नेल्सन- 'जाएन्ट किलर' को छवी स्थापित गरेको आयरल्यान्ड र दबावमा रहेको वेस्ट इन्डिज सोमबार विश्वकपमा आमने–सामने हुँदा विजयी सुरुआत दुवैको लक्ष्य हुनेछ। दुवै टिममा राम्रा र अनुभवी व्याट्सम्यान छन्। तर त्यसको दाँजोमा बलिङ धार दुवैमा कमजोर देखिन्छ। तथापि दुवै समूह 'बी' बाट शीर्ष चारमा पर्दै क्वार्टरफाइनलको यात्रा गर्न चाहन्छन्। समूहमा भारत, दक्षिण अफ्रिका र पाकिस्तानका साथै जिम्बाव्वे र नवप्रवेशी संयुक्त अरब इमिरेट्स (युएई) रहेकाले जुन सहज पक्कै छैन।
आयरल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसोसिएट्स राष्ट्रमध्ये शिर्ष रहदै टेस्ट खेल्ने विपक्षीलाई चुनौती दिने टिम हो। २०११ को विश्वकपमा इङल्यान्ड माथि ऐतिहासिक जित निकालेको आयल्यान्डले चार वर्ष अगाडी पाकिस्तानलाई पनि झट्का दिएको थियो।
विश्वकपअघि खेलिएको अभ्यास खेलमा आयरल्यान्डले आइसिसी एकदिवसीय वरियताक्रमको नवौं स्थानमा रहेको बंगलादेशलाई जितेको थियो। वेस्ट इन्डिज बरियातामा बंगलादेश भन्दा एक स्थान मात्र अगाडी छ।
चार विकेटले जितेको खेलमा जोन मुनी र म्यक्स सोरेन्सनले तीन विकेट लिएका थिए भने एन्डी बलबिरिनीले अविजित ६३ रन बनाएका थिए।
उता इङल्यान्डसँग ९ विकेटले हारेपछि वेस्ट इन्डिजको मनोबल भने खस्किएको छ। वेस्ट इन्डिज २९.३ ओभरमा १ सय २२ रनमा अलआउट भएको थियो। दोस्रो अभ्यास खेलमा टोलीले तीन बल बाँकी रहदाँ स्कटल्यान्डलाई हराएको थियो।
वेस्ट इन्डिज विश्वकपको पहिलो र दोस्रो संम्करण (१९७५, १९७९) को विजेता हो भने तेस्रो विश्वकपमा पनि टोली फाइनल पुगेको थियो।
भरपर्दा ब्याट्सम्यान क्रिस गेल चौथो पटक विश्वकप खेल्दै छन्। वेस्ट इन्डिजसँग मार्लोन सामुइल्स, डारेन सामीजस्ता एकै ओभरमा खेल परिवर्तन गर्न सक्ने ब्याट्सम्यानहरु छन्। तर स्पिनर शुनिल नारायणको अनुपस्थितीमा अनुभवी र भरपर्दा बलर भने उनीहरुसँग छैनन्।
२३ वर्षिय जेसोन होल्डरलाई नयाँ कप्तान नियुक्त गरेको वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँगको शृंखला ४–१ ले हारेको थियो। उक्त शृंखलामा बलरको धज्जी उडाउने क्रममा दक्षिण अफ्रिकाका कप्तान एबिडी भिलियर्सले ३१ बलमा शतक बनाउने विश्व किर्तिमान बनाएका थिए।
'पछिल्लो समय हामीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेका छैनौं। तर हामीसँग विश्वकै उत्कृष्ट व्याट्सम्यान छन्,' क्यारेवियनको सम्भावनाबारे सकारात्मक हुँदै कप्तान होल्डरले भने, 'पक्कै पनि विश्वकपमा टिममाथि राम्रो गर्नुपर्ने दबाव छ र त्यसका लागि राम्रो शुरुवात जरुरी छ।'
आयरल्यान्डको ब्याटिङ केभिन ओ ब्रायनमा भर पर्ने देखिन्छ। उनले पछिल्लो विश्वकपमा इङल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए। उनका भाई नेल ओ ब्रायन, विलियम पोर्टरफिल्ड र एड जोएसले केभिनलाई ब्याटिङमा साथ दिने छन्। तर टिमको बलिङमा भने प्रश्न उठाउने ठाँउ छ। यद्दपी गत महिना क्रिग योङले स्कटल्यान्डसँगको डेब्यू खेलमा ४६ रन खर्चेर ५ विकेट लिएका थिए।
इङल्यान्डका पूर्व खेलाडी तथा स्कटल्यान्डका प्रशिक्षक पाउल कलिङउडले आयरल्यान्डका खेलाडीहरुले इङल्यान्डको काउन्टी क्रिकेट खेलेकाले राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे।
'उनीहरुको धेरै खेलाडीसँग काउन्टी क्रिकेटको अनुभव छ त्यसैले उनीहरुले जस्तो टिमलाई पनि समस्यामा पार्न सक्छन्,' कलिङउडले बताए।