काठमाडौं-अबका ३३ दिन संसारका ३२ देशका राष्ट्रिय फुटबल टोली मैदानमा हुनेछन्। र, सिंगो विश्व नजर उत्साहसाथ त्यहीँ अल्झिरहने छ। फुटबल दुनियाँको एक महारथी देश ब्राजिलमा नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे 'विश्वकप फुटबल २०१४' सुरु भएको छ, ब्राजिलविरुद्ध क्रोएसियाको पहिलो खेलसँगै। असार ३० सम्म चल्ने विश्व फुटबलको यो २० औं संस्करणमा नेपाल भौतिक रूपले सहभागी नभए पनि मानसिक रूपले यसको रौनकबाट कत्ति टाढा रहनेछैन।
कुनै बेला रेडियो 'कमेन्ट्री' सुनेका भरमा विश्वविख्यात फुटबल खेलाडीहरूको नाम चिनेका धेरै नेपालीले सन् १९८० दशकदेखि टेलिभिजनको सिधा प्रसारणबाट खेलको प्रत्यक्ष स्वाद लिन पाए। २०१४ सम्म आइपुग्दा फुटबल 'क्रेज' कतिसम्म बढ्यो भने, विश्वकपको पूर्वसन्ध्यामा फुटबल जर्सी राजधानीको 'हट' फेसन बन्न पुग्यो।
आ–आफ्नो रुचिअनुसारका टिमको समर्थनमा रंगीविरंगी जर्सी लगाएर हिँड्ने फुटबलप्रेमीको संख्या सहरबजारमा उल्लेख्य भेटिन्छ। यस्तो प्रतीत हुन्छ, मानौं सिंगो राजधानीको सडक फुटबल मैदानमा परिणत भएको छ, अनि मैदानमा ओर्लन तम्तयार प्रतिस्पर्धी ३२ देशकै खेलाडी यहीँ घुमिरहेका छन्।
अझ बढी देखिन्छ, जर्सीमा खिचेको फोटो सामाजिक सञ्जालमा राख्ने होड।
लामो समयदेखि जर्सी कारोबार गर्दै आएका आरजे स्पोर्टस्का सञ्चालक जनक न्यौपानेका अनुसार यसपालि एक महिना अवधिमा नेपालमा विभिन्न देशका दुई लाखभन्दा बढी फुटबल जर्सी बिक्री भएको छ। चार वर्षअघिको तुलनामा यो झन्डै चार गुणा बढी हो। सन् २०१० मा विश्वकप हुँदा ५० हजारजति जर्सी बिक्री भएको उनी अनुमान गर्छन्। उनी आफूले मात्र यसपालि १० हजारभन्दा बढी बेचिसकेका छन्। चार महिनाअघि नेपाल सहभागी ट्वान्टी–२० विश्व क्रिकेटको दाँजोमा धेरै गुणा जर्सी माग भइरहेको उनी बताउँछन्।
न्यौपानेको तथ्यांक मान्ने हो भने विश्वकपको पूर्वसन्ध्यासम्म १५ करोड रुपैयाँभन्दा बढीको जर्सी कारोबार भइसकेको छ। सामान्यतया नेपालमा ४ सयदेखि १ हजार ८ सय रुपैयाँसम्मका जर्सी किनबेच भइरहेको उनी बताउँछन्। ती प्रायः चीन र थाइल्यान्डबाट आयात गरिएका हुन्।
केही दिनयता आरजे स्पोर्टस्मा दिनभरिजसो देखिने ग्राहकको खचाखच भिडले फुटबल क्रेज र जर्सीमोह पुष्टि गर्छ। न्यौपाने र उनका कर्मचारीलाई ग्राहकको साइज र रुचिअनुसार जर्सी देखाउन भ्याइनभ्याई छ।
'फुटबल हाम्रो रगतमा छ, हामीले क्रिकेट हेर्न र खेल्न भर्खर–भर्खरै सिकेका हौं, जब कि फुटबल हेर्न र खेल्न थालेकै बिसौं वर्ष भइसक्यो,' ग्राहकको भिडमा हराएका न्यौपानेले कारोबारको चटारोबीच बिहीबार राति ८ बजे नागरिकसँग भने।
उनका अनुसार अघिल्लो विश्वकपसम्म जर्सी किन्ने र लगाउने पुरुष मात्र हुन्थे। यसपालि महिला र बालबालिका पनि उत्तिकै छन्। पूरै परिवारले एउटै टिमको किन्ने चलन बढेको न्यौपाने बताउँछन्। 'पहिले महिलाको जर्सी मुस्किलले २०–२५ थान बेचिन्थ्यो, बच्चाको त एउटै ल्याउँदैनथ्यौं,' उनले भने, 'यसपालि महिला र बच्चाको हजारभन्दा बढी जर्सी हामीले मात्र बेचिसक्यौं।'
जर्सी कारोबार ह्वात्तै बढ्नुमा फुटबल क्रेज मात्र जिम्मेवार छैन। सबभन्दा ठूलो भूमिका खेलेको छ, सामाजिक सञ्जालले। 'आधाभन्दा बढीले त फेसबुकमा फोटो हाल्न मात्र जर्सी किनेका छन्,' उनले आँकलन गरे।
न्यौपानेले यसो भन्दाभन्दै तीनजना युवा पसलमा छिरे। दुईजनाले ब्राजिलको जर्सी रोजे, अर्कोले अर्जेन्टिना। जर्सी लगाएर पालैपालो ऐना हेरे। अनि भने, 'बल्ल मजा आयो।'
त्यसैमध्येका एकले आफ्नो मोबाइलबाट सबैको फोटो खिचे। र, तुरुन्तै फेसबुकमा अपलोड गरिहाले।
'साथीभाइले जर्सी लगाएको फोटो फेसबुकमा पोस्ट गरेर हैरान पारिसके,' उनले भने, 'अब म पनि फेसबुक मैदान कब्जा गर्छु।'
ब्राजिलको साउ पाउलोमा सुरु विश्वकप मेलामा ब्राजिल र क्रोएसियाबीचको उद्घाटन खेलअघि २५ मिनेटको आकर्षक उद्घाटन समारोह भएको थियो। जसमा संसारकै लोकप्रिय पप स्टार जेनिफर लोपेज, ब्राजिलियन र्याउपर पिट बुल र ब्राजिलियन गायिका क्लाउडिया लेइटेले विश्वकप २०१४ को आधिकारिक गीत 'वी आर वान' गाएका थिए।
उद्घाटनमा जिम्न्यास्ट, मार्सल आर्टिस्ट लगायत ६ सयजनाले प्रदर्शन गरेका थिए।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका २ सय ८ सदस्य राष्ट्रमध्ये ६ महादेशका २ सय ३ देश सहभागी छनोट चरणबाट छानिएका उत्कृष्ट ३२ टोली उपाधिका लागि ब्राजिलमा प्रतिस्पर्धा गर्दैछन्।
१९७२ मा फिफाको औपचारिक सदस्यता लिएको नेपालले पनि जारी विश्वकप छनोटमा भाग लिएको थियो। १९८६ यताका ८ संस्करणमध्ये १९९४ र २००६ बाहेक सबै विश्वकपको छनोटमा सहभागी नेपाल यसपालि पहिलोपटक दोस्रो चरण पुगेको थियो।
अघिल्ला संस्करणहरूमा सधैं पहिलो चरणबाट बिदा हुने गरेको नेपालले यसपालि टिमोर लिस्टेमाथि दुई लेगको खेलमा ७–१ को समग्र अन्तरमा जित हासिल गरेको थियो। दोस्रो चरणमा जोर्डनसँग समग्रमा १०–१ ले नतिजा सुम्पिएपछि नेपाली टोलीको विश्वकप यात्रा चार वर्षलाई थन्किएको छ।
फुटबल विज्ञ सञ्जीव मिश्रका अनुसार नेपाल सहभागी नभए पनि विश्वकप सम्पूर्ण विश्वको साझा प्रतियोगिता हो। 'आफैं खेलेको भए अझ क्रेज थेगिनसक्नु हुन्थ्यो। तर पनि फुटबलको विश्वकप भनेको पूरा विश्वको चासोको महोत्सव हो। कुनै पनि खेलप्रेमी यसबाट भावनात्मक रूपमा टाढिन सक्दैन,' उनले भने, 'यसबाट पूरा विश्वले खेलका नयाँ शैली, रणनीति, फुटबल व्यवस्थापन लगायत कुरा सिक्न सक्छ।'
ब्राजिल भर्सेज अर्जेन्टिना
धेरै नेपालीले सन् १९८० दशकदेखि विश्वकप फुटबल हेर्न थालेका हुन्। त्यसमा पनि धेरैले पहिलोचोटि हेरेको विश्वकप सन् १९८६ को हो, जुन वर्ष अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो। त्यसको चार वर्षपछि १९९० मा आएर नेपाल टेलिभिजनले नै विश्वकपका केही खेलको प्रत्यक्ष प्रसारण गर्योो। आजको युवा पुस्ताको ठूलो हिस्साले पहिलोचोटि विश्वकप खेलको सिधा प्रसारण हेरेको त्यही वर्ष हो।
नेपालीको फुटबल क्रेज त्यही इतिहाससँग जोडिएको छ।
जतिबेला नेपालमा सर्वसाधारणले टेलिभिजनसम्म पहुँच पाए, विश्व फुटबल मञ्चमा ब्राजिल र अर्जेन्टिनाको दबदबा थियो। अर्जेन्टिनाका म्याराडोनाले आफ्नो 'ड्रिब्लिङ' कौशल र सही ठाउँमा सही ढंगले पास दिने कलाका कारण फुटबलका 'जादुगर'को उपमा पाएका थिए। उनको यही कौशलले अर्जेन्टिनालाई १९८६ को उपाधि दिलाएको थियो। त्यही वर्ष म्याराडोनाले हातले गोल गरेको क्षण आज पनि चर्चाको विषय बन्छ। उता ब्राजिलका पेलेलाई त संसारले नै फुटबलका 'भगवान'को दर्जा दिइरहेकै छ।
'नेपालमा ब्राजिल र अर्जेन्टिनाका समर्थक बढी हुनुको कारण यही हो,' फुटबलविज्ञ मिश्रले भने, 'धेरै नेपालीले अन्तर्राष्ट्रिय फुटबल स्टार चिन्न थालेकै पेले र म्याराडोनाबाट हो। त्यही भएर हामीमध्ये धेरैको ध्यान यी दुई राष्ट्रमै टिकेको हुन्छ।'
सन् १९८६ को नतिजा सुनेर वा देखेर अर्जेन्टिनाबाट प्रभावित बनेका नेपाली खेलप्रेमीका लागि १९९० को नतिजाले भने नराम्रो झट्का दियो। त्यो वर्ष पहिलो खेलमै क्यामरुनसँग पराजित अर्जेन्टिनाले फाइनलमा पुगेर फेरि जर्मनीबाट हार खानुपर्योह।
यसले एकाएक ब्राजिल र अर्जेन्टिना सँगसँगै जर्मनीको मोह ह्वात्तै बढ्यो। यी तीन टिमप्रतिको मोहले आजसम्म निरन्तरता पाउँदै आएको छ।
न्यौपानेका अनुसार यसपालि सिजनमा सबभन्दा बढी बिकेको जर्सी अर्जेन्टिनाको हो। त्यसपछि दोस्रो नम्बर ब्राजिलको छ। नेपाली समर्थकबीच यसपालि पनि जर्मनी तेस्रोमा छ। इङल्यान्ड र इटालीका समर्थक पनि उल्लेख्य संख्यामा छन्। बढी जर्सी बिक्ने चौथो देश इङल्यान्ड नै हो। इटालीको भने खासै नबिकेको न्यौपानेले बताए।
'इटालियन टोलीमा यसपालि कुनै सुपरस्टार खेलाडी नभएर होला जर्सी खासै बिकेको छैन,' सुपरस्टार तथा स्टाइलिस खेलाडी भएको देशलाई नेपाली समर्थकले पछ्याउने गरेको अनुभव सुनाउँदै उनले भने, 'इङल्यान्डको माग उच्च भए पनि उनीहरूले धेरै ढिलोगरी नयाँ जर्सीको मोडल सार्वजनिक गरे, नेपाल आइपुग्न समय लाग्यो।'
विश्वकप हेरेरमात्र टिम छान्ने चलन पनि फेरिएको छ। खेलाडी विशेषका कारण टिम छान्नेहरू बढेका छन्। अहिले नेपालमा युरोपका घरेलु लिग लोकप्रिय छन्। नेपालीले बढी पछ्याउने इङलिस प्रिमियर लिग, स्पेनिस ला लिगा र जर्मन बुन्डेसलिगा हुन्। क्रिस्टियानो रोनाल्डोका कारण पोर्चुगल र डिडियर ड्रोग्बाका कारण आइभोरी कोस्टलाई मन पराउने समर्थक बढेको मिश्रको अनुभव छ।
'त्यहाँको लिगमा राम्रो खेल्ने खेलाडीका देशलाई अन्तर्राष्ट्रिय फुटबलमा पनि पछ्याउने गरिन्छ,' उनले भने, 'विश्वकप २०१४ मा यसका धेरै लक्षण देखिएका छन्।'