काठमाडौं - पुबुदु दासानायकेले मंगलबारबाट नेपाली क्रिकेट प्रशिक्षकमा दोस्रो कार्यकाल सुरुआत गर्नेछन्। युवा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि अन्योललाई समाप्त पार्दै सोमबार क्यानाडेली मूलका दासानायकेसँग १० महिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
मन्त्रालयले सोमबार नै दासानायकेलाई राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल क्रिकेट संघ (क्यान) सँग रहेर कार्य गर्न भनेको छ। क्यानसँग भने दासानायकेको सम्झौता बाँकी छ। क्यानको शनिबार बस्ने बोर्ड बैठकबाट पारित भएपछि सम्झौता गरिने कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताए।
दासानायकेले मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदान गएर नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने छन्। त्यसका लागि परिषद र क्यानले स्वागत कार्यक्रम राखेको छ। दासानायके अब आसन्न १७औं एसियाली खेलकुदमा मुख्य प्रशिक्षक भएर जानेछन्। हाल प्रशिक्षण दिइरहेका जगत टमाटा प्रशिक्षकमा रहने छन्।
सम्झौताअनुसार दासानायकेले नेपाली राष्ट्रिय टोली, यु–१९ टोलीसहित प्रशिक्षणका अन्य पाटो हेर्नेछन्। मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले दासानायके नेपालको क्रिकेट विकासमा परामर्शदाता भएर कार्य गर्ने बताए। 'सम्झौताअनुसार दासानायकेले नेपाली क्रिकेटको भावी योजना, रणनीति, दीर्घकालीन योजना बनाएर मन्त्रालयलाई बुझाउने छन्,' शर्माले भने।
मन्त्रालयबाट सहसचिव एवं प्रवक्ता चूडामणि पौडेल र दासानायकेले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। 'क्यानाडा फर्किएपछि मलाई नेपाल फेरि फकन्छु जस्तो लागेको थिएन, तर मन्त्रालय र सञ्चारकर्मी सधैं मेरो साथमा रहे,' दासानायकेले भने, 'मन्त्रालयले ममाथि जुन विश्वास देखाएको छ त्यसमा नेपाली क्रिकेट जुन स्थानलाई योग्य छ, त्यहाँ पुर्या एर देखाउने प्रयास गर्नेछु।'
दासानायकेले कर काटेर मासिक ८ हजार डलर पारिश्रमिक पाउने छन्। त्यसबाहेक उनलाई मन्त्रालयले खाना तथा आवासीय सुविधा दिनेछ। घर फर्किन इकोनोमी क्लासको दुईपटकका लागि हवाई टिकट प्रदान गर्नेछ। जेठको तेस्रो साता आफ्नो सम्झौतामा क्यानले कुनै चासो नदेखाएका भन्दै क्यानाडा फर्किएका थिए। क्यानले प्रशिक्षक राख्न नसक्ने स्थितिमा पुगेको भन्दै दासानायकेलाई नबोलाउने तयारीमा थियो।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले दासानायके नभए आफू नेपालबाट नखेल्ने घोषणा गरेका थिए। त्यसलगत्तै अर्थमन्त्री रामशरण महतले यदि क्रिकेट संघ टाट पल्टेको भए सरकारले दासानायकेको खर्च बेहोरिदिने घोषणा गरेका थिए। त्यसपछि मन्त्रिपरिषद्को साउन २ को बैठकले दासानायकेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर खेलकुद मन्त्रालयले बोलाउने निर्णय गरे पनि क्यानले आफूहरूलाई त्यसबारे कुनै जानकारी नगराएको बताएपछि प्रशिक्षक विवादले अर्को रुप लिएको थियो। दासानायके बिहीबार नेपाल फर्किए पनि सम्झौता नभएकाले नेपाली टोलीलाई प्रशिक्षण दिन गएका थिएनन्।
मन्त्रालयकै मातहातमा रहेर सम्झौता गर्ने दासानायके पहिलो विदेशी प्रशिक्षक हुन्। यसअघि मन्त्रालयले अन्य खेलका प्रशिक्षकलाई तलब सुविधामा केही अनुदान दिए पनि कसैको सबै पारिश्रमिक दिएको थिएन्। 'मन्त्रालयका लागि यो नयाँ, पहिलो र ऐतिहासिक सम्झौता हो,' मन्त्रालयका प्रवक्ता पौडेलले भने, 'सरकारले अहिले क्यानलाई अनुदान सहायता दिएजस्तै हो।'
क्यान सक्षम भएपछि मन्त्रालयले फेरि भौतिक पूर्वाधारमा जोड दिने उनले बताए। पौडेलका अनुसार मन्त्रालयले नीतिगत पक्ष तथा खेलकुद परिषदमार्फत क्यानको कार्यशैलीमा रहेर दासानायकेले कार्य गर्नेछन्। पौडेलले तीन महिना खाली रहेकाले दासानायकेले मंगलबार नेपालको प्रशिक्षक भएर दोस्रो कार्यकाल सुरु गर्ने जनाए। सरकारको निर्णय अक्षरश पालना गर्नु राखेपको कर्तव्य भएकाले दासानायके परिषदमार्फत क्यानमा रहेर कार्य गर्ने बताए।
दासानायकेसँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि प्रवक्ता पौडेलले उनको कार्यकालमा सुखद नतिजाको अपेक्षा गरेको बताए। 'नेपाली क्रिकेटमा मलाई अझै योगदान दिन्छु जस्तो लागेको छ, मैले नेपाली क्रिकेटमा अझै ठूलो भूमिका खेल्नुछ,' दासानायकेले भने।