सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।
शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।
खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।
पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।
प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
३३ मिनेट अघि
•
१ मिनेट पाठ