काठमाडौं-सरकारले सातौं राष्ट्रिय खेलकुद आयोजना तथा १२ औं दक्षिण एसियाली खेलकुदको तयारी र सहभागितासँगै खेलकुदीय पूर्वाधार विकास प्राथमिकतामा राख्दै आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री रामशरण महतले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा गत वर्ष रोकिएको सातौं राष्ट्रिय खेलकुद गर्ने तथा भारतमा हुने १२ औं सागको तयारी तथा सहभागितालाई महत्व दिइएको छ। खेलकुदमा नयाँ कार्यक्रमका रूपमा यसपालि बजेटमा खेलाडीको बिमा गर्ने उल्लेख छ।
काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने, १३ करोडको लागतमा दशरथ रंगशाला पुनर्निर्माण गर्ने, ४ करोडको लागतमा च्यासल फुटबल मैदानको विस्तार गर्ने, मुलपानीको निर्माणाधीन क्रिकेट मैदानमा ११ करोड रुपैयाँ थप्ने, अन्तर्राष्ट्रिय प्रतियोतिगाका लागि तत्काल कीर्तिपुर र पुल्चोक क्रिकेट मैदान बनाउने लगायत पनि बजेटमा उल्लेख गरिएको छ। मुलपानी क्रिकेट मैदानका लागि सरकारले गत वर्ष पनि २० करोड रुपैयाँ विनियोजन गरेको थियो।
सरकारले समग्र खेलकुदका लागि विभिन्न शीर्षकमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। यो गत वर्षको तुलनामा झन्डै ५७ करोड रुपैयाँ बढी हो। खेलकुदले गत वर्ष डेढ अर्बको बजेट पाएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने, मुख्य सहरमा कभर्डहल तथा खेलकुद मैदान बनाउने, प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक खेलमैदान बनाउने जस्ता पुराना कार्यक्रमलाई निरन्तरता दिइएको बजेटमा काठमाडौं बाहिरका मुख्य सहरहरूमा क्रिकेट मैदान बनाउने उल्लेख छ। धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने तथा देशका अन्य सात स्थानमा क्रिकेट मैदान बनाउन २१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
विद्यालयस्तरबाटै खेलकुदको विकास गर्ने नाराका साथ प्रत्येक सामुदायिक विद्यालयलाई १० हजार रुपैयाँका दरले खेलकुद सामग्री खरिदका लागि उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बजेटबारे तत्काल विस्तृत जानकारी नभएको बताउँदै मंगलबार नागरिकसँग भने, 'पुँजीगततर्फ एक अर्ब जति होला। बाँकी सबै कुरा भोलिसम्म थाहा हुन्छ।'
यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आफू भर्खंर आएकाले धेरै जानकारी नभएको प्रतिक्रिया दिए। 'म भर्खर आएको हुँ। खेलाडीको बिमाका लागि मैले बजेटमा प्रस्ताव गरेको थिएँ। समग्रमा बजेट सन्तोषजनक छ,' विष्टले भने, 'अघिल्लो वर्ष २५ करोड रुपैयाँ फ्रिज भएको थियो। यसपालि पनि कति खर्च गर्न सक्छौं भन्ने मुख्य कुरा हो। आवश्यक परे थप रकम ल्याउन सकिन्छ।'