४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रारा क्षेत्रको पर्यटन पूर्वाधारमा सरकारले जोड दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद भएको बताएका छन्।

तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धधनका लागि सरकारको सहयोग रहने बताए।

आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, ‘राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ। नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो। त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ। तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु। रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ।’

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए। उनले भने, ‘रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ। मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ। यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ।’

भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।

सोमवार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। रासस

प्रकाशित: १९ वैशाख २०८१ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App