४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निराशा चिर्न १० अर्बको पब्लिक कम्पनी खोल्दैछौं: चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा देखिएको मन्दी र निराशा चिर्न १० अर्बको पब्लिक कम्पनी स्थापना गरेर लगानीको नयाँ सम्भावनाको मार्ग खोल्न लागेको बताएका छन्।

नेपाल जग्गा तथा आवास विकास संघको १७ औं साधारणसभाको उद्घाटन गर्दै ढकालले निजीक्षेत्रका स–साना लगानीकर्तालाई जोड्ने गरी महासंघले १० अर्ब पुँजीको पब्लिक कम्पनी स्थापना गर्न लागिएको बताए। महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले १० अर्बको पब्लिक कम्पनी खोल्ने निर्णय गरेको उनले बताए।

‘हामीकहाँ लगानीको वातावरण नै छैन भन्ने नकारात्मक भाष्य सिर्जना भइरहेको छ। त्यस्तो निराशा चिर्न महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले एउटा पब्लिक कम्पनी चाहिन्छ भनेर निर्णय गरेको छ’, उनले भने।

७७ वटै जिल्लाका साना तथा ठूला व्यवसायी जुटेर लगानी जुट्यो भने जुनसुकै क्षेत्रको मेगा प्रोजेक्ट अघि बढाउन सकिने उनले बताए। हालै सम्पन्न लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनेको छ भन्ने सन्देश स्पष्टसँग दिन सफल भएको बताए।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले व्यवसायीहरूले कर्जाको सावाँ ब्याज कसरी तिर्ने भन्ने समस्या भोग्नु परिरहेको बताउँदै निराश नहुन व्यवसायीलाई आग्रह गरे। उनले धैर्य राखे भविष्यमा सुधार हुने अपेक्षाका साथ आआफ्ना उद्योग व्यवसायलाई निरन्तरता दिन आग्रह गरे।

महासंघको वस्तुगततर्फका अध्यक्ष हेमराज ढकालले रियल इस्टेट व्यवसाय राम्रो भएमा मात्र मुलुकको आर्थिक विकास चलायमान हुने बताए। अव्यवस्थित बसोबास भएको मुलुकमा रियल इस्टेट उद्योगले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

संघको बुधबार सम्पन्न १७ औं साधारणसभामा अध्यक्ष विदुर धमलाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभामा रियल इस्टेट क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीहरूको सहभागिता थियो।

प्रकाशित: २० वैशाख २०८१ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App