काठमाडौं– युवा तथा खेलकुदमन्त्री पौडेलले क्रिकेट संघलाई अगाडी बढाउने जिम्मा मन्त्रालयको काँधमा आएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्याल, उपाध्यक्षहरू चतुरबहादुर चन्द र विनोद मैनाली र अन्य पदाधिकारीसमेतलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली क्रिकेटको सर्वोच्च संस्थाबारे अन्योल छ।
‘क्यानका पदाधिकारीहरू अहिले अख्तियारको कठघारामा उभिएका छन्, यसले क्रिकेट विकासमा चुनौती थपिएको छ,' विश्वकप ट्वान्टी २० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीको सम्मानमा राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने।
नयाँ नेतृत्व विकास गर्ने जिम्मेवारी मन्त्रालयको काँधमा आएको उल्लेख गर्दै उनले यसलाई चुनौती र अवसरका रूपमा व्याख्या गरे। 'यस्तो अवस्थामा मिलेर अगाडी बढन जरुरी छ। मन्त्रालय गम्भीर रूपमा अगाडी बढ्न दृढछ,' उनले भने। नेपाली क्रिकेट चुनौतीपूर्ण अवस्थामा रहेकाले यसबाट सबैले सिक्नु पर्ने उनको सुझाव थियो।
कार्यक्रममा कप्तान पारसले नेपाली क्रिकेटको व्यवस्थापन राम्रो भए फड्को मारिदिने बताए। ‘राम्रो व्यवस्थापन आउने हो भने अझ राम्रो गर्न सकिन्छ। नयाँ व्यवस्थापन चाँडै आउने अनुमान गरेका छौं,' उनले भने।