काठमाडौं- राष्ट्रिय टोलीकी ओपन स्पाइकर प्रतिभा माली र रमिला तण्डुकारले उत्कृष्ट प्रदर्शन गरेपछि न्यु डायमन्ड एकेडेमीले दसौं ढोरपाटन ब्लु स्काइ कप टिभिएस महिला डबल लिग भलिबलमा शुक्रबार नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
नयाँ बसपार्कस्थित कोर्टमा डायमन्डले अपराजित यात्रा जारी राख्दा २५–१८, २५–१८, २६– २४ को नतिजा निकाल्यो। डायमन्डकी प्रतिभा माली वुमन अफ द म्याच भइन्।
एपिएफसँगै १८ अंक बटुल्दै डायमन्ड संयुक्त अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दुवैले समान ६ खेल खेलेका छन्। ६ खेलमा पहिलो हार भोगेको पुलिस १५ अंकसहित दोस्रो र पश्चिमाञ्चल चौथो स्थानमा छन्। पश्चिमाञ्चल र चण्डेश्वरी युवा क्लबसँग समान १२ अंक छ। पश्चिमाञ्चलले ६ र चन्डेश्वरीले ८ खेल खेलेका छन्।
एक महिनाअघि बुटवलमा सम्पन्न १९औं राष्ट्रिय महिला भलिबलमा पुलिसले डायमन्डलाई हराएको थियो। डायमन्डका प्रशिक्षक कुमार राईले टोलीको अनुभव बढ्दै गएकाले पुलिसलाई हराउन सफल भएको बताए। उनले भने, 'आज हाम्रो सबै खेलाडीले राम्रो खेले। रमिला फर्किएपछि टोली झन बलियो भएको छ।' शुक्रबारको जितले च्याम्पियन बन्ने सम्भावना बढेको उनको भनाइ थियो।
उनले थपे, 'हाम्रो लक्ष्य च्याम्पियन हुने हो। पुलिस बलियो टोली हो। पुलिसलाई हराउँदा टोलीको मनोबल बढेको छ। यसले आगामी खेलमा थप राम्रो गर्न हौसला बढाएको छ।'
रमिलाले १९औं राष्ट्रिय महिला भलिबल र सशस्त्र आइजिपी कप खेलेर डायमन्डमा पुनः फर्किएका हुन्।
पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले सेटर पोजिसन कमजोर हुँदा खेल हार्नुपरेको बताए। उनले भने, 'सेटर कमजोर प्रदर्शन गर्दा हामीले स्पाइक राम्रो गर्न सकेनौं। ब्लकमा पनि राम्रो भएको थियो। सेटरका कारण हामीले अग्रता लिएर पनि जोगाउन सकेनौं।'
डायमन्डसँग पराजित भए पनि प्रशिक्षक रिमाल टोलीको उपाधि जित्ने सम्भावना बाँकी रहेको बताउँछन्। 'डायमन्डसँगको खेल महत्वपूर्ण थियो। आज पराजित भए पनि हामीले अबका खेलमा लगातार जित्नुपर्ने दबाब हुनेछ। पहिलो चरणको लिग सकिएपछि उपाधि जित्ने सम्भावना थाहा हुनेछ,' उनले भने।
शुक्रबारै आयोजक ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टरले काभ्रे जिल्ला भलिबल संघलाई २५–५, २५–११, २५–१६ ले हरायो। ढोरपाटनकी कोपिला राना वुमन अफ द म्याच भइन्।
चन्डेश्वरी युवा क्लबले त्रिभुवन आर्मी क्लबमाथि २२–२५, २८–२६, २८–२६, २५–२० को विजय पायो। पश्चिमाञ्चलले ढोरपाटनलाई २५–६, २५–३, २५–४ ले हरायो। चण्डेश्वरीकी शान्ति तामाङ र पश्चिमाञ्चलकी मनीषा चौधरी वुमन अफ द म्याच भएका छन् ।