पोखरा– विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई एकका विरुद्ध २ गोलले हराउँदै पुलिस उपाधिनजिक पुगेको हो।
पुलिसको जितमा भरत शाह र जुमानु राईले एक–एक गोलको योगदान दिए। पुलिसको अग्रतालाई तोड्दै बराबरीमा पुर्यारउँदा पनि मनाङ मर्स्याङ्दी सफल हुन सकेन। खेलको ४ मिनेटमै जुमानु राईको क्रसमा शाहले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। मनाङ मर्स्याङ्दीका हेम गुरुङलाई छलाउँदै वन–भर्सेज–वनमा शाहले गोल गरेका थिए।
पुलिसको अग्रता धेरैबेर टिकेन। खेलको १६ मिनेटमै मनाङ मर्स्याङ्दीका अनिल गुरुङले गोल गरेर बराबरीमा पुर्यारए। विशाल राईको कर्नरमा अनिलले हेड गरेर बललाई जाली चुमाउँदै पुलिससँग बराबरी बनाएका थिए। तर, पुलिसको बराबरी पनि धेरैबेर टिक्न सकेन। खेलको १९ मिनेटमा पुलिसका जुमानु राईले गोल गरेर टिमलाई पुन अग्रता दिलाएका थिए। मनाङ मर्स्याङ्दीका बिराज महर्जनलाई छलाउँदै राईले गोल गरेर टिमलाई पुनः अग्रता दिलाएका थिए। त्यही गोल नै पुलिसलाई उपाधिनजिक पुर्याँउन सहयोगी बन्यो।
बुधबारको खेलमा पुलिसका भरत शाह म्यान अफ दि म्याच बने। पुलिसले अब बिहीबार हुने सशस्त्र प्रहरीको एपिएफ र थ्रीस्टारबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
टोली पराजित भएपछि मनाङ मर्स्याङ्दीका प्रशिक्षक नविन न्यौपानेले सुरुमै गोल खाँदा दबाबमा खेल्नुपरेको बताए 'पाएका अवसर उपयोग गर्न सकेनौं। कम्बिनेसन नमिल्दा पनि दबाबमा खेल्नुपर्योस,' उनले भने, 'अवसर सदुपयोग गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।' प्रहरीसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने उनले बताए।
यसैगरी पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ मनाङसँगको खेल जहिले पनि ५०–५० हुने बताए। 'बराबरी रहेर खेल्दा जसले पहिला गोल गर्न सक्छ, उसैले जित्ने अवस्था रहन्छ,' उनले भने, 'मनाङ मर्स्याङ्दीसँग त्यही भएको हो। हामीले सुरुको १५ मिनेटमै गोल गर्ने रणनीति लिएर खेलेका थियौं, त्यही अनुसार सफल भयौं।' सुरुमै अग्रता लिँदा खेलाडीको मनोवल उच्च हुने भएकाले १५ मिनेटभित्रै अग्रता लिने रणनीतिका साथ खेलेको उनले बताए।