काठमाडौं– नेपाली क्रिकेटका प्रशिक्षण पुबुदु दासानायकेले आफ्नो मिसन नेपाली डिभिजन ३ र दुईमा हुने बताएका छन्। डिभिजन ३ अक्टोबर २६ देखि युगान्डाको काम्पालामा हुनेछ।
डिभिजन ३ मा नेपाल र आयोजक युगान्डासहित अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा उक्लने छ। डिभिजन २ नामिबियामा जनवरीमा हुनेछ, जहाँ आयोजकसहित केन्या, नेदरल्यान्ड्स र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ। ‘यो नेपालका लागि महत्वपूर्ण प्रतियोगिता हो। आउँदो चार महिनामा यदी हामी योजना बनाउन चुक्यौ भने नेपाली क्रिकेट कम्तीमा अर्को ३ वर्षका लागि पछाडी पर्नेछ,' बिहीबार नेपाल आएका दासानायकले भने, ‘त्यसैले डिभिजन २ मा पुग्न हामीले आउँदो १–२ महिनामै सबै तयार बनाउनु पर्छ।'
डिभिजन ३ का लागि उनले नेपाललाई दाबेदार माने। अघिल्लो वर्ष बर्मुडामा भएको डिभिजन ३ जित्दै नेपाल विश्वकप छनोटमा उक्लिएको थियो। तर जनवरीमा न्युजिल्यान्डमा भएको विश्वकपमा छनोटमा सहभाग १० टोलीमा नवौं भएपछि नेपाल रेलिगेसनमा परेर डिभिजन ३ मा झरेको थियो।
‘डिभिजन ३ का लागि हामी उत्कृष्ट टोली हौं। डिभिजन २ मा उक्लनेमा म विश्वस्त छु। तर डिभिजन २ ठूलो चिन्ता पनि हो। नेदरल्यान्ड्स, केन्या, नामिबिया पछिल्लो ४–५ वर्षदेखि एकदिवसीय खेलिरहेका छन्। हामीले त्यही भएर गएको ३ महिनामा अझ राम्रो गर्न सक्नु पर्थ्यो,' दासानायकेले भने, ‘सबै टोलीले आफ्नो स्तर बढाएका छन्। डिभिजन २ का लागि हामीले विशेष कार्यक्रम ल्याउनु पर्छ। मेरो चिन्ता यसैमा छ। यो प्रतियोगितामा हाम्रो खेलाडीले आफ्नो स्तर उकाल्नु पर्छ।'