काठमाडौं– एसिसी यु–१६ प्रिमियर क्रिकेट विजेता नेपाली टोलीका सदस्यलाई सरकारले जनही ५० हजार रुपैयाँ दिन पहल अगाडि बढाएको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जनाएका छन्। मलेसियाको क्वालालम्पुरमा नेपाल सबै ५ खेल जित्दै विजेता बनेको थियो। अन्तिम खेलमा नेपालले मलेसियालाई ३२ रनले पराजित गरी एसियाली क्रिकेट परिषद (एसिसी)को सबै प्रतियोगिता जित्ने कीर्तिमान बनायो।
नेपाल क्रिकेट संघले आयोजना गरेको यु–१६ टोलीको सम्मान कार्यक्रममा मन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालयको टिमलाई राखेर सल्लाह गरी पुरस्कृत गर्न तयारी अगाडि बढाइएको बताए। सोहीअनुरुप नेपाली टोलीका प्रत्येक सदस्यलाई ५० हजार नगद प्रदान गर्न सरकारलाई प्रस्ताव पठाइएको उनले जनाए। चाँडै अनुमोदन भएर आएपछि सम्मानका कार्यक्रमका साथ नेपाली टोलीलाई प्रदान गरिने आशा मन्त्री पौडेलले व्यक्त गरे।
क्रिकेट संघले प्रतिखेलाडी २० हजार रुपैयाँ नगद प्रदान गर्यो। मन्त्री पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले खेलाडीहरूलाई नगद दिँदै सम्मान गरे। नेपाली टोलीका मुख्य प्रशिक्षक वसन्त शाही, सहयाक प्रशिक्षक राजु बस्न्यात र म्यानेजर रन्जित तामाङले क्यानले दिएको पुरस्कारको २५ प्रतिशत रकम सुनकोसी बाढीपहिरो पीडितलाई प्रदान गर्ने घोषणा गरे। सुनकोसी बाढीपहिरो पीडितमा ४० बालबालिकाले ज्यान गुमाएकाले आफूले यो घोषणा गरेको शाहीले बताए।