नयाँ दिल्ली- तिब्र गतिका बलर इशान्त शर्मा घुँडाको चोटका कारण खेल्न नपाउने भएपछि उनको स्थानमा मोहित शर्मालाई राख्न भारतले गरेको आग्रह विश्वकपको प्राविधिक कमिटीले आइतबार स्विकार गरेको छ।
महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको १५ सदस्यीय भारतीय टोलीमा परिवर्तन गर्न प्राविधिक समिति राजी भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विज्ञप्तिमा उल्लेख गरेको छ।
भारतको वर्तमान टोलीमा इसान्त तिब्र गतिमा सबैभन्दा अनुभवी बलर हुन्। उनले ७६ अर्न्तराष्ट्रिय एकदिवसीयमा १ सय ६ विकेट लिएका छन्। उनी बक्सिङ डेमा मेलबर्नमा भएको अस्ट्रेलियाविरुद्धको टेस्टमा घाइते भएका थिए।
भारतका तर्फबाट १२ एकदिवसीय खेलेका २६ वर्षिय मोहितले १० विकेट लिएका छन्।
भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखला २–० ले गुमाएको थियो भने क्रिकोणत्मक शंृखलामा फाइनल यात्रा तय गर्न सकेको थिएन। भारतले विश्वकपको पहिलो खेल फेब्रुअरी १५ मा छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ऐडलेइडमा खेल्दैछ।