४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लामा सडकले ल्याएको संवृद्धि

जुम्ला सदरमुकाम खलंगादेखि जुम्लाको पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका जन बुढा निकै उत्साहित छन्। 

अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पुर्‍याउँछन्। घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरू सडक हुँदै सुर्खेत नेपालगन्ज र सुर्खेतका सहरहरूमा पुर्‍याइरहेका छन्।

‘पहिले स्याउ, आलु, प्याज, टमाटरहरु उत्पादन भएर पनि बजारसम्म पुर्‍याउन निकै कठिन थियो’ उनी भन्छन्, ‘सडक पुगेपछि गाउँमै पुगेर व्यापारीहरूले लैजान्छन्।  बजारको अभावमा किसानहरु छटपटिनुपर्ने अवस्था छैन।’

उर्थुखोलामा पुल नबन्दा निकै सास्ती भोगिरहेका उनीहरुले अहिले पक्की पुल बनेसँगै घरदैलोमै सवारीसाधनले सामाग्री पुर्‍याइरहेका छन्।

यस्तै पातारासी गाउँपालिका-५ का रतिमान बुढा गाउँमै दैनिक उभोग्य सामानहरु मालबहाक गाडीमै पुर्‍याउन सकिने भएकाले पिठ्युँको भारी छुटेको बताउँछन्।

उनी अहिले ६१ वर्ष पुगे। उनका अनुसार सडक नपुग्दा सदरमुकाम खलंगा देखि गाउँ पुग्न एक दिनको पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले साना सवारी देखि ठुला मालबहाक ट्रकहरू गाउँमै पुग्ने गरेका छन्। घरदैलोमै सडक पुगेपछि स्याउ, सिमी, आलु, मकै उत्पादनमा किसानहरु हौसिएका छन्।

साथै तरकारी खेती गरेर खलंगाका उपभोक्तालाई पुर्‍याइरहेको अनुभव पातारासी-६ भाङखोला गाउँकी देबु कठायतको छ। स्याउ, ओखर, सिमी र आलु किसानहरुले सुर्खेत, नेपालगन्ज, कालिकोट, जाजरकोट लगायतका जिल्लाहरुमा निर्यात भइरहेको छ।

ब्यापारीहरु गाउँमै पुगेर रैथाने उत्पादनहरू खरिद गरेर लैजाने गरेका छन्। ‘सडक नपुग्नु भन्दा पहिले स्याउ ५ रुपैयाँ किलोमा बेच्न पनि कठिन थियो। आलु, फापर, कोदो, सिमीहरु त गाउँमै थन्किरहेको हुन्थ्यो’ रतिमान भन्छन्, ‘अहिले अधिकांश किसानहरुको सुर्खेत नेपालगन्जका ब्यापारीहरु सँग सिधा सम्पर्क हुने गरेको छ।’

विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने क्षेत्र नै पातारासी पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ल्याउन लैजान सहज भइरहेको छ। मार्सी धानको रिसर्च गर्न आउनेहरु सवारीसाधन लिएर आउजाउ गर्ने गरेको स्थानीयहरु बताउँछन्।

अहिले पातारासीको सडक १२ महिना निर्बाध रुपमा चलिरहेको छ। हरेक गाउँमा पुग्ने सहायक सडकहरु समेत बनिसकेकोले सडकको पहुँचमा सबै बस्तीहरु पुगेका छन्।

लासी, उर्थु र तल्फीमा स-सानाबजारहरु खुलेका छन्। जहाँ सदरमुकाम खलंगामा पाइने सबै बस्तुहरू पुगिरहेको हुन्छ। सरकारी कामकाजका लागि बाहेक सबै बस्तुहरू गाउँमै पुग्ने गरेको छ। अहिले पातारासी सडकमा दैनिक दर्जन बढी सवारीसाधनहरु छुट्ने गरेका छन्। जुम्ला विमानस्थलमै काउण्टर खोलेर यातायात सेवा सुचारु भइरहेको छ।

खलंगा हुँदै राराताल पुग्ने पर्यटकहरु पातारासीको सडकहरु हुँदै जाने भएकोले झनै दुर्गमका सडकहरुको महत्त्व बढेको हो। त्योसँगै सिमेन्ट, सरिया लगायतका निर्माण समाग्रीहरु गाउँ टोलसम्म पुगेका छन्।

अधिकांश गाउँमा भवन आचारसंहिता अनुसारका घरहरू निर्माण भइरहेका छन्। गाउँ गाउँमा सडक पुगेको शिक्षकहरु, विशेषज्ञ चिकित्सकहरु, मन्त्री, सचिवहरु सहजै रुपमा जाने आउने गरिरहेका छन्।

सडककै कारण झण्डै एक मेगावाटको विद्युत् आयोजनाको निर्माण सामाग्री सहजै रुपमा लिन सकिएको हो। पातारासी गाउँपालिकाको आर्थिक समृद्धिको आधार पनि सडक नै भएको पुर्वअध्यक्ष लछिमान बोहोराले बताए।

उनका अनुसार किसानहरुले बगैंचाबाटै ओखर, दाना र बिरुवा, स्याउका दाना र बिरुवाहरु हिमाली तथा पहाडी जिल्लाहरुमा पुर्‍याइरहेका छन्।

जिल्लाको सिंजा हुँदै कनकासुन्दरी, त्रिवेणी हुँदै टोप्ला, दानसॉघु हुँदै चोत्रा सम्मको सडकहरु जोडिए पनि सवारीसाधनबाटै एकै दिनमा जिल्ला परिक्रमा गर्न सकिने अवस्था रहेको छ।

प्रकाशित: १८ वैशाख २०८१ २१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App