काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार चौथो खेल जित्ने क्रममा सोमबार बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई पराजित गरेको थियो।
मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाई २ सय ३३ रन बनायो। क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लबमा जवाफमा आएको बहराइन २४.४ ओभरमा ४७ रनमा अलआउट भयो।
नेपालले अब बुधबार मलेसियासँग अन्तिम खेल्ने छ, जुन फाइनलसरह भएको छ। नेपालको ८ र मलेसियाको ७ अंक छ। सहभागि ६ टोलीले राउन्ड रोबिनको आधारमा खेलेपछि विजेता छानिने छ। एसिसी यु–१६ एलिटको नामले यसअघि दुईपटक आयोजित प्रतियोगिताको पछिल्लो संस्करणमा दुई वर्षअघि नेपाल मलेसियासँगै फाइनलमा १ विकेटले पराजित भएको थियो।
मध्यक्रमका ब्याट्सम्यान प्रनित थापाले अविजित ७० रन बनाउँदै नेपाललाई विशाल स्कोरमा पुर्याए। ६० बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। रवि चन्दले ४३ बलमा ३३ रन बनाए। उनले १ चौका प्रहार गरे। अन्य खेलाडीमा सुशान्तसिंह थापा २९, आशिफ शेख ८, रवीन्द्र जंग शाही २३, कप्तान सुमित महर्जन ३, जितेन्द्र सिंह ५, पवन सरार्फ २० र आशिष पोखरेल २ रनमा आउट भए। बहराइनका अभास मुज्जफर चौधरीले ३ विकेट लिए।
नेपालबाट अनिल खरेलले ३ विकेट लिए। अघिल्लो दिन ओमानविरुद्ध ६ विकेट लिएका अनिलले ५ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे। त्यस्तै आशिष पोखरेलले २ तथा रिजन ढकाल, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी र कप्तान सुमित महर्जनले एक-एक विकेट लिए।