काठमाडौं– सर्वोच्च अदालतको मानहानि हुनेगरी आफूलाई पत्र लेखेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध अपहेलना मुद्दा दायर गर्ने भएका छन्।
मन्त्री पौडेलले सोमबार सदस्यसचिवको हैसियतले राखेपमा उपस्थित भई काम नगर्न, नगराउन लामालाई पत्र पठाएका थिए। 'मन्त्रीले सर्वोच्च अदालतको अन्तिम निर्णय आउनुअघि गैरकानुनी मात्र नभई अदालतको मानहानि हुने प्रकृतिको पत्र पठाउनुभएको छ,' राखेपमा बुधबार पत्रकार सम्मेलन गर्दै लामाले भने, 'त्यसैले हामी ६ जना भोलि (बिहीबार) मन्त्री, युवा तथा खेलकुद मन्त्रालयविरुद्ध अवहेलना मुद्दा दर्ता गर्दैछौं।'
सर्वोच्चले जेठ १९ गते सदस्यसचिव लामा र अन्य ५ जनालाई हटाउने खेलकुद मन्त्रालयको निर्णय जेठ २६ गतेसम्म कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन आदेश जारी गरेको थियो। २६ गते कुनै छलफल नभएपछि सर्वोच्चले असार १ गतेका लागि अर्को पेसी तोकेको थियो। तर, मन्त्रीले त्यसैदिन लामालाई पत्र काटेका हुन्।
'मन्त्रीले देशको कानुन, राखेपको ऐन मान्नुहुन्न भन्ने पहिला नै प्रमाणित भइसकेको छ,' लामाले भने, 'मन्त्रीले पत्र लेख्ने नैतिक धरातल गुमाइसक्नुभएको छ।'
खेलकुद मन्त्रालयले जेठ २ गते लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङसहित ६ सदस्यलाई कार्यकाल सकिएको भन्दै पदमुक्त गरेको थियो। लामालगायतले दुई दिनपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
२६ गते हुने आदेशबाट टुंगो लाग्ने भनिए पनि त्यसदिन अर्को आदेश नभएको उल्लेख गर्दै मन्त्री पौडेलले लामालाई काम नगर्न पत्र काटेका थिए। मुद्दाको अन्तिम निर्णय नहुँदासम्म पुरानै आदेशको निरन्तरता हुने जनाउँदै लामाले भने, 'मन्त्रीज्यूले ४–५ दिनको धैर्यता पनि देखाउन सक्नुभएन। यसबीचमा के नै निर्णय हुन्थ्यो र! तर उहाँले पत्र लेखेर हामीलाई नै सजिलो र बलियो बनाइदिनुभएको छ।'
मन्त्रीले राखेपलाई शून्यको अवस्थामा राख्न खोजेको लामाको आरोप थियो। 'मन्त्रीज्यूले अहिलेसम्म पठाएका चारवटै पत्र गैरकानुनी, व्यक्तिगत र दुनियाँ हँसाउने खालका छन्,' उनले भने, 'प्रचलित नियमअनुसार राजीनामा दिँदा त अर्को व्यवस्था नभएसम्म काम गर्न भनिन्छ।'
मन्त्री र आफूबीच विश्वासको संकट पर्दै गएको लामाको भनाइ थियो। 'सहकार्यमा समस्या भएको छ। एकजनासँग तीन वर्षको अनुभव छ। अर्कोसँग तीन महिनाको अनुभव छ,' लामाले भने, 'पहिला विश्वासका आधारमा काम गर्दै बोर्डबाट निर्णय अनुमोदन गराउँथ्यौं। अब बोर्ड बैठकको निर्णयपछि मात्र काम अघि बढ्छ।'
लामाले केही दिनमा खेलकुदको वातावरण परिवर्तन हुने संकेत गरे पनि प्रस्ट पार्न चाहेनन्।