बुटवल– नेपाल पुलिस क्लब र साबिक विजेता एपिएफ १९औं राष्ट्रिय महिला भलिबल उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। गत वर्ष पोखरामा १८औं संस्करणमा पनि यी दुई फाइनल भिडेका थिए। जहाँ एपिएफले पुलिसलाई सोझो सेटमा हराएको थियो। त्यसपछि दुई पुलिस पहिलोपल्ट फाइनल खेल्दैछन्।
पुलिसका प्रशिक्षक सुदेशकुमार रिमाललेे आइतबार उपाधि हत्याउने लक्ष्यसहित खेल्ने बताए। उनले भने, 'पोखरामा गरेको गल्ती दोहोर्यादउने छैनौं। हाम्रो टोलीमा अनुभवी खेलाडी छन्। पोहोर मुख्य खेलाडी चूडा खड्का घाइते हुँदा अप्ठेरो भएको थियो । अहिले टोलीमा रमिला (तण्डुकार) आएकी छन्। उनी आएपछि टोली थप बलियो भएको छ।'
रिमालले पोखरामा क्विक स्पाइकर र ब्लकर चूडा घाइते हुँदा टोली कमजोर भएको स्मरण गराए। पार्वती अर्याल र रमिलाले पुलिसको ओपन स्पाइकरबाट खेलिरहेका छन्। आइतबार जित हात पार्न क्विक स्पाइकर चूडा र कोपिला उप्रेतीको प्रदर्शनले प्रभाव पार्ने रिमालको अपेक्षा छ।
पुलिस शनिबार मध्यमाञ्चललाई २५–१८, २६–२४, २८–२६ को सोझो सेटमा हराउँदै उपाधि दाबेदार बनेको हो। यो खेल शुक्रबार पुलिसले दुई सेट जितेपछि स्थगित हुन पुगेको थियो।
शनिबार तेस्रो स्थानलाई पश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेल मधुरो प्रकाशका कारण स्थगित गरिएको छ। दुवैले २–२ सेट जितेको अवस्थामा निर्णायक सेट चलिरहँदा खेल रोकिएको हो।
साबिक विजेता एपिएफँसग राष्ट्रिय टोलीकी पाँच खेलाडी छन्। एक साताअघि काठमाडौंमा रजत पदक जित्दा एपिएफका सरस्वती चौधरी, नेबिका चौधरी, विनिता बुढाथोकी, रेश्मा भण्डारी र उषा विष्टले राष्ट्रिय टोलीबाट खेलेका थिए।
एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले उपाधि रक्षा गर्न सफल हुन दाबी गरे। उनले भने, 'हामीसँग सबै पोजिसनमा उत्कृष्ट खेलाडी छन्। उपाधि जित्न हामीले ब्लकमा ध्यान दिनुपर्छ। त्यसमा सफल भए उपाधि जोगाउन सकिन्छ।'
प्रशिक्षक श्रेष्ठले फाइनलमा रेश्मालाई पहिलोपल्ट क्विक स्पाइकरमा खेलाउने बताए। रेश्मा राष्ट्रिय टोलीकी साइड स्पाइकर हुन्। उनका अनुसार सरस्वती र नेबिकाले ओपन स्पाइक तथा रेश्मा र उषाले क्विक स्पाइक खेल्ने छन्।