काठमाडौं- केन्यासँग लगातार दोस्रो हार बेहोरेपछि नेपालले शनिबार चौथो स्थानमा रहेर विश्व क्रिकेट लिग डिभिजन २ को यात्रामा पूर्णविराम लगाएको छ। समूह चरणको अन्तिम खेलमा शुक्रबार केन्यालाई ५ विकेटले नतिजा सुम्पेको नेपाल तेस्रो स्थानको प्लेअफमा शनिबार १५ रनले निराश भयो। केन्याले पूरै ५० ओभर खेलेर ९ विकेटक्षतिमा बनाएको २ सय ८ रनविरुद्ध २ सय ९ रनको लक्ष्यसाथ ब्याटिङमा उत्रिएको नेपाल १ सय ९३ रनमै सीमित भयो।
कप्तान पारस खड्का गोल्डेन डक भएको खेलमा विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्लले अन्य ब्याट्सम्यानबाट अपेक्षित साथ नपाउँदा नेपाल ४७ ओभरमै अलआउट भयो। तेस्रो नम्बरमा बढुवा भएका विनोदले ए श्रेणीको खेलमा पहिलो अर्धशतक बनाउने क्रममा ७३ रन जोडे भने ज्ञानेन्द्र लगातार दोस्रो अर्धशतकबाट चुके। अघिल्लो दिन केन्याविरुद्ध नै ९१ रन बनाएका ज्ञानेन्द्र शनिबार ४८ रनमा पवेलियन फर्किए। विनोदले ८३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे भने ज्ञानेन्द्रले ७२ बल खेल्दै४ चौका प्रहार गरे।
ओपनिङ जोडी फेरि एकपटक राम्रो सुरुआत गर्नबाट चुक्दा नेपालले पहिलो विकेट २.२ ओभरमा १७ रन बनाउँदा गुमायो। सुवास खकुरेल७ बलमा दुई चौकासहित १० रन बनाएर पवेलियन फर्किए। त्यसपछि नेपालको इनिङ्स सम्हाल्ने जिम्मेवारीसाथ आएका विनोदसँग दोस्रो विकेटका लागि १८ रनको साझेदारी गरेर अर्का ओपनर सागर पुन पनि आउट भए। सागरले १७ बलमा दुई चौकासहित ११ रन बनाए।
चौथो नम्बरमा आएका पारस पहिलो बलमै आउट भएपछि चौथो विकेटमा ज्ञानेन्द्र र विनोदले १ सय ७ रनको महŒवपूर्ण साझेदारी गरेर नेपाललाई विजय दिलाउने संकेत गरे। तर २९औं ओभरको दोस्रो बलमा ज्ञानेन्द्र आउट भएपछि नेपालको सम्भावना कमजोर बन्यो।
त्यसपछि आएका शरद भेषावकरसँग २० रन थपेका बेला विनोद टोलीलाई १६२–५ को अवस्थामा छोड्दै आउट भए। ५७ बल खेल्दै २४ रन बनाएका शरदले नेपालको इनिङ्ससम्हाल्ने प्रयास गरेका थिए। तर उनले अपेक्षित साथ पाउन सकेनन्। प्रतियोगितामा दोस्रोपल्ट मौका पाएका आरिफ शेख ५ बलमा ५ रन बनाएर फर्किए भने सोमपाल कामीले ४ बल सामना गरे पनि खाता खोल्नै सकेनन्। विनोदपछि आरिफ र शेखले क्रिजमा धैर्य गर्न नसक्दा नेपालले ११ रन बनाउँदा तीन विकेट गुमायो।
सोमपाल आउट हुँदा नेपाललाई जितका लागि ७४ बलमा ३६ रन आवश्यक थियो। तीन विकेट सुरक्षित थियो।तर शक्ति गौचनसँग १७ रन थपेपछि शरद आउट हुनु नेपालको ठूलो दुर्भाग्य साबित भयो। शक्तिले २८ बलमा ४ रनमात्र बनाउन सके भने भुवन कार्की २ रनमै आउट भए। चार रनका लागि अन्तिम तीन विकेट गुमाएपछि नेपाल केन्यासँग अघिल्लो दिन भोगेको हारको बदला लिन सफल भएन।
प्लेअफमा असफलता हात लागे पनि कप्तान पारस प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित हुँदा नेपालले सान्त्वना पाएको छ। पारसले ६ खेलमा दुई अर्धशतकसहित १ सय ८५ रन तथा ६ विकेट लिएका थिए। पहिलो खेलमै युगान्डासँग २ रनले स्तब्ध भएको नेपाललाई डिभिजन २ मा कायम राख्न पारसको योगदान ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट थियो। २ सय ४९ रन बनाएका नामिबियाका स्टेफन ब्राड उत्कृष्ट ब्याट्सम्यान भए भने १७ विकेट लिएका नेदरल्यान्ड्सका अशान मलिक उत्कृष्ट बलरमा चुनिए।
अघिल्लो दिन केन्यासँगकै हारका कारण नेपाल डिभिजन १ मा उक्लने अवसरबाट च्यूत भएको थियो। प्रतियोगिताका शीर्ष दुई टोली नेदरल्यान्ड्स र नामिबिया डिभिजन १ मा उक्लँदा तेस्रो भएको केन्या र चौथो भएको नेपाल डिभिजन २ मा कायम छन्। पुछारका दुई स्थानमा रहेर समूह चरणको अन्त्य गरेका युगान्डा र क्यानडा डिभिजन ३ मा झरिसकेका छन्।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई २ सय ८ रनमा रोकेको थियो। सोमपाल कामीले ३, सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले १–१ विकेट लिए पनि केन्याले पूरै ५० ओभर खेल्दै ९ विकेटमात्र गुमाएको थियो।
सोमपालले ओपनर एलेक्स ओबान्डा (३) लाई आउट गरेपछि चार रन बनाउँदै पहिलो विकेट गुमाएको केन्यालाई अर्का ओपनर नरेन्द्र पटेल र नेल्सन ओडियाम्बोले ठूलो स्कोरतर्फ डोर्यालए। विन्डहकको एफिज पार्कमा शक्ति गौचनको बलमा बोल्ड हुनुअघि ओडियाम्बोले ४८ रन जोडे भने पटेलले भुवनबाट कट एन्ड बोल्ड हुनुपूर्व ४४ रनको योगदान गरे। ७६ बल खेलेका ओडियाम्बोले एक चौका प्रहार गरेका थिए। यसैगरी पटेलले ५७ बलमा आठ चौका हाने। केन्याका लागि राकेप पटेलले ३२ र नेहेम ओडियाम्बोले २५ रन थपेका थिए।
प्रतियोगितामा भुवनलाई पहिलोपल्ट मौका दिइएको थियो भने आरिफ शेखलाई टिममा फर्काइएको थियो। वसन्त रेग्मीलाई प्रतियोगितामा पहिलो पटक आराम दिइँदा भुवनले मौका पाएका हुन्। नामिबियालाई हराएको खेलमा बेवास्था गरिएका ओपनर नरेश बुढाएर शनिबार पनि टिममा परेनन्। नरेशको सट्टा दुवैपल्ट आरिफलाई पहिलो–११ मा समेट्दा ओपनिङमा भने सागर पुनलाई पठाइएको थियो। प्रयोगलाई निरन्तरता दिने क्रममा शनिबार विनोद भण्डारीले तेस्रो नम्बरमा ब्याटिङ गरे।
अर्को खेलमा आयोजक नामिबियासँग समूह चरणमा भोगेको १ सय ८८ रनको फराकिलो हारको बदला शनिबार फाइनलमा लिँदै नेदरल्यान्ड्सले विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि उचालेको छ।
अघिल्लो दिन युगान्डाविरुद्ध ८० रनको लक्ष्य ६.३ ओभरमै तीन विकेट गुमाएर पाएपछि नाटकीय रूपमा फाइनल पुगेको नेदरल्यान्ड्सले नामिबियालाई ८ विकेटले स्तब्ध पार्यो । टस जितेर फिल्डिङ रोजेको डच टोलीले माइकल रिप्पोनको ५, अशान मलिकको ३ तथा भिभियन किङ्माको दुई विकेट मद्धतमा नामिबियालाई ४९.२ ओभरभित्र २ सय १२ रनमा अलआउट गरेको थियो।
जवाफमा तीन खेलाडीले अर्धशतक बनाएपछि टोलीले ४१ ओभरमै दुई विकेट गुमाएर २ सय १३ रनको लक्ष्य हासिल गर्योे। टोलीका अविजित रहेका दुई खेलाडी पिटर बोरेनले ६० तथा बेन कुपरले ५१ रन बनाए। त्यसअघि ओपनर स्टेफन माइबर्गले ५० तथा रहिल अहमदले ४१ रनको योगदान गरे।
पाँचौंस्थानको प्लेअफमा युगान्डाले क्यानडामाथि ८ विकेटको जित दर्ता गरायो। टस जितेर ब्याटिङ गरेको क्यानडाले ४६ ओभरमा १ सय ४० रन बनाएको थियो। युगान्डाले २५.२ ओभरमा २ विकेटक्षतिमा १ सय ४४ रन बनाएर लक्ष्य पायो।