काठमाडौं– एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालका अनिल खरेल मोस्ट प्रोमिसिङ प्लेयर भएका छन्। प्रतियोगिताअन्तर्गत मलेसियासँग नेपालको अन्तिम खेलपछि उनलाई सो अवार्ड दिइएको हो।
नेपाली टोलीका कान्छा खेलाडी १३ वर्षीय खरेलले प्रतियोगिता अवधिभर १३ विकेट लिएका थिए। ओमानसँगको खेलमा एक्लै ६ विकेट लिएका दुब्रे हाते स्पिनरले फाइनलमा एक विकेट लिएका थिए। उनको ओमानसँगको प्रदर्शन एसिसी यु–१६ मा नेपाली खेलाडीको अहिलेसम्मकै उच्च बलिङ प्रदर्शन हो।
यसैगरी अर्का देब्रे हाते स्पिनर जितेन्द्र सिंह ठकुरीले उत्कृष्ट बलरको पुरस्कार पाए। उनले फाइनलमा दुई विकेट लिएका थिए। प्रतियोगितामा उनले सर्वाधिक १५ विकेट लिए। थाइल्यान्डसँगको पहिलो खेलमा उनी पाँच विकेट लिँदै म्यान अफ द म्याच चुनिएका थिए।
मलेसियासँग नेपाललाई विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका पवन सर्राफ म्यान अफ द म्याच चुनिए। बुधबार उनले २६ बलमा चार चौका र दुई छक्कासहित ४४ रन बनाएर नेपाललाई मजबुद स्थितिमा पुर्याएका थिए। अफ स्पिन बलिङ गर्ने उनले एक विकेटसमेत लिएका थिए।
म्यान अफ द सिरिज र बेस्ट ब्याट्सम्यानको अवार्ड भने मलेसियाका कप्तान वीरनद्वीप सिंहले पाए। फाइनलअघि उनले १ सय ६५ रन बनाउनुका साथै ८ विकेट लिएका थिए। फाइनलमा उनलाई प्रनित थापामगरले सिधा थ्रोमा रनआउट गरेका थिए।
नेपाली टोली बिहीबार बिहान ११:३० बजे क्वालालम्पुरबाट काठमाडौं आउने कार्यक्रम छ।
यो पनि–