलु मैदानमा आयोजित साफ यु–१६ च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्याउन कप्तान विमलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भुटानविरुद्ध ह्याटि्रक गर्दै प्रतियोगितामा कुल ६ गोल गरेका थिए।
यु–१६ साफ च्याम्पियनसिपको प्रदर्शनपछि चर्चामा आएका विमलले एएफसी यु–१६ च्याम्पियनसिप छनोटमा उच्च प्रदर्शन गरेका थिए। तुर्कमिनिस्तानविरुद्ध ह्याटि्रक गरेका उनकै कप्तानीमा नेपालले फाइनल चरणको यात्रा गरेको थियो।
विमल यसै साता नेपाल खेलकुद पत्रकार मञ्चद्वारा पल्सर स्पोटर््स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका थिए।