विश्व क्रिकेट लिग डिभिजन २: नेपालको सम्भावना कति?
०२ माघ २०७१
•
२२ मिनेट पाठ
विश्व क्रिकेट लिग डिभिजन २: नेपालको सम्भावना कति?
काठमाडौं-नेपाली क्रिकेट एक वर्षयता दोस्रोपटक महत्वपूर्ण उपलब्धिको नजिक छ। अघिल्लो वर्ष नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को वास्तविक अनुभवै नगरी घटुवामा परेको थियो। गत वर्ष जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० देशमध्ये नवौं स्थानमा सीमित भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई डिभिजन २ को अनुभव गर्न नपाउँदै डिभिजन ३ मा झारेको थियो।त्यसपछि अक्टोबरमा मलेसियामा सम्पन्न डिभिजन ३ प्रतियोगिताबाट नेपाल फेरि च्याम्प्यिन हुँदै डिभिजन २ मा उक्लिन सफल भयो।

cricket23

यतिमात्र होइन, न्युजिल्यान्डको निराशाजनक नतिजाले पोलिरहेकै बेला नेपाली क्रिकेेटले विश्वकपको रंगमञ्चमा आफूलाई प्रस्तुत गरेर गत वर्ष नै सफलताको स्वाद पनि चाख्यो। बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा पहिलोपटक सहभागिता जनाउने क्रममै नेपालले अफगानिस्तान र हङकङलाई हराउनुका साथै आयोजक राष्ट्रविरुद्ध सशक्त प्रदर्शन गरेर समर्थकको आशा बढाएको थियो।

cricket24
लामो समयदेखिको विश्वकप सपना पूरा भएको एक वर्ष नबित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु अर्को ठूलो लक्ष्य छ, नामिबियामा।

लगातारको सफलताले यसपालि टिममाथि समर्थकको ठूलै आशा छ। शनिबारबाट नामिबियामा सुरु हुने डिभिजन २ मा नेपालसामु आयोजक नामिबियासँगै, क्यानाडा, नेदरल्यान्ड्स, केन्या र युगान्डाको चुनौती छ। डिभिजन १ मा उक्लने एकमात्र लक्ष्य बनाएको टोलीले नामिबियाको अपरिचित परिस्थितिमा कठिन प्रतिद्वन्द्वी सामना गर्नुपर्नेछ।

cricket222

छ टिम सहभागी यस प्रतियोगितामा शीर्ष दुईमा पर्न सके नेपालको लक्ष्य पूरा हुनेछ। त्यसो नभए शीर्ष चारमा पर्नु नेपालको दोस्रो प्रयास हुनेछ। शीर्ष चारमा परेर प्रतियोतिगाको अन्त्य गर्न सके नेपालको डिभिजन २ हैसियत कायम रहनेछ। यो पनि नेपाली क्रिकेटका लागि ठूलै उपलब्धि हुनेछ। पुछारका दुईमा सीमित भए भने नेपाल फेरि डिभिजन ३ मै झर्नेछ, जसका बारेमा टिम, समर्थक तथा नेपाली क्रिकेटसँग सम्बन्धित कसैले कल्पनासम्म गरेका छैनन्।

cricket223

डिभिजन १ मा उक्लन सके डिभिजन १ मा हाल भएका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, संयुक्त अरब इमिरेट्स र हङकङ तथा डिभिजन २ बाट उक्लने दुई टोली गरी आठ टिमबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ।

cricket233

चार वर्ष अवधिमा लिग च्याम्पियनसिपका देशले सबै सात विपक्षीसँग ‘होम एन्ड अवे' पद्दतिमा चारदिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछन्। च्याम्पियनसिपका शीर्ष दुई टोली २०१९ को एकदिवसीय विश्वकपको अन्तिम छनोटमा पर्नेछन्। आइसिसीले २०१९ को विश्वकपमा १० टोली मात्र सहभागी गराउने निर्णय गरिसकेकाले नेपालको छनोट सम्भावना भने व्यावहारिक रूपमा अत्यन्तै कमजोर छ। सँगसँगै, च्याम्पियनसिपको शीर्ष टोलीले टेस्ट वरियताको पुछारमा रहेको देशसँग टेस्ट शृंखला पनि खेल्न पाउनेछ। जुन शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका खेल्न सक्छ।

आइसिसीले कुनै पनि देशलाई एकदिवसीय वा टेस्ट मान्यता दिन त्यहाँको भौतिक पूर्वाधार, घरेलु क्रिकेट संरचना, बजेटको आन्तरिक स्रोत, दर्शकलगायत विषय अध्ययन गर्ने गर्छ। त्यो शृंखलामा राम्रो प्रदर्शन गर्नुका साथै देशको आन्तरिक विकासमा जोड दिने हो भने टेस्ट मान्यताको ढोका खोल्नसमेत नामिबियामा हुने डिभिजन २ को खास महत्व छ।

डिभिजन २ मा यथावत रहे नेपाल आइसिसीको ‘हाई पर्फमेन्स टिम' मा पर्नेछ। टोलीले डिभिजन २ का देशबीच हुने आइकप खेल्न पाउनेछ। आइकपमा नेपालले सबै पाँच विपक्षीसँग ‘होम एन्ड अवे' पद्दतिमा तीनदिवसीय खेल खेल्नेछ। ‘हाई पर्फमेन्स टिम'मा परेपछि नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) र आइसिसीबाट पाइरहेको सहयोग वृद्धि हुने तथा बलिया देशसँग सबै स्वरुपमा थप अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पनि पाउनेछ। नेपालले वार्षिक ४ लाख अमेरिकी डलर हाराहारी सहयोग पाइरहेकोमा डिभिजन २ मा टिकिरहनसके वार्षिक करिब ७ लाख डलर पाउने सम्भावना रहन्छ। 

डिभिजन २ को नतिजा नेपाली क्रिकेटलाई दुरगामी प्रभाव पार्ने भए पनि नेपालको व्यवहारिक सम्भावना के हो त?

‘नेपालको लक्ष्य उपाधि जित्ने भए पनि हामी प्रतियोगिताका दाबेदार होइनौं,' एक पूर्व खेलाडी भन्छन्, ‘सहभागी सबै ६ टिमलाई डिभिजन १ मा उक्लनुछ। नभए पनि डिभिजन २ मै टिक्नुछ। कोही पनि रेलिगेसनमा पर्न चाहँदैनन्। डिभिजन २ मा आएका सबै टोली बलिया छन्। धेरै सम्हालिएर खेले अनिश्चितताको खेलमा नेपालले बाजी मार्न सक्दैन भन्न सकिन्न।'

उनका अनुसार नेदरल्यान्ड्स १० वर्ष आइसिसीको ‘हाई पर्फमेन्स' टिम थियो। तर, पछिल्लो समय उनीहरूको क्रिकेटमा आन्तरिक समस्या देखिएको छ। कमजोर प्रदर्शनका कारण उनीहरू समस्यामा परेका हुन्।

‘उनीहरू जसरी पनि डिभिजन २ जित्न चाहन्छन् र त्यहीअनुरुप तयारी गरेका छन्,' ती खेलाडीले भने, ‘क्यानडाले पनि सोमबारमात्र अभ्यासमा टेस्ट खेल्ने चार खेलाडी भएको जिम्बावे ए लाई हराएको थियो। त्यसैले यहाँ सबै बलिया छन्। नेपालले दक्षिण अफ्रिकाको अभ्यासमा राम्रो गरेको छ। त्यहाँबाट नेपाली टोलीको मनोबल उच्च भएको छ। कम्तीमा डिभिजन २ मा टिक्न सक्ला भन्ने आशा हो। त्यति भए पनि धेरै राम्रो हुन्छ।'

नेपालको समस्याका रूपमा रहँदै आएको मध्यक्रमको ब्याटिङ दक्षिण अफ्रिकामा भरपर्दो देखिएको थियो। दुई खेलमा विजय हासिल गर्दा मध्यक्रमको योगदान उच्च रह्यो। ओपनिङमा अझै ढुक्क हुने अवस्था नआइसक्नु टोलीको समस्या हो।

राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काका अनुसार दक्षिण अफ्रिकामा भएका तीन अभ्यास खेलमा दुई विजय हासिल गर्दाको प्रदर्शन नेपालका लागि महत्वपूर्ण छन्। ‘हामीले त्यहाँ पहिला ब्याटिङ गरेर पनि जित्यौं। अझ तेस्रो खेलमा त चेज गरेर जित्यौं, जुन बढी महत्वपूर्ण छ। मिडिल अर्डरले राम्रो खेलिरहेको छ तर ओपनिङ साझेदारी राम्रो हुन सकिरहेको छैन,' खड्काले भने, ‘नामिबियामा मिडियम पेसरले लेन्थ भेट्टाउन सक्नुपर्छ। दक्षिण अफ्रिकामा त्यो भएको छ। त्यसैले, नामिबियाबाट आशा गर्न सकिन्छ।'

नेपालका प्रतिद्वन्द्वी


Nepali cricket2

प्रतियोगितामा नेपालले सामना गर्ने विपक्षीमध्ये नामिबिया आयोजक भएकाले दाबेदार हो। उसले पनि नेपालजस्तै डिभिजन २ का लागि दक्षिण अफ्रिकामै तयारी गरेको थियो।

गत वर्ष न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० देशमध्ये नेपाल नवौं हुँदा नामिबिया ‘सुपर–सिक्स' मा पुग्न सफल भएको थियो। त्यसअघि २००३ को विश्वकप छनोट क्रममा नामिबियाले नेपाललाई चार रनले हराएको थियो। २००६ मा प्रथम श्रेणीको मान्यताप्राप्त चारदिवसीय खेलका लागि दुई टोली आमनेसामने हुने अवसर पनि मिलेको थियो। तर, वर्षाका कारण प्रभावित खेल बराबरीमा टुंगियो। ट्वान्टी–२० विश्वकपअघिको अभ्यास खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो। 

त्यस्तै, नेदरल्यान्ड्स चारपटक विश्वकप खेलिसकेको टोली हो। पछिल्लो दशक पूरै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामा रमाएको नेदरल्यान्ड्सले गत वर्ष विश्वकप छनोटअन्तर्गत न्युजिल्यान्डमा सातौं स्थानको प्लेअफमा नेपालमाथि सात विकेटको जित हासिल गरेको थियो। ट्वान्टी–२० स्वरुपमा पछिल्लोपटक दुई टिम भेट हुँदा पनि दुवैपटक डचले नेपालमाथि विजय हासिल गरेको थियो।

बंगलादेशमा मार्चमा सम्पन्न २० ओभरको विश्वकपमा इङल्यान्डलाई ५५ रनले हराएर सनसनी मच्चाएको नेदरल्यान्ड्स डिभिजन २ मा नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो। टोलीका मुख्य खेलाडी टम कुपरको अनुपस्थितिले भने अन्य विपक्षीलाई राहत दिने अनुमान छ।

पछिल्लो समय आन्तरिक कलहका कारण विश्व क्रिकेटमा ओरालो लागिरहे पनि नेपालका लागि केन्या पनि सजिलो विपक्षी होइन। २००३ को विश्वकपमा सेमिफइनलसम्म पुगेर विश्व क्रिकेटमा तहल्का मच्चाएको केन्याका लागि नामिबियाको अवस्था फलदायी हुन सक्छ।

गत वर्ष न्युजिल्यान्डको विश्वकप छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा केन्याले नेपाललाई एक विकेटले हराएको थियो। २० ओभरको विश्वकपका पछिल्ला दुई छनोट चरणमा भने नेपालले केन्यालाई हराएको थियो। तथापि १८ वर्ष लगातार एकदिवसीय अन्तर्राष्ट्रियको मान्यताका साथ खेलेको केन्याको अनुभव यो स्तरमा सबै विपक्षीलाई दिन मिल्ने सबभन्दा बलियो कागजी जवाफ हो। 

अर्को विपक्षी क्यानाडा नेपाली प्रशिक्षक पुबुदु दासानायकेको देश हो। दासानायकेको नेतृत्वमा २०११ को विश्वकप खेलेको क्यानडाले समग्रमा चारपटक विश्वकप खेलिसकेको छ। न्युजिल्यान्डमा नेपाल नवौं हुँदा क्यानडा आठौं भएको थियो। जिम्बावेमा डिभिजन २ को तयारी गर्ने क्रममा जिम्बावे ‘ए' माथि विजय हासिल गरेर टोलीले मनोबल उच्च बनाएको छ। 

नेपालविरुद्धको इतिहासमा पनि क्यनडा बलियो छ। न्युजिल्यान्डमा टोलीले नेपालमाथि १२ रनको जित हासिल गरेको थियो भने २०१२ को ट्वान्टी–२० विश्वकप छनोटमा पनि नेपाललाई १८ रनले हराएको थियो। 

अफ्रिकी राष्ट्र युगान्डासँग नेपालको इतिहास बडो रोचक छ। दुई टोलीबीच भएका पाँच भेटमध्ये नेपालले तीनपटक विजय हासिल गरेको छ। नेपालले दुवैपटक डिभिजन ३ जित्दा फाइनलमा युगान्डालाई निराश पारेको थियो। २०१३ मा बर्मुडामा डिभिजन ३ को समूह चरणमा नेपालमाथि ६ विकेटको विजय हासिल गरेको युगान्डालाई फाइनलमा नेपालले ५ विकेटले हराउँदै बदला लिएको थियो। न्युजिल्यान्डमा नवौं स्थानको प्लेअफमा पनि नेपालले १ सय ६० रनले निराश पारेको टोलीले अक्टोबरमा मलेसियामा सम्पन्न डिभिजन ३ को पहिलो चरणमा नेपालमाथि २० रनको विजय हात पार्योल। नेपालले फेरि त्यसको बदला लिने क्रममा फाइनलमा ६२ रनको जित दर्ता गराएको थियो। नेपालले डिभिजन २ को यात्रा शनिबार युगान्डासँग खेलेर सुरु गर्नेछ। 

विश्वस्त टिम


IMG 84431

विपक्षी बलिया भए पनि नेपालका प्रशिक्षक पुबुदु योजनाअनुसार तयारी भएकाले उपाधि जित्नेमा विश्वस्त छन्।

‘दक्षिण अफ्रिकाको तयारी हाम्रा लागि फलदायी रह्यो,' उनले भने, ‘हामीले यहाँ खेलेका तीन अभ्यास खेलमध्ये पहिलो र तेस्रो खेलमा उच्चस्तरका प्रतिद्वन्द्वी थिए। दुवै टिममा यहाँका धेरैजसो राज्यस्तरका खेलाडी थिए। यस्ता टिमलाई हराउँदा मनोबल बढेको छ।'

तयारी समय छोटो भए पनि योजनाअनुसार सबै कुरा प्रयोग गरेको उनले बताए। ‘डिभिजन २ मा सजिलो नभए पनि हामी उपाधिका मुख्य दाबेदार हौं,' उनले भने, ‘डिभिजन २ मा विपक्षी बलिया छन् तर हामीले पनि धेरै सुधार गरेका छौं।'

तेस्रो अभ्यास खेलमा सोमबार कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको उच्च प्रदर्शनप्रति संकेत गर्दै पुबुदुले भने, ‘मध्यक्रमको ब्याटिङमा उल्लेख्य सुधार देखिनु हाम्रो सबभन्दा सकारात्मक पक्ष हो। क्रिजमा लामो समय बस्ने योजना खेलमा सफल देखियो। धैर्यपूर्ण खेल्ने योजना सफल भयो।'

दक्षिण अफ्रिकाको तेस्रो अभ्यास खेलमा सोमबार पारस र ज्ञानेन्द्रको उच्च प्रदर्शनका कारण नेपालले स्थानीय टोली इस्टर्न इन्भिटेसन–११ माथि सात विकेटको रवाफिलो जित हासिल गरेको थियो। उक्त खेलमा पारसले १ सय १४ बलमा अविजित १ सय २३ रन बनाएका थिए भने ज्ञानेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै १ सय २ बल सामना गरेर ५३ रन बनाए।

कप्तान र उपकप्तानले तेस्रो विकेटका लागि १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यसअघि जनवरी ८ मा दक्षिण अफ्रिका पुगेको नेपालले पहिलो अभ्यास खेलमा शुक्रबार इस्टर्न एकेडेमी–११ लाई ५७ रनले नतिजा सुम्पेको थियो भने आइतबार दोस्रो खेलमा पुमालांगा क्रिकेट युनियनलाई ३४ रनले हराएको थियो।

प्रशिक्षकसँग सहमति जनाउँदै कप्तान पारस पनि दक्षिण अफ्रिका भ्रमणबाट खेलाडीको प्रदर्शन निखारिएको बताउँछन्। एक साताको दक्षिण अफ्रिका बसाइले नामिबियाको परिस्थितिसँग भिज्न पाएको बताउँदै उनले भने, ‘हामीले दक्षिण अफ्रिकामा राम्रा टोलीसँग खेल्न पायौं। त्यस्तोमा एउटा खेल पहिला ब्याटिङ गरेर जित्यौं। अर्कोमा लक्ष्य पछ्याएर जित्यौं। नेपाल पछ्याउनेमा कमजोर थियो तर त्यसमा पनि राम्रो भएको छ। यसले ठूलो आशा गर्न सकिने ठाउँ छ तर प्रतियोगितामा ताजा सुरुआत गर्नुपर्छ।'

सबै खेलाडीले डिभिजन २ को अवसर कुरिरहेको बताउँदै उनले यसलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। ‘सबै टोली उपाधि जित्न आएका हुन्छन्। हार्न कोही आएको छैन तर हामीसँग जित्न सक्ने क्षमता छ। व्यावहारिक रूपमा हामी उपाधिका दाबेदार हौं,' पारसले भने।

‘हैसियत जोगाए पुग्छ'


राष्ट्रिय टोलीका पूर्वकप्तान खड्का कुनै पनि विपक्षीलाई कमजोर आँक्न नसकिने कारण हरेक खेलमा प्रशिक्षक र कप्तानले आफ्ना हतियारको सही उपयोग गर्नुपर्ने बताउँछन्। ‘अहिले हाम्रो तयारी निकै राम्रो भएको छ। ब्याट्सम्यानहरूले जिम्मेवार इनिङ खेलिरहेका छन्। सम्भावना बलियो देखिन्छ तर क्रिकेट अनिश्चितताको खेल हो, यहाँ कुनै पनि कुरा पक्का हुँदैन,' नेपाल रेलिगेसनमा नपर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘डिभिजन २ मा बस्नुपर्छ। माथि जाने आशासम्म गर्न सकिन्छ। हाम्रो लागि सबभन्दा महत्वपूर्ण कुरा हासिल गरेको उपलब्धि जोगाउनु हो। डिभिजन २ मै कायम रहे पनि त्यो ठूलो उपलब्धि हुनेछ।'

पूर्व कप्तान खड्काको विचारमा नेपालका लागि तत्काल डिभिजन १ मा उक्लनुभन्दा वर्तमान हैसियत जोगाउनु अझ बढी महत्वपूर्ण हुन्छ। डिभिजन १ मा उक्लिए फेरि तल झर्ने खतरा बढी हुने बताउँदै उनले हाललाई डिभिजन २ मा टिक्न सके आउँदो चार वर्षमा देशको आन्तरिक क्रिकेट संरचना, भौतिक पूर्वाधार, क्रिकेट प्रशासन र संस्कार सबैमा विकास गर्न सकिने धारणा राखे।

‘अहिलेको नेपाली क्रिकेटले डिभिजन १ थेग्नै सक्दैन। टिमको मिहिनेतका भरमा पाएको सफलता थेग्न नेपालको क्रिकेट प्रशासन र भौतिक पूर्वाधार सक्षम हुँदैन। नेपालको राष्ट्रिय क्रिकेट संरचना अहिले जिल्लाको जस्तो पनि छैन। एकैचोटि दुई स्टेप चढ्ने सपना देख्नुभन्दा विस्तारै माथि चढ्दै जाने र देशमा पनि त्यहीअनुसार विकास गर्दै आफूलाई अझ माथिल्लो स्तरका लागि तयार पार्दै जानुपर्छ,' खड्काले भने, ‘डिभिजन १ मा उक्लिएर तत्काल झर्नुभन्दा बरु पर्खेर आफूलाई त्यसका लागि तयार पारेर जानु राम्रो हो।'
अर्को समाचार
विश्व लीग क्रिकेटः नेपालको छनोट सम्भावना बलियो
०८ फागुन २०६६
•
९ मिनेट पाठ
विश्व लीग क्रिकेटः नेपालको छनोट सम्भावना बलियो
altविनोद पाण्डे, काठमाडौं, फागुन १०- नेपालले पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ मा विजय क्रमलाई निरन्तरता दिएको छ। आइतबार सिंगापुरविरुद्धको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ६ विकेटको रोमाञ्चक विजय पायो। लगातार दोस्रो जितपछि नेपालको डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनेको छ। विश्वकप २०१५ को छनोट आधारको रूपमा रहेको प्रतियोगिताका शीर्ष दुई टोलीले अघिल्लो चरणमा प्रवेश पाउने छन्। नेपाल र अमेरिकाले पहिलो दुवै खेल जितेका छन्। नेपालले म‌गलबार बहराइन र बुधबार फिजीसँग खेल्ने छ। बहराइन र फिजी सहभागी ६ टोलीमा तुलनात्मक रूपले कमजोर मानिएकाले नेपाल यो जितपछि फाइनलको बलियो दाबेदार बनेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालको विजयमा रेग्मीद्वय बसन्त र सञ्जम नायक बने। बसन्त अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याचमा चुनिए। उनले बनाएको ५४ रनमा टस जितेको नेपालले ९ विकेट गुमाई १ सय ८० रन बनाएको थियो। सञ्जमले ४ र बसन्तले २ विकेट लिएपछि सिंगापुर १३ बलअगाडि १ सय ६४ रनमा सीमित भयो।
'बलिङ र फिल्डिङ राम्रो गरेर हामीले जितेका हौं, भाग्यले होइन,' नेपालका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले भने, 'तर म नर्भस थिइन किनभने हामीले १ सय ८० रन बनाएका थियौं, खेलाडीले मैदानमा देखाएको प्रतिबद्धतापछि नेपालले खेल जित्यो।'

मध्यम स्कोरलाई बचाउन कप्तान पारस खड्काले सातौं ओभरमा नै स्पिन आक्रमण लगाए, जुन अन्तिमसम्म रहिरह्यो। सिंगापुरले गुमाएका १० मध्ये ९ विकेट स्पिनरले लिए भने एक रनआउट भए। 'सिंगापुरले सही ठाउँमा बलिङ गरेको मात्र हो, पहिलो २० ओभरमा बल सिम भइरहेको थिएन, त्यसैले मैले स्पिनर ल्याएको हुँ,' पारसले भने।

नवौं ओभरमा बुद्धिका मेन्डिसलाई सञ्जमले राम्रो विकेटकिपिङ गरेका महेश क्षेत्रीको हातबाट स्टम्प गराई नेपाललाई पहिलो सफलता दिलाए। सञ्जमले आफ्नो अर्को ओभरमा चन्द्रशेखर रभेन्करदरमानी (३) लाई पहिलो स्लिपमा शक्ति गौचनद्वारा क्याचआउट गराएपछि नेपाल बिस्तारै खेलमा हावी भयो। बहराइनविरुद्धको पहिलो खेलमा ५४ रन बनाउँदै म्यान अफ द म्याचमा चुनिएका चेतन राजवंशी र अनिश पारमले सिंगापुरको स्कोर ५८ पुर्‍याएका थिए। यस बीचमा विनोद दासले चेतन २२ रनमा हुँदा उनको क्याच छाडेका थिए। तर नेपालका लागि त्यो महँगो भएन। चेतनलाई २९ रनमा बसन्तले बोल्ड गरे।

४१ रन बनाएका पारम ४४ ओभरमा आठौं खेलाडीका रूपमा पवेलियन फर्किदा सिंगापुर जितभन्दा अझै ३६ रनले टाढा थियो। सिंगापुरले ३७औं ओभरमा ब्याटिङ पावर प्ले लिँदै रनरेट बढाएको थियो। यो क्रममा सिंगापुरले केही महत्वपूर्ण विकेट पनि गुमायो। 'त्यतिखेरको क्षण बक्सिङ खेलजस्तै थियो, कहिल्यै उनीहरूले ठूला सटबाट खेल्दै रन बटुलेका थिए भने तत्कालै हामीले विकेट लिन्थ्यौंं,' पारसले भने। यता सिंगापुरका प्रशिक्षक एवम् श्रीलंकाका पूर्वकप्तान मार्भन अत्तापट्टुले दुवै टोलीमा खासै भिन्नता नभएको बताउँदै भने, 'तर हामीसँग अन्तिम १० ओभरमा पर्याप्त विकेट थिएन।'

पहिलो खेलमा दुई विकेट लिएका अफस्पिनर सञ्जमले चार विकेट लिने क्रममा ८.५ ओभरमा २८ रन खर्चे। उनले पछिल्लो दुई विकेट लिएर खेलको अन्त गरेका थिए। दीपेन्द्र चौधरीले मिडविकेटमा ज्याकी मनोज कुमारको सानदार क्याच लिई नेपालको विजयरेखा कोरेका थिए। बसन्तले १० ओभरमा एक मेडन राख्दै ३३ रन खर्चे। त्यस्तै शक्ति, राहुलकुमार विक र पारसले १/१ विकेट लिए। पहिलो ६ ओभर बलिङ गरेका तीब्र बलरद्वय महबुव आलम र विनोद प्रभावकारी हुन नसकेपछि पारसले समेत आफ्नो स्वभाविक मध्यम गति छाड्दै अफ स्पिन बलिङ गरे।

यसअघि बसन्तले राष्ट्रिय टोलीका लागि पहिलो अर्द्धसतक बनाउँदै नेपाली इनिङको उद्दार गरेका थिए। उनले ६१ बल खेल्दै ५ चौका प्रहार गरे। उनले ५७ बलमा अर्द्धसतक पूरा गरे। बसन्तले शरद भेषावकरसँग ६१ रन जोडी नेपालको ब्याटिङ सम्हालेका थिए। 'मलाई लाग्छ यो साझेदारी नै खेलको टर्निङ प्वाइन्ट थियो,' पारसले विजयको आधार बताए। जर्सीविरुद्ध ६ विकेट जित्दा अविजित ३३ रन बनाएका शरदले आइतबार ६७ बलमा ३२ रन बनाए।

महवुव (५) र दीपेन्द्र (२) लाई सुरुमै गुमाएपछि नेपालले पुनः दबाबमा खेल्यो। शक्तिले २४ र पारसले १८ रन बनाउँदै इनिङ केही सुधारे। पूरै दबाबमा खेलेको नेपालले २२.३ ओभरमा ५०, ३४.२ ओभरमा १ सय र ४५.१ ओभरमा १ सय ५० रन पूरा गरेको थियो।
एसिसी ट्रफीमा नियमित रूपमा खेल्दै आए पनि नेपाल र सिंगापुर एकदिवसीयमा पहिलो पटक भेटेका हुन्। नोभेम्बरमा युएईमा सम्पन्न एसिसी ट्वान्टी-२० मा नेपालले पाँचौं स्थानको प्लेअफमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो। त्यसबाहेक सन् २००६ मा भएको एसिसी प्रिमियर लिग तीनदिवसीय क्रिकेटमा नेपालले सिंगापुरमाथि २ सय ६ रनको विजय पायो। त्यसका अघिल्ला वर्षमा सिंगापुरमा भएको दुई तीनदिवसीय खेल बराबरीमा टुंगिएका थिए।

अत्तापट्टुको भनाइ
नेपालले सुरुमै स्पिनरहरू आक्रमणमा ल्यायो, जुन मैले साचेको थिइनँ। नेपाली स्पिनरले स्पिन विकेटमा राम्रो बलिङ गरेका हुन्, त्यो भन्दा अरु केही होइन। तर खेलको अन्तसम्म पनि जित्ने हाम्रो सम्भावना यथावत् नै थियो, भाग्यले मात्र हामीलाई साथ दिएन। एकदिवसीय क्रिकेटका लागि यो सुहाउँदो विकेट होइन। किनभने दोस्रो इनिङमा ब्याटिङ गर्नु लगभग असम्भवजस्तै थियो। हाम्रा ब्याट्सम्यानले एक रनका लागि स्ट्राइक रोटेड पनि गर्न सकेनन्। सुरुमै नेपालले १ सय ८० रन बनाउँछ भनेर कसैले भनेको भए, म त्यसलाई सहर्ष स्वीकार्थें। किनभने हामीसँग सात राम्रा ब्याट्सम्यान थिए।

नेपालले बुधबार सैनिक महाविद्यालय मैदान भक्तपुरमा बहराइनसँग खेल्नेछ।

alt





 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस