काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ। प्रतियोगिता मलेसियामा अगस्ट १३–२० तारिखसम्म हुँदैछ। नेपाल, थाइल्यान्डसँगै आयोजक मलेसिया, ओमान, सिंगापुर र बहराइन समावेश प्रतियोगिताको खेलतालिका आयोजक एसियाली क्रिकेट परिषद (एसिसी) ले शनिबार सार्वजनिक गरेको हो।
नेपालले थाइल्यान्डसँग अगस्ट १४ मा, १५ मा सिंगापुरसँग, १७ मा ओमानसँग, १८ मा बहराइन र २० मा मलेसियासँग खेल्नेछ। राउन्ड रोबिन खेलेपछि अंकका आधारमा प्रतियोगिताको विजेता छानिने छ।
एसिसीले यसअघि एसिसी यु–१६ इलिटको नाममा प्रतियोगिताको दुई संस्करण आयोजना गरेको थियो। सन् २०१० मा काठमाडौं र २०१२ मा मलेसियामै भएको प्रतियोगितामा नेपाल फाइनल पुगेको थियो। २०१० मा सिंगापुरले र २०१२ ले मलेसियाले नेपाललाई पराजित गरेको थियो।
एसिसीले यस वर्षदेखि आफ्नो सम्पूर्ण प्रतियोगिताको संरचना परिवर्तन गर्दै इलिट र च्यालेन्ज हटाएर प्रिमियर र इलिटको रूपमा आयोजना गरिरहेको छ। खेल ४० ओभरको हुनेछ।
सन् २०१२ को पछिल्लो संस्करणमा शीर्ष ६ स्थानमा रहेका टोली अहिले प्रिमियरमा प्रतिस्पर्धा गरिरहेका छन्।