२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

साकेलाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ

खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ। विद्यार्थी र अभिभावकको अंग्रेजी मोहलाई ध्यानमा राख्दै गाउँपालिकाले सामुदायिक विद्यालयमै अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय गरेको हो।

भर्खरै गाउँ शिक्षा समितिको बैठकले आधारभूत तहका कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन थाल्ने निर्णय गरेको जनाइएको छ। प्रारम्भमा यस वर्ष विभिन्न पाँचवटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन थाल्ने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कविराज राईले बताए।

दिनदिनै सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै जानुको मुख्य कारण अंग्रेजी मोह नै भएको ठहर गर्दै यस्तो निर्णय गरिएको राईले बताए। अभिभावक र विद्यार्थीमा अंगे्रजी मोहले निजी विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएकाले गाउँपालिकाले यो रणनीति अपनाएको उनले बताए।

अंग्रेजी पढाउनकै लागि सहरबजारका बोर्डिङमा लगेर बालबालिकालाई भर्ना गर्दा यता विद्यार्थी संख्या घट्दै गएकाले सामुदायिक विद्यालयमै अंग्रजी माध्यमको गुणस्तरीय पठनपाठन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।

यो निर्णयले निश्चय नै अभिभावक र विद्यार्थीमा सामुदायिक विद्यालयप्रति आकर्षण थप्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताए। अंग्रेजी माध्यमसँगै गुणस्तरीय शिक्षा दिन सके सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने विश्वासले अंग्रेजी अनिवार्य गराउने निर्णय गरेको उनको भनाइ छ।

अध्यक्ष राईका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, शिक्षक र अभिभावकको सुझावअनुसार आगामी दिनमा शैक्षिक सुधारका गतिविधि अघि बढाउँदै लैजाने निर्णय भएको छ।

समृद्धिको मुहान भनेकै शिक्षा भएकाले गुणस्तरीय, व्यावहारिक, नैतिक र वैज्ञानिक शिक्षा प्रदान गर्न पनि शिक्षकहरुलाई बैठकले निर्देश गरेको छ। भोलिको शैक्षिक जनशक्ति र समाज कस्तो बनाउने भन्ने पक्षको जिम्मेवार शिक्षक भएकाले शिशु तहबाटै बालबालिकालाई नैतिक, व्यावहारिक, वैज्ञानिक र वस्तुगत शिक्षा प्रदान गर्नुपर्ने अध्यक्ष राईको भनाइ छ।

अभिभावकले बालबालिका बोर्डिङको चाहनामा सदरमुकाम केन्द्रित गर्दा गाउँका सामुदायिक विद्यालय विद्यार्थीविहीन हुँदै गएको प्रसंग निकाल्दै राईले माध्यमिक तहसम्म अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन गराउने योजना सुुनाए। अंग्रेजी माध्यमको पढाइले विद्यार्थी संख्या बढ्नुका साथै बसाइँसराइ पनि न्यूनीकरण हुने अपेक्षा गरिएको अध्यक्ष राईले बताए।

‘हामी सहरबजारका महँगा निजी विद्यालय होइन, गाउँको विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा छौँ’ अध्यक्ष राईको आग्रह थियो, ‘अंग्रेजी अनिवार्य गराएर अथवा अन्य केही गरेर हुन्छ गाउँका सामुदायिक विद्यालयबाटै राम्रो र गुणस्तरीय शिक्षा बालबालिकाले पाऊन्, यो अभियानमा सबै मिलेर अघि बढौँ !’

पाठ्यपुस्तक किन्न अध्यक्षले दिए एक लाख चन्दा

यसैबीच अध्यक्ष राईले अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गर्न व्यक्तिगत एक लाख रुपैयाँ चन्दा दिएका छन्। यसै वर्षदेखि थाल्ने १–३ कक्षाको पठनपाठनका लागि अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गर्न उनले सो परिमाणको नगद चन्दा उपलब्ध गराएका हुन्। आगामी वर्षदेखि गाउँपालिकाले नैतिक र व्यावहारिक ज्ञानसहितको पाठ्यक्रम तयार गरी पठनपाठन थाल्ने बताए।

आधारभूत तथा माध्यमिक गरी २८ वटा सामुदायिक विद्यालय रहेको साकेलामा यस शैक्षिक वर्षमा पाँचवटा माविमा मात्र अंग्रेजी माध्यममा पढाइ थाल्ने र आगामी वर्षहरुमा अन्य विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने अध्यक्ष राईले बताए। अंग्रेजी माध्यम पठनपाठनका लागि शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन कार्य थालिएको शिक्षा शाखा प्रमुख कविराज राईले बताए।

प्रकाशित: ७ वैशाख २०८१ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App