४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अझै आएन कालोपत्र बजेट

गमगढी-नाग्मा सडक खण्ड

मुगु सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी–नाग्मा सडकको ट्र्याक खुल्ला भएको कार्य पूरा भएको झन्डै १२ वर्ष बितिसकेको छ। यो सडक कहिले कालोपत्र हुने भन्ने अझै टुंगो छैन। सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागे पनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे हुने संकेत छैन।

गमगढीदेखि कालिकोट नाग्मासम्मको ९३ किमि सडकमध्ये जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ पाण्डुगुफा रोकायाबाडादेखि बोतागाउँसम्मको साढे ६ किमि सडक गत आवमै ३५ करोड बजेटबाट कालोपत्र गर्ने काम प्रारम्भ गरिएको थियो।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सो खण्डमा कालोपत्र गर्ने कार्यको ठेक्का थोदुङ बासना जेभीले पाएको थियो। सो खण्डमा कालोपत्रको काम प्रारम्भ भए पनि बाँकी सडकमा भने बजेट अभावका कारण तत्कालै कालोपत्रे गर्ने सम्भावना नरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले बताए।

‘साढे ६ किमि सडक कालोपत्र गरेर के गर्नु ?’, सडक डिभिजन प्रमुख दिपेन्द्र बिष्टले भने’, गमगढीदेखि नाग्मासम्मको ९३ किमि सडक पूरै कालोपत्रे हुनुपर्‍यो। बजेट छैन, बाँकी ८७ किमि सडक कसरी कालोपत्र गर्ने ?’ रारा जोड्ने पर्यटकीय मार्ग गमगढी–नाग्मा सडक कालोपत्र गर्न सरकारले पर्‍याप्त बजेट नदिँदा काम अलपत्र भएको उनी बताउँछन्।

नेपाली सेनाले गमगढी–नाग्मा सडक ट्र्याक ओपन निर्माण कार्य पूरा गरी २०६९ पुस १ गते सरकारलाई बुझाएको थियो। सडक डिभिजन कार्यालयले नाग्मादेखि गमगढीसम्मको सडक खण्डको स्तरउन्नति, कल्भर्ट निर्माण, खोलानाला सुधार, पहिरो पन्छाउने काम र हिलाम्य ठाउँमा गिट्टी हालेर सुधार गर्ने काम गरिरहेको भए पनि बजेट अभावले कालोपत्र गर्ने काम अघि बढाउन नसकेको जनाएको छ।

गमगढी–नाग्मा सडक कालोपत्र नहुँदा सवारी साधन जोखिम मलेर आउजाउ गर्न बाध्य छन्। सडक हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। सडक कालोपत्रे नहुँदा रारा भ्रमण गर्न आउने पर्यटकलाई समेत कठिनाइ भएको छ।

गमगढी–नाग्मा सडक कालोपत्र र गमगढी नाक्चेनाङ्ला उत्तरी सडक निर्माणको निम्ति आगामी आवमा पर्‍याप्त बजेट छुट्याउन लिखित तथा मौखिक रूपमा सरकारलाई आग्रह गर्ने काम भइरहेको संघीय सांसदहरू बताउँछन्।

सरकारले मुगुलाई बजेट छुट्याउन कञ्जुस्याइँ गरिरहेको र आगामी आवमा पनि माग अनुसारको बजेट सरकारले नछुट्याए मुगुबासीले सडक आन्दोलन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

प्रकाशित: १९ वैशाख २०८१ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App