पोखरा– थ्री स्टार क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलले पन्छाउँदै थ्री स्टार फाइनलमा पुगेको हो। थ्री स्टारले उपाधिका लागि अब नेपाल पुलिस क्लबसँग भिड्नेछ।
थ्री स्टारको जितका लागि सन्तोष साहुखलले खेलको ३९ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। थ्री स्टारका विदेशी खेलाडी एलिब्सलाई एपिएफका आदित्य चौधरीले डिबक्सभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो। त्यसैलाई साहुखलले गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा एपिएफले पेनाल्टी मिस गर्नु नै उसका लागि दूर्भाग्य साबित भयो। थ्री स्टारका बिक्रम लामाको डिबक्सभित्र ह्यान्ड भएपछि एपिएफले पेनाल्टीको अवसर पाएको थियो। गणेश लावतीले हानेको पेनाल्टी थ्री स्टारका गोलरक्षक किरण चेम्जोङले पञ्च गरेर जोगाउँदा बराबरीको अवसर चुक्यो। त्यही पेनाल्टीमा गोल नहुनु नै एपिएफको दुर्भाग्य साबित भयो। बिहीबारको खेलमा चेम्जोङ नै म्यान अफ दी म्याच भए। पेनाल्टी मिस गर्नासाथ एपिएफका प्रशिक्षक कृष्ण थापाले लावतीलाई निकालेर अञ्जन विष्टलाई मैदान पठाएका थिए।
दुवै टिमले पाएका केही अवसरलाई उपयोग गर्न सकेनन्। खेलको ११ मिनेटमा एपिएफका राजेन्द्र रावलले डिबक्स भित्रबाट हानेको प्रहार गोलरक्षक चेम्जोङले बचाए। त्यस्तै ८७ मिनेटमा नवीन लामाले दोस्रो बार च्याप्दै हानेको प्रहार बाहिरिनु उसका लागि अर्को दूर्भाग्य भयो। पराजित भएपछि एपिएफका म्यानेजर जिवेश पाण्डेले पहिलो हाफमा केही दबावमा खेल्नुपरेको र दोस्रो हाफमा गोल फर्काउने प्रयास विफल भएको बताए।
एपिएफको रणनीति फेल खाँदा पराजित हुनुपरेको उनले बताए । 'सामान्य गल्तीले गर्दा पेनाल्टी दिनुपर्योण। त्यस्तै पाएको पेनाल्टीको मौका पनि चुक्यो,' पाण्डेले भने, 'त्यही नै दूर्भाग्य बन्यो।' पहिलो हाफको थ्री स्टारको अग्रतालाई दोश्रो हाफमा बराबरी बनाउने योजनाबमोजिम रचेको रणनीतिमा सफल हुन नसकेको उनले बताए। पेनाल्टी मिस गरेपछि लावतीलाई मैदानबाहिर निकाल्नु नियमित प्रक्रियाअनुसार अरु खेलाडीलाई मौका दिनका लागि भएको उनले बताए।
विजयी भएको थ्री स्टारले पनि केही सीमित अवसर चुकाएको थियो। खेलको ८ मिनेटमै विजय गुरुङको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीको हातबाट फुत्केकोमा एपिएफकै राजेन्द्र रावलले क्लियर गरिदिँदा गतिलो अवसर चुकेको थियो। विजयी भएको थ्री स्टारका प्रशिक्षक अञ्जन केसीले दिनदिनै सुधार गरेर खेल्दै जाँदा आफ्नो पक्षमा नतिजा निस्केको बताए। अघिल्लाको तुलनामा बिहीबारको खेलमा सुधार भएको उनले बताए।
'पहिलो हाफभित्रै गोल थपेर अग्रता लिने हाम्रो रणनीति थियो। तर, अन्तिमतिर मात्र गोल हुन सक्यो। एक गोल मात्र हुँदा दोस्रो हाफमा केही दबाबमा खेल्नुपर्यो ,' उनले भने, 'तर, अनुभवी खेलाडी भएकाले पनि विपक्षीले गोल फर्काउन सकेनन्।'
सशस्त्रको एपिएफ राम्रो टोली भएकाले उसलाई पराजित गर्नु निकै ठूलो प्रगति भएको केसीले बताए। थ्री स्टारको अबको लक्ष्य आगामी लिगमा राम्रो गर्नु रहेकाले त्यसै अनुसार खेललाई सुधार्दै लैजाने उनले बताए। फाइनलमा पुगेका थ्रीस्टार र पुलिसबीचको खेल शनिबार हुनेछ।