मोरङ– काठमाडौंको सरस्वती क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पथरीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पुलिस क्लब १–० ले विजयी भएको हो। पुलिसका लागि जुमानु राईले गोल गरे।
सोमबार भएको खेलमा पुलिसले पुरै समय खेलमा दबाब राखेको थियो। खेलको १० औं मिनेटमा पुलिसका दिपेन श्रेष्ठले दिएको पासमा भोला सिलवालले गरेको प्रहारलाई गोलरक्षक दिपेश यादवले बचाउ गरेका थिए। १९ मिनेटमा पुलिसका भरत साहले गोलको राम्रो अवसर चुकाएका थिए। दिपेन श्रेष्ठले २० औं मिनेटमा डि बक्सभित्र दिएको पासमा जुमानु राईले गरेको गोल मद्दतले पुलिसले अन्तिम चारको यात्रा पक्का गर्यो।
जुमानुले खेलको २५, ४४ र ७१ औं मिनेटमा गोल गर्ने राम्रा अवसर गुमाएका थिए। ५१ औं मिनेटमा सरस्वतीका जनक कार्कीले ३० यार्डबाट हानेको फ्रिकिक पुलिसका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए।
पुलिसले बुधबार हुने सेमिफाइनलमा एन्फाकप विजेता झापा–११ को सामना गर्नेछ। पथरी स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरी बल र भारत सिक्किमको सुनान्चु क्लबबीच खेल हुनेछ।