पोखरा-नेपाल पुलिस क्लव पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आईतबार अर्को विभागीय टोली नेपाल आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस विजयी भएको हो।
पुलिसको जितमा जुमानु राई र निरकुमार राईले एक–एक गोलको योगदान दिए। खेलको ८ मिनेटमा हेम तामाङको क्रस पासलाई जुमानुले हेड गरेकोमा क्रसबारमा लागेर फर्केको थियो। त्यहि रिबाउण्ड बललाई डि–बक्स भित्रबाट राईले पुन हेडिङ मार्फत पोष्टको दिशा दिदै अग्रता दिलाएका थिए।
पुलिसको लागि दोस्रो गोल खेलको ५४ मिनेटमा निरकुमार राईले गरे। डि–बक्स बाहिरबाट पाएको मौकालाई निरले बलियो प्रहार गर्दा बलले जाली चुमेपछि अन्तर दोब्बर भएको थियो। आईतबारको खेलमा पुलिसका दिपेन श्रेष्ठ म्यान अफ दी म्याच भए। विजयी भएको पुलिसले अब मनाङ मर्स्याङदी क्लवसँग खेल्नेछ।
दुवै टिमले आक्रमक खेल खेलेपनि खेल अवधिभर आर्मीले गोल गर्न सकेन। खेलको २१ मिनेटमा टंक बस्नेतले करिब ३० यार्ड टाढाबाट हानेको फ्रिकिक पुलिसका गोलरक्षक रितेश थापाले पञ्च गरेर जोगाएका थिए। त्यस्तै खेलको २७ मिनेटमा राजिव गुरुङले पेनाल्टी एरियाबाट हानेको छोटो प्रहार क्रसबार माथिबाट बाहिरिदाँ गोलको अवसर चुकेको थियो।
पराजित भएपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पुलिसको रक्षात्मक लाइन तोड नसकेको प्रतिक्रिया दिए। 'पुलिसको रणनीति सफल भयो। हामी त्यो अनुसार चल्न सकेनौ। हामीले फिनिसिङको मौका पनि पाएनौ' उनले भने, 'पुलिसको डिफेन्स लाईन तोड्न नसक्नु नै कमजोरी रह्यो।'
खेलाडीप्रति कुनै गुनासो व्यक्त नगरेका उनले सधै राम्रो खेल्न नसकिने पनि बताए। 'सधै एकैनासको प्रदर्शन नहुन सक्छ। आज त्यस्तै भएको हो। यो प्रतियोगिताबाट बाहिरिएपनि आगामि प्रतियोगितामा अहिलेका कमजोरी सुधारेर खेल्नेछौ' उनले भने, 'हामीले काउन्टर एट्याक गर्नै सकेनौ।'
यता पुलिसले पनि पाएका अरु अवसरलाई उपयोग गर्न नसक्दा अन्तर बढाउन सकेन। खेलको १९ मिनेटमा भरत शाहले हानेको 'बाइसाइकल किक' फष्टबारमा लागेर रिबाउण्ड हुन पुग्यो। २२ मिनेटमा निरकुमार राईको प्रहार सेकेन्डबारमा लागेर रिबाउण्ड भएको थियो। त्यहि बललाई जुमानुले प्रहार गर्दा बाहिरिँदा गतिलो अवसर चुकेको थियो। खेलको ४३ मिनेटमा निरकुमार राईले करिब ३० यार्ड टाढाबाट हानेको प्रहारले पनि सहि दिशा लिन सकेन।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले विपक्षि टिमले रणनीति बुझ्न नसक्दा फाईदा भएको बताए। 'आर्मी पनि नराम्रो खेलेको होईन। तर हाम्रो रणनीति उसले बुझ्न सकेन' उनले भने, 'हामीले खेल अवधिभर दवावमा राख्न सकेकै हौ।' आर्मीको खेलको प्रशंसा गर्दै श्रेष्ठले पहिलो खेल भएकोले आर्मीलाई समस्या भएको बताए। 'आर्मीको यो दोश्रो खेल हुन्थ्यो भने हामीलाई समेत हम्मे हम्मे पर्दथ्यो' उनले भने। सोमबार हङकङको एभरेस्ट फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबिच खेल हुनेछ।